सवारी दुर्घटनाको जोखिम र लापरबाही

झलक शर्मा २०८० माघ ११ गते १२:१७

नेपाल सवारी दुर्घटनाको उच्च जोखिममा छ । जीर्ण, साँघुरा सडक, चालकको लापरबाहीका कारण सडक दुर्घटना दिनानुदिन बढ्दै छ । जोखिम मोलेर यात्रा गर्नु पर्ने यात्रुको बाध्यता छ । सडक दुर्घटनाको कारण पनि सबै पक्षलाई सर्वविदितै छ । तर दुर्घटना हुनबाट भने कमी आएको छैन । यतिबेला दाङमा भएको यात्रुबाहक बस, काठमाडौंको चन्द्रागिरीमा भएको निजी कार र पोखराको सुन्दरी बजार र कास्कीकोटमा भएको दुर्घटनाले सबैलाई मर्माहत बनाएको छ । यी निरन्तर एकै हप्ताको सेरोफेरोमा भएका दुर्घटनाहरु हुन् । कतिपय दुर्घटनाहरु स्थानीय स्तरमा घटेका तर मिडियामा नआएका थुप्रै घटनाहरु छन् ।

Advertisement

सवारी दुर्घटनाले धेरै जनधनको क्षति गराएको छ । अब सवारी दुर्घटनाबारे गम्भिर र संवेदनशील बन्नुपर्ने अवस्था आएको छ ।
२०७९।८० मा सवारी दुर्घटनामा परी २ हजार ३ सय ६८ जनाले ज्यान गुमाए । जसमा २३ हजार ५ सय १७ वटा सवारी साधन दुर्घटनामा परे । यस्ता तथ्यांकले त यात्रुलाई तर्साइ रहन्छ । सवारी दुर्घटना ग्रामीण भेग र शहरी क्षेत्रमा उत्तिकै हुने गरेका छन् । ग्रामिण भेगमा साँघुरा कच्ची सडक छन् । सवारी साधनमा यात्रुको चाप उस्तै छ । बाढी पहिरो तथा खानी उत्खनन्ले गर्दा पनि सवारी दुर्घटना घट्ने गरेको छ । जीर्ण तथा भत्केको सडकको पुर्ननिर्माण संरक्षणको अभावले सवारी सााधन सहजरुपमा सञ्चालन गर्न कठिनाई हुने गरेको छ । ग्रामीण भेगमा चालकलाई पूर्वसूचना दिने सांकेतिकरण बोडहरु उपलब्ध छैनन् । कहिँ कतै भएका बोर्डहरु पनि उग्लिसकेर नबुझिने अवस्थामा छन् ।


वर्षायाममा हुने जोखिम बारे पूर्वयोजना एवं पूर्वतयारीहरु गाउँमा पाइँदैन । कच्ची सडकमा गुड्ने ट्याक्टर, ट्रक र जिप तथा बढी भार भएका साधनहरुको चापले सडकमा हुने परिवर्तनले पनि सडक दुर्घटनाको जोखिम निम्तने गरेको छ । यात्रुले पनि सवारी साधन गुड्न नसक्ने अवस्थामा चालकलाई दबाब दिएर गन्तव्य पुग्न खोज्ने गरेको पाइन्छ । सडकमा हुने सिण्डीकेट प्रणालीले पनि दुर्घनाको जिम्मेवार तत्वको रुपमा बुझ्नु पर्छ । यसले चालक र सवारीधनी वा समूहलाई लापरबाही गर्न मलजल पुगेको देखिन्छ । सहरी क्षेत्रमा हुने सवारी दुर्घटना पनि ग्रामीण भेगमा हुने दुर्घटनाको नै अशंहरु हुन् ।

ट्राफिक नियमको उल्लंघन, नगरबसमा क्षमताभन्दा बढी यात्रु चढाउने, अस्वस्थ प्रतिस्पर्धाले तिव्र गतिमा गाडी गुडाउने होडबाजी चलेको देखिन्छ । सडकको छेउछाउमा ढल, पानी, बिजुली लगायतका पाइप विच्छाउन खनिएका खाल्डा खुल्डीहरु समयमा नै नपुर्ने, सडक विभागसँग समन्वय नै नगरी अन्य निकायले सडकको प्रयोग गर्नाले सहरी क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ । पुराना तथा थोत्रा गाडीहरुको सही व्यवस्थापन गर्न सकिएको छैन । सहरमा गुड्न निषेध गरिएका गाडीहरु ग्रामिण भेगमा विस्थापन गराउने अभ्यास छ ।

तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने स्पिड गन, मदिरासेवन गरे नगरेको पत्ता लगाउने यन्त्र ब्रेथलाइजर, ट्राफिक लाइट, सांकेतीकरण, जेव्राक्रस र लेनको प्रयोग अनिवार्य बनाउनुपर्छ

Advertisement


धुँवाधुलो, अत्याधिक सवारी साधनको चापले चालकलाई सहजरुपमा साधन चलाउन सकस भइरहेको देखिन्छ । बैज्ञानिक आधार विना नै सडकमा डिभाइडर राख्नाले सडकको भार बमोजिम उपयुक्त नभएको देखिन्छ । ट्राफिक नियममा आउने परिवर्तनले पनि चालकलाई अलमलमा पारिरहेको छ । मुख्य सडकमा हुने जाम र चाँडो गन्तव्यमा पुग्न साँगुरा गल्लीबाटोको प्रयोगले पनि थप जटिलता सिर्जना गराएको पाइन्छ । चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, चालकको अपरिपक्वता, अध्ययनको कमीले गर्दा धेरै दुर्घटना भएको पाइन्छ । सवारीसाधनको पाटपुर्जा एवं यान्त्रिक खराबीका कारण समेत सडक दुर्घटना हुने गरेका छन् । सडकमा छाडा चौपाया छोड्ने, अन्धाधुन्ध पैदल यात्रुले बाटो काट्ने, आकाशे पुलको प्रयोग नगर्ने जस्ता बानी पनि हामीमाझ छन् ।


सडक दुर्घटनालाई कम गर्न राष्ट्रिय बहस बन्न नसक्नु पनि एउटा चिन्ताको विषय बनेको छ । सडक दुर्घटना प्राय चालकको कमजोरी र लापरबाही हो भनी दोषारोपण गरेर जिम्मेवार निकाय पन्छिने परिपाटी छ । यसमा धेरै पक्षको संवेदनहिनताले गर्दा सडक दुर्घटनाका तथ्याङ्कहरु बढ्ने गरेका छन् । त्यसतर्फ नेपाल सरकार यातायात, सडक सुरक्षा बारे बृहत कार्ययोजना बनाउनु आवश्यक छ । हालसालै सडक दुर्घटना तथ्यांकलाई एकीकृत गरी सुरक्षित गर्न रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने प्रयास गरिएको छ । सो सफ्टवयर सञ्चालन तथा ट्राफिक व्यवस्थापनलाई सरल बनाउन नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद विच समझदारी भएको छ । यस सफ्टवयर सञ्चालनबाट दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने अनुमान गर्न सकिन्छ ।


प्रत्येक सार्वजनिक सवारी साधनले ६/६ महिनामा यान्त्रिक परीक्षण गर्ने कानुनी व्यवस्था छ । तर यो कानूनी व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्न सकिएको छैन । सार्वजनिक सडक ऐन, २०३१ कार्यान्वयनकै चरणमा छ । यसलाई समयसापेक्ष संसोधन गर्न सके सडक दुर्घनामा हुने लापरबाही केही हदसम्म कम हुने थियो । तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने स्पिड गन, मदिरासेवन गरे नगरेको पत्ता लगाउने यन्त्र ब्रेथलाइजर, ट्राफिक लाइट, सांकेतीकरण, जेव्राक्रस र लेनको प्रयोग अनिवार्य बनाउनुपर्छ । चालकलाई सचेत र संवेदनशील बनाउन बेलाबखतमा तालिम तथा गोष्ठिको आयोजना गर्नु जरुरी छ । राज्यले सडक विस्तार, मर्मत तथा जीर्ण उद्धारका लागि पर्याप्त बजेट छुट्याई सोको कार्यान्वयनका लागि अनुगमन गर्नु आवश्यक छ ।

ग्रामीण भेगको सडकको अवस्था बुझ्न स्थानीय सरकार सक्रिय हुनु पर्दछ । सडकमा चौपाय छाड्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सक्नु पर्दछ । चालक अनुमति पत्र वितरण गर्दा विभिन्न मापदण्ड प्रयोग गर्ने, अनुमति पत्रमा हुने भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्नु पर्दछ ।


सडक सुरक्षाको अनुभूत गर्न पाउनु सबै नागरिकको अधिकार हो । सानो त्रुटिले कसैको ज्यान जान सक्ने खतरा भएको हुदा सडक सुरक्षा प्रति घनिभूत छलफल गर्नु आवश्यक छ । सडक सुरक्षाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रभाव पारेको हुन्छ । लगानी भिœयाउन र पर्यटनको आकर्षणमा सडक सुरक्षालाई पनि मूल्यांकन गरिएको हुन्छ । जोखिरहित सडक सुरक्षामा राज्यले ध्यान दिन सके कसैले पनि सडक दुर्घटनाबाट अकालमा जीवन गुमाउनु पर्दैन ।

तपाईको प्रतिक्रिया