सम्पादकीयः मध्यपहाडी लोकमार्ग र ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालन गरेको पुष्पलाल (मध्यपाहाडी) लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ध्यानाकर्षण पत्र बुझाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको पत्रमा १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन् ।
मध्यपहाडी यात्राको क्रममा एमालेलाई प्राप्त भएका जनताका माग र समस्याहरूमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन् । सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्नु पर्ने एमालेको माग छ ।
‘राष्ट्रिय यातायात रणनीति–२०५८’ ले सो लोकमार्गको अवधारणा अगाडि सारेको हो । सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय योजनाको रूपमा स्थापित भएको छ । साना तिना अवरोध बाहेक अहिलेसम्म राजमार्गको मोटामोटी ७० प्रतिशत काम सकिएको छ । लोकमार्गको आसपासको क्षेत्रमा २ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन हुने सम्भावना छ । विद्युत आयोजना पुष्पलाल लोकमार्ग आर्थिक करिडोरको आधार बन्न सक्दछ ।
उत्पादनजन्य उद्यमहरूमा नेपालको तुलनात्मक लाभका क्षेत्रहरूमा नै ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ । ‘झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेले राजमार्गबाट प्रभावित जनताको सवाललाई बुझ्ने काम गरेको छ । जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव संकलन गर्ने कार्यक्रमले एमालेलाई फाइदा पुगेको छ ।
राजमार्ग आसपास क्षेत्रको आर्थिक विकासको अलवा सरकारले व्यावसायिक कृषिका लागि लगानी गर्ने मार्गप्रशस्त गर्नु पर्दछ । राजमार्गलाई आर्थिक करिडोरको प्रस्ताव कार्यान्वयन भएमा यसले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने परिस्थिति सिर्जना हुनेमा कुनै शंका छैन । तर आर्थिक करिडोरको कार्यान्वयन ज्यादै चुनौतीपूर्ण हुनुका साथै कार्यान्वयन भएमा ज्यादै फलदायी पनि हुने छ । यदि यो आर्थिक करिडोरले सार्थकता पाएको खण्डमा तराईको जानसांख्यिक दबाब हल्का भएर व्यवस्थापन गर्न सकिने आकारमा रुपान्तरण हुनेछ ।
नेपाल छोडेर विदेश जाने क्रममा कमी आएर विदेशबाट समेत फर्केर आउने वातावरण बन्न सक्ने सम्भावना छ । नेपालको अर्थतन्त्र सीधै पश्चिम बंगाल, उत्तराखण्ड तथा सिक्किमको सय अर्ब अमेरिकी डलरको अर्थतन्त्रसँग जोडिँदा सिनर्जी पैदा भएर परस्पर लाभान्वित हुने अवस्था सिर्जना हुनेछ । सो लोकमार्ग नेपालको सर्वांगीण विकासका लागि कोशेढुंगा हुनेमा कुनै शंका छैन ।
सरकारको प्रमुख प्राथमिकता तथा राष्ट्रिय गौरवको आयोजना क्षेत्रमा प्रमुख प्रतिपक्षी दल एमालेको अभियानले जनपरिचालन तथा शक्ति प्रदर्शनले केहि हदसम्म राजनीतिक रुपमा फाइदा पुगेको छ । नयाँ शहरको रुपमा विकास भएका क्षेत्रका अलवा राजमार्ग आसपासको क्षेत्रको वस्ती विकाससँगै समग्र रुपमा मध्य पहाडी क्षेत्रको विकासमा योगदानमा सहयोग पुगेको छ ।
तपाईको प्रतिक्रिया