श्री १५ फलेपाटनलाई फुटबल उपाधि

पोखरा ।
पोखरा १५ वडा कार्यालयले आयोजना गरेको दोस्रो बृहत् खेलकुद महोत्सव शुक्रबार सकिएको छ । क्लब तथा टोल स्तरीय फुटबल खेलमा श्री १५ (फलेपाटन) ले गलेश्वर टोललाई ३–० ले पराजित गर्यो ।
गत वर्ष क्वाटर फाइनलमा गलेश्वरलाई पेनाल्टीमा हराएको श्री १५ ले यस वर्ष फाइनलमा गलेश्वर विरुद्ध ३–० को फराकिलो जित निकालेको हो । विजेता श्री १५ ले नगद ३० हजारका साथमा सिल्ड र प्रमाणपत्र हाते पारेको छ भने उपविजेता गलेश्वरले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पाएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले वडा नं –१५ ले आयोजना गरेको दोस्रो संस्करणको खेलकुद महोत्सव पूर्ण रूपमा सफल भएको बताइन् । खेलकुद युवाका लागि मात्र नभएर सबैका लागि आवश्यक रहेको औंल्याइन् ।
पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडाहरूबिच हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे । वडा नं १५ ले आयोजना गरेको खेल महोत्सवको सिको गर्दै आफ्नो वडामा पनि यस किसिमका प्रतियोगिता सञ्चालन गर्ने उनले सुनाए ।
खेल महोत्सव संयोजक आशीष भण्डारीले यस वर्ष भएका कमीकमजोरीहबाट पाठ सिक्दै आगामी वर्ष अझ तयारीका साथ खेल महोत्सवलाई निरन्तरता दिइने उल्लेख गरे । पोखरा १५ का तोरण बानियाँले खेलकुद कार्यक्रमले वडावासीमा आपसी सद्भाव कायम राख्नुका साथै मित्रता बढेको जनाए ।
उनले गत वर्ष खेलकुद महोत्सवमा सहभागी टिमबाट छनोट गरेका खेलाडीले महानगरस्तरीय मेयर कपमा उपविजेता, महिला भलिबलमा तेस्रो र ब्याडमिन्टनमा पुरुषतर्फ दोस्रो र महिलातर्फ तेस्रो बनेको भन्दै यस किसिमका खेल आयोजनाले समग्र वडालाई बलियो टिमको रूपमा चिनाएको सुनाए ।
खेल महोत्सवमा टोल, क्लब तथा विद्यालय स्तरीय फुटबल, महिला –पुरूष भलिबल, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिचको बास्केटबल, महिला पुरूष ब्याडमिन्टन, महिला पुरूष सडक दौड, आमा समूहहरूको रस्साकस्सी लगायतका प्रतियोगिता भएका थिए ।
कार्यपालिका सदस्य मन्दिरा परियार र वडा सदस्य बलराम पौडेलले पनि कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया