यशोदा सम्मानित

समाधान संवाददाता २०८० माघ २ गते ११:०२

पोखरा ।
फरक क्षमता भएका व्यक्तिको हक–अधिकारका लागि क्रियाशील यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा सम्मानित भएकी छन् ।

Advertisement


बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशील भएबापत् पुरस्कारको सञ्चालक कोइराला सेवा समाज पोखराले उनलाई सम्मान गरेको हो । सम्मानमा नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पनि समावेश छ ।


कोइराला सेवा समाजका अध्यक्ष देवदत्त कोइरालाको संयोजकत्व तथा शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला र दाताका तर्फबाट सञ्जीवबहादुर कोइराला रहेको सम्मानित व्यक्तित्व छनोट समितिले राजभण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको थियो । कोइराला सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइराला लगायतले उनलाई सम्मान गरेका हुन् ।

Advertisement


अघिल्लो वर्ष स्वर्गीय शान्तबहादुर कोइरालाकी पत्नी फन्नादेवी, जेठा छोरा सञ्जीवबहादुर कोइराला र परिवारबाट अक्षयकोष स्थापना भएको थियो । १० लाख रुपैयाँको अक्षयकोषबाट बर्सेनि प्राप्त हुन आउने ब्याजबाट फरक क्षमताको क्षेत्रमा काम गर्नेलाई पुरस्कृत गर्ने गरी कोइराला सेवा समाजलाई पु्रस्कार सञ्चालनको जिम्मेवारी सुम्पिएको कोष स्थापनाकर्ता सञ्जीवले बताए ।


सामाजिक कार्यमा क्रियाशिल भएकै अवस्थामा दुर्घटनाका कारण शान्तबहादुरले भोग्नुपरेको पीडामात्र नभएर परिवारको मुली अशक्त हुँदा आफूहरुले भोग्नुपरेको हेलालाई सम्झेर कोष स्थापना गरेको उनले बताए । ‘बुबाको दुर्घटनापछि हामीलाई पनि कतिले उहाँकै अवस्थालाई हेरेर गिज्याउँथे,’ उनले भने, ‘शारीरिक अशक्तततालाई जित्न सकिन्छ र ऊर्जावान जीवन बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि कोष स्थापना गरिएको हो ।’

Advertisement


कोइराला सेवा समाजको १९ औं साधारण सभामा भएको समारोहमा सम्मानित व्यक्तित्व यशोदा राजभण्डारीले आफूलाई कुष्ठरोग भएपछिको उपचार प्रक्रिया, त्यसपछि नर्सिङ अध्ययन अनि कुष्ठरोगीकै सेवामा बिताएका क्षण स्मरण गरिन् ।

तपाईको प्रतिक्रिया