सम्पादकीय: आहा रारा गोल्डकप

समाधान संवाददाता २०८० माघ ११ गते ११:५९

सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप फुटबलको यस वर्षको संस्करण सुरु भएको छ । मंगलबारबाट सुरु यो प्रतियोगिता २२ औं संस्करणसम्म चलेको गण्डकी प्रदेशको मात्रै नभई देशकै नियमित फुटबल प्रतियोगिता भएको छ । त्यस अर्थमा मात्रै यसको महत्व होइन, निरन्तरता आफैमा चुनौतीपूर्ण कर्म हो, त्यसमाथि यसको स्तर पनि क्रमश वृद्धि हुँदै गएको छ । गरिमा र उचाइ बढ्दो छ । खेल गतिविधिमा एउटा इँटामात्रै नभई पोखराको पर्यटन र अर्थतन्त्रमा पनि योगदान गर्दै आएको छ यो प्रतियोगिताले ।

Advertisement


क्लबका पदाधिकारी र सदस्यको अथक मेहेनत र सहकार्य गजबको छ । सामूहिक भावनाकै कारण क्लबले यो सफलता हाँसिल गर्न सकेको हो । जस्तै चुनौतीलाई पनि क्लबले चिर्दै आएको छ, सामना गर्दै आएको छ । कोभिड १९ को महामारीका बेला पनि अरु खेल गतिविधि आयोजनाको आँट कमैले गरे, तर सहाराले सामाजिक दुरी कायम गरेरै, स्वास्थ्य मापदण्डहरु पालना गरेरै पनि प्रतियोगिता गरेको थियो । त्यो भनेको खेलप्रतिको समर्पण नै हो । लगाव र मेहेनतको उच्चतम् नमुना हो ।


आहारारा फुटबल प्रतियोगिता मुलुकमै प्रतिष्ठित पर्व बनेको छ । सँगसँगै सहाराले फुटलब एकेडेमी चलाएर अर्काे उदाहरण प्रस्तुत गरेको छ । राज्यस्तरबाटै चलाइनुपर्ने त्यस्तो एकेडेमीलाई चन्दा, दान र सहयोग बटुलेर चलाइरहनु चानेचुने कर्म होइन । त्यसो त सहाराकै सत्कर्म गरेकै कारण पनि सबैतिरबाट सहयोग र सदभाव पनि पाइरहेको छ, हाला कि राज्यका तर्फबाट भने ठोस् सहयोग प्राप्त गरेको छैन । नागरिक स्तरबाटै भएको ठूलो सहयोगले नै प्रतियोगिता र एकेडेमी धानिएको छ । सिंगो पोखराले जसरी आहा रारा गोल्डकप र एकेडेमीको अपनत्व ग्रहण गरेको छ, त्यसबाट नै नेपालीको सामूहिक सहकार्यको संस्कृतिलाई जर्गेना गर्न मद्दत पुगेको छ ।

पुरस्कार राशि, सहभागी प्रतियोगी लगायतले आहा रारा गोल्डकपलाई वजिलो त बनाएकै छ, त्यसमाथि यस्ता प्रतियोगिताको आर्थिक पारदर्शिता झन् महत्वपूर्ण हुन्छ, त्यसमा आयोजक सहारा अत्यन्तै काबिल देखिन्छ । पारदर्शी तवरले सबै हिसाब सार्वजनिक गर्ने र बचतलाई एकेडेमीमा लगाउने पुण्यकर्मकै कारण क्लबको नाम सहारा सार्थक बनेको छ । यसपालिको प्रतियोगिता सफल होस्, शुभकामना !

Advertisement

तपाईको प्रतिक्रिया