
चितवन ।
मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ ।
नागढुंगा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो ।
नक्सांकन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ । एक वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्सांकन परिवर्तन गर्न नै छ महिना लागेको उनले जानकारी दिए ।
आचार्यका अनुसार अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ । यो सडकमा रहेका आठवटा पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटा पुलको काम भइरहेको उनले बताए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुंगिएकाले काम सुरु हुन सकेको छैन । अन्य दुई पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाइ सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आचार्यले बताए ।
बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७।१५ किलोमिटर सडक चार लेनको बन्नेछ । चार लेन सडक १४ मिटर फरकिलो हुन्छ । उकालोमा सडक तीन लेनको बनाइने छ र यो १० दशमलव पाँच मिटर फराकिलो हुनेछ ।
त्यस्तै तीन लेनको बन्ने उकालो सडक तीन किलोमिटर छ । सडकको स्तरोन्नतिका लागि रूख काट्न वन विभागको कोषमा पैसा पठाइँदैछ भने विजुलीका पोल सार्ने प्रक्रिया अघि बढाइएको छ । गएको एक वर्ष ढिलाइ भएको भए पनि अब कामले गति लिने आचार्यले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया