जैविक विविधता मेला र कन्दमूल प्रदर्शनी

समाधान संवाददाता २०८० माघ ३ गते १४:५४

पोखरा ।
ढुंगेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा प्रदर्शनी गरिएको हो ।

Advertisement


सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधतासम्बन्धी कृषि गीत प्रतियोगितासमेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनसहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालुतर्फ १० थरी र ३ थरीका सखरखण्ड प्रदर्शन गरिएको छ । बागवानी अनुसन्धानका केन्द्रमा तयार गरिएका कन्दमूलहरूसमेत प्रदर्शन गरिएको छ ।


मेलामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताए । कृषकलाई अनुदान तथा साझेदारी कार्यक्रममार्फत सहुलियत प्रदान गर्दै प्रांगारिक उत्पादनमा हौसला प्रदान गरिएको उनले उल्लेख गरे । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजाँदै यान्त्रीकरणलाई समेत विशेष जोड दिइएको उनको भनाइ छ ।

Advertisement


मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ । सफल महिला कृषक समूह पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भएका छन् ।


कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शन गरेका छन् । घरमा उत्पादित कन्दमूलतर्फ देवीलाल बराल पोखरा २२ प्रथम, सीता अधिकारी पोखरा ३३ दोस्रो, सीता कुँवर पोखरा २५ तेस्रो र रामजी पौडेल पोखरा २२ सान्त्वना भएका छन् । वनमा उत्पादित कन्दमूलतर्फ प्रदीप ढकाल पोखरा २२ प्रथम, चमेरे गुफा कृषक समूह पोखरा १६ दोस्रो, टेकनाथ बराल पोखरा १३ तेस्रो, र देवीलाल बराल, पोखरा २२ सान्त्वना भए ।

Advertisement


विजेतालाई पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले नगदसहित प्रमाणपत्र प्रदान गरिन् ।

तपाईको प्रतिक्रिया