मौसमको मारमा मुस्ताङ

धवलागिरी, नीलगिरी लगायतका अग्ला गगनचुम्बी हिमाल र वरिपरि अनगिन्ती पहाडले घेरिएर तल खोंचमा विश्वमै शालिग्रामका लागि प्रख्यात कालीगण्डकीको किनारमा रहेको मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम भौगोलिक, जैविक विविधता र पर्यटकीय हिसाबले पनि अन्य जिल्लाभन्दा भिन्न छ । जोमसोममा बस्ने तथा यहाँ आउने जो कोहीले पनि पूर्वी र दक्षिणी शीरमा रहेका अग्ला हिमाल तथा वरिपरिका नागबेली पहाड नहेरी धर पाइदैंन । पूर्वमा जति बेला हेरे पनि मुसुमुसु हाँसरहेको भान हुने नीलगिरी र दक्षिणमा मानापाथी र धवलागिरी हिमालको चुचुरो हेर्दा जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।
यो प्रकृतिको बरदान नै हो भन्दा पनि हुन्छ । पहिले पहिले हिउँदा महिनामा जोमसोमभन्दा तल लेतेसम्म पनि हिउँले ढपक्कै ढाकिन्थ्यो । हिउँ हेर्न जोमसोम पनि पुग्न पर्दैनथ्यो, घासा फेदीमै बाटोसमेत सेताम्मे हुन्थ्यो । अहिले अवस्था फरक छ । माघ सुरु हुँदा पनि जोमसोमको त कुरै छाडौ, माथि नीलगिरी र धवलागिरी हिमालमा समेत हिउँ परेको छैन र पर्ने लक्षण पनि देखिएको छैन । बरु दिउँसोको समयमा भएको अस्वभाविक तापक्रम वृद्धिले माथि हिमालको चुचुरोमा भएको हिउँसमेत पग्लिएर चुचुरो खुइलिँदो डाँडाको रुपमा परिणत हुँदै गएको छ ।
केही वर्षअघि सम्म मंसिर महिना लाग्दै गर्दा मुस्ताङ जिल्लाका सबै जसो भागमा हिउँ पर्ने हुँदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुस, माघ महिनाको जाडो छल्न तल पोखरा, काठमाडौं लगायतका सहरमा फागुन महिनाको आधाआधीसम्म उतै घुमघाममा रमाउने चलन थियो । यो चलन यद्यपि कायम पनि छ । यसलाई चलन भन्ने कि बाध्यता वा रहर ?
पहिले जाडो महिनामा लगातार हिउँ पर्ने, बाटोघाटो तथा यातायातको सुविधा नहुने हुँदा यहाँको जनजीवन अत्यन्त कष्टकर हुने भएकाले पोखरा लगायतका सहरमा झर्नैपर्ने बाध्यता थियो ।
हिउँद महिनामा लामो समय हिउँ परेको अवस्थामा सवारी साधन पनि नचल्ने हुँदा मानिसलाई खाद्यान्नको समस्या हुन सक्ने भएकाले पोखरा लगायतका सहरमा झर्नु उति बेला स्वभाविक पनि मानिन्थ्यो । प्रहरी, प्रशासन, सेना र केही अत्यावश्यक कार्यालयका कर्मचारीबाहेक मुस्ताङ जिल्लामा बसोबास गर्ने नागरिक जाडो महिनामा जिल्ला छोड्नुलाई पहिले अनौठो पनि मानिदैनथ्यो । तर अहिले माघ लाग्दा पनि हिउँ पर्नु त कता हो कता; जोमसोममा दिउँसोको समयमा टन्टलापुर र चर्को घाम लागेका कारण घाममा एक छिन पनि बस्न नसकिने अवस्था छ ।
समयमा हिउँ नपर्ने र हिमालमा हिउँ नरहने हो भने हिमपातमा आश्रित यहाँको स्याउ लगायतका प्रमुख नगदे बालीको उत्पादन उल्लेख्य घट्ने निश्चित छ
हिउँद महिना सकिनै लाग्दा पनि जोमसोम आसपास रहेका हिमालमा हिउँ नपर्नु र हिमालमा भएको हिउँ पनि पग्लिएर हिमाल रित्तै हुँदै जानुमा सायद जलवायु परिवर्तनको असरको कारण नै होला भन्न सकिन्छ । हिमालमा प्रशस्त हिउँ हुँदा त्यताबाट दक्षिणतर्फ बग्ने चिसो हावाको कारण परपर तराईसम्म फागुन र चैत महिनामा पनि चिसो अनुभूति हुने गर्दथ्यो । तर यसपालिको अवस्था फरक देखिएको छ । हुन त हिउँद अझै सकिएको छैन ।
माघ, फागुन महिनामा पनि पहिले पहिले प्रशस्त हिउँ पर्ने गरेका उदाहरण छन् । तर नेपाली उखान छ, लगन पछिको पोते के काम ? चरितार्थ हुने देखिन्छ । यदि समयमा हिउ नपर्ने र हिमालमा हिउँ नरहने हो भने हिमपातमा आश्रित यहाँको स्याउ लगायतका प्रमुख नगदे बालीको उत्पादन उल्लेख्य मात्रामा घट्ने निश्चित छ । तसर्थ जलवायु परिवर्तनको बिषय हिमालमा बस्ने मानिसको मात्र सरोकारको बिषय बन्नु हुँदैन । पहाड र तराईमा बस्ने सबै तह र तप्काका सरोकारवाला तथा आम नागरिकका लागि पनि चिन्ताको बिषय बन्नु आवश्यक देखिन्छ ।
यहाँको भौगोलिक बनावट, जैविक आधार, ताल, तलैया, बौद्ध तथा हिन्दू धर्मावलम्बीको धार्मिक आस्थाको रुपमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड तथा शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी, प्रसिद्ध लोमान्थाङ दरबार, छोसेर गुम्बा लगायत यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । हिम श्रृखंला लगायत यी सबै क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइसकेको छ । कालीगण्डकी नदीमा पहिले जस्तो शालिग्राम पाउन छोडेको छ । लोमान्थाङ दरबार बन्द रहने हुँदा दरबार हेर्न आउने पर्यटक निराश हुने गरेका छन् ।
पानीका स्रोत सुक्दै गएका छन् । वर्षा कम हुने जिल्ला मुस्ताङ हो तापनि यसै वर्षको साउनमा कागबेनीमा आएको बाढीले निम्त्याएको भौतिक विनाश जलवायु परिवर्तनको ज्वलन्त उदाहरण हो भन्न सकिन्छ । सायद सोही कारण हुन सक्छ यो वर्ष कागबेनीमा पितृको सम्झनामा तर्पन तथा श्राद्ध गर्न आउने मानिसको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।
मुस्ताङ आउने नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाई नै जोमसोम, लेते लगायतका स्थानबाट सहजै हिमाल र हिमालमा भएको हिउ देख्नु, हेर्नु र यसको आनन्द लिनु हो । हिमालको उचाइ तथा त्यहाँ देखिने हिउँको मनमोहक दृश्य आ–आफ्नो मोबाइल तथा क्यामेरामा कैद गर्दै आनन्दित हुन यहाँ आउने जो कोही पनि लालायित हुने गर्दछन् । हिमालमा हिउँ पग्लदै गई त्यसको स्वरुप परिर्वतन भई नाङो खुइलिएको डाँडाको रुपमा परिणत भएपछि हिउँ हेर्ने मनोकांक्षा बोकी मुस्ताङ आउन चाहने पर्यटकको रोजाइमा मुस्ताङ नपर्न पनि सक्छ ।
मुस्ताङको विकासको आधार नै यहाँको पर्यटन हो । नेपाल घुम्न आउने सार्क राष्ट्र लगायतका विदेशीमध्ये १० प्रतिशतभन्दा बढी मुस्ताङ जिल्ला घुम्न आउने गर्दछन् । यहाँसम्म पुग्ने बाटो सहज भएका कारणले गर्दा पनि होला अहिले नेपाली आन्तरिक पर्यटकको रोजाईमा पनि मुस्ताङ नै पर्ने गरेको छ । मुख्य सिजनमा मुस्ताङमा रहेका होटेलले पर्यटकको माग धान्न सकेका छैनन् । तसर्थ यो यथार्थलाई हृदयंगम गरी जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरोकारवाला निकाय र राज्य तहबाट समेत तत्काल उचित प्रयास थालनी गरी यसको संरक्षण र प्रवर्धनमा लाग्नु जरुरी छ ।
मुस्ताङ पर्यटकीय हिसाबले मात्रै प्रख्यात छैन । धार्मिक र सांस्कृतिक हिसाबले पनि प्रसिद्ध छ । हिन्दू र बौद्ध धर्मावलम्बीको अस्थाका रुपमा रहेको मुक्तिनाथ लगायतका धार्मिक धरोहरको उचित संरक्षण र समय अनुकूल व्यवस्थित गर्दै लैजानु जरुरी छ । मुक्तिनाथ मन्दिरको व्यवस्थापन प्रभावकारी बनाउन र यसको शौन्दर्यलाई अझै जाज्वल्यमान बनाउन सबै पक्ष इमान्दारीपूर्वक लाग्न आवश्यक देखिन्छ । भारत लगायतका मुलुकमा रहेका धार्मिक धरोहरको शौन्दर्यका कारण पनि पर्यटक तथा आस्थावानहरुको ती स्थानमा थामी नसक्नु घुइँचो लाग्ने गर्दछ ।
यहाँका धार्मिक धरोहरहरुको समयानुकूल मर्मतसम्भार, व्यवस्थापन तथा प्रचारप्रसार गर्न सकेमा उता लाग्ने भीड यता पनि लाग्ने निश्चित छ । यसै जिल्लामा रहेको दामोदर कुण्डको जुन ख्याति र महिमा छ तत् अनुरुपको व्यवस्थापन हुन सकेको छैन । हेलिकोप्टर यात्रा अत्यन्त महंगो रहेका कारण जो कोहीको लागि सहज हुने कुरा पनि भएन । तसर्थ यसको सहजताको लागि प्रयास भएमा पर्यटनका लागि थप बलियो आधार बन्न सक्छ ।
मुस्ताङ जसरी धार्मिक, जैविक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ, त्यसै गरी खेतिपातीको हिसाबले पनि प्रसिद्ध छ । यहाँ उत्पादन भएका जुनसुकै बाली काठमाडौं लगायतका सहरमा प्रमुख ब्रान्डका रुपमा प्रख्यात छन् । यहाँको प्रमुख नगदे बालीका रुपमा रहेका स्याउ, आलु, ओखर, उवा र फापर छन् । पशुपालन अन्तर्गत चौरीगाई, भेडा, च्याग्रा यहाँका प्रमुख नगद आम्दानीका स्रोत हुन् । अहिले जलवायु परिवर्तनको असर यी सबै व्यवसायमा परेको छ । पहिले कोवाङसम्म पर्याप्त मात्रामा स्याउ उत्पादन हुने गरेकोमा अहिले जोमसोमनजिक रहेको र स्याउ खेतीको लागि प्रख्यात मार्फामा समेत पर्याप्त मात्रामा स्याउ उत्पादन हुन छाडेको छ ।
आलु खेती प्रशस्त हुने भएता पनि कामदार अभावमा खेतीयोग्य जमिन बाँझै रहने गरेका छन् । उवा र जौ खेतीमा पनि कामदारकै समस्या छ । यहाँ बसोबास गर्ने मानिसको प्रायः होटेल व्यवसायमा मात्र ध्यान केन्द्रित भएका कारण र प्रशस्त मात्रामा मजदूरी पाउन छाडेकाले गर्दा पनि आलु, उवा र जौ खेती बाली घट्ने अवस्था भएको हो । तापक्रम बढ्दै गएका कारण निश्चित तापक्रममा चरन हुने पशु चौपायामा समस्या देखिन थालेको छ । तसर्थ यी सबै समस्या समाधानका लागि स्थानीय तह, बिभिन्न निकायमा कार्यरत कर्मचारी, मुस्ताङी र अन्य सम्बन्धित सरोकारवालाले एक चित्त भई कार्य गर्न सकेमा बदलिँदो मौसमको मारमा परेको मुस्ताङलाई नयाँ जीवन दिन सकिन्छ ।
तपाईको प्रतिक्रिया