तयार भयो बन्दीपुर केबलकार

राष्ट्रिय समाचार समिति (रासस) २०८० माघ ५ गते १२:२७

दमौली ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका ४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।

Advertisement


अहिले ८ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिनेछ । उनी भन्छन्, ‘यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।’


आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उपाध्याय भन्छन्, ‘केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।’

Advertisement


निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मंसिरदेखि सञ्चालन गर्ने तयारी छ । होटलको भित्री कामबाहेक अन्य सबै सकिएको छ । प्रतिघण्टा ५ सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेस्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ ।

साढे २ अर्बमा बनेको यो परियोजना निर्माण भई परीक्षण जारी छ, पूर्ण रुपमा वैशाखबाट सञ्चालनमा आउनेछ

Advertisement


विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

विसं २०८१ मंसिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा ३ सय रहेकामा त्यसलाई बढाएर ५ सय पुर्‍याइएको छ ।


होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ । १० तल्लाको होटलसहितको भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, ‘बेनक्युट हल’ र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।


यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको ५ तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ ।


बन्दीपुर–४ ठूल्ढुंगाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुंगास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।


केबलकारको साधारण सेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।


३ अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड छ । त्यसमध्ये चुक्ता पुँजीको २ प्रतिशतअर्थात् ४ करोड ३० लाख परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ ।


आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया