राजनीतिक खिचातानीले योजना अलपत्र

समाधान संवाददाता २०८० माघ ५ गते १२:२४

पोखरा ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफूखुसी योजनालाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यावसायिक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

Advertisement


कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले राजनीतिक खिचातानीकै कारण अलपत्रमा पर्ने गरेको टिप्पणी गरे । ‘राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो,’ क्षेत्रीले भने, ‘जुन बेला बन्द, हड्ताल हुन्थ्यो त्यो समयमा अर्थतन्त्रमा गति लिन सक्दैन भनेपछि सबै राजनीतिक दललाई चित्त बुझ्ने परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिइयो ।’


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले रोजेका परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिने र प्राप्त बजेट तथा जनशक्ति दिँदा देशको अर्थतन्त्रले गति लिन सक्ने गरी योजना छनोट हुने गरेको उपाध्यक्ष क्षेत्रीले उल्लेख गरे । ‘जुन बेला देशको अर्थतन्त्र चलायमान बनाउने गरी राष्ट्रिय गौरवको योजना छनोट हुन्थ्यो, अहिले यसमा विकृति आएको छ,’ उनले भने, ‘सरकारको नेतृत्वमा जाने राजनीतिक दलको खिचातानीकै कारण राष्ट्रिय गौरवका योजना छनोट गर्दा अलपत्रमा पर्ने गरेका छन् ।’

Advertisement


उनले सरकारले उद्योग, धन्दा स्थापना, कृषिमा लगान बढाउन नसक्दा युवाहरु विदेश जाने क्रम बढेको धारणा राखे । ‘सरकारले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सकेको छैन । कृषिमा बजेट सीमित छुट्याउँछ,’ क्षेत्रीले भने, ‘उद्योगहरु सञ्चालन र स्थापनामा सरकारको ध्यान जान सकेन । कृषिमा लगानी बढेन, देशमा युवा बेरोजगार भए, त्यसैले रोजगारीका लागि दिनानुदिन विदेश भासिएका छन् ।’


उनले सरकारले व्यवसायीको मर्मलाई बुझेर नीति निर्माण गर्नुपर्नेसमेत धारणा व्यक्त गरेका छन् । रोटरी क्लब अफ गण्डकीले आफ्नो मासिक बैठकको क्रममा हरेक महिना विभिन्न क्षेत्रको विज्ञ व्यक्तित्वसँग समय सान्दर्भिक विषयमा अन्तरक्रिया छलफल गर्दै आएको छ । अन्तरक्रिया कार्यक्रम चेम्बर अफ कमर्स गण्डकी अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया