देशलाई घुर्की लगाउने कृतघ्नहरू

कोमलनाथ बराल २०८० माघ १४ गते ११:४३

विगत केही वर्षयता नेपालीहरु विदेशिने लहर चलेको छ । लहरमात्र होइन देशका सीमा नाकाबाट खोलै बगे सरह मानिसहरु बाहिरिएका छन् । कोही उडेका छन्, कोही गुडेका छन् त कोही हिँडेका छन् । अबका केही वर्ष यही क्रम चलिरहने हो भने देशै रित्तिने त होइन भन्ने आशंका उब्जन थालेको छ । गाउँहरु त अहिले नै रित्तिसके । पाखाबारी बाँझिदै छन् । घरहरु भत्कदैँ छन् । पढेलेखेका डिग्रीधारी पनि गएकै छन् । अशिक्षित पनि गएकै छन् । धनीले पनि देश छाडेकै छन् र गरिबले पनि । देश छाड्ने क्रम तीव्र गतिमा बढेको बढ्यै छ ।

Advertisement

विदेशिनेमा यो, उ, को सीमा छैन । देखिरहेका छौँ डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, वकिल, पत्रकार, उद्योगी, व्यापारी, साना कर्मचारी, ठूला कर्मचारी, किसान, मजदुर, सेना, पुलिस जागिर पाएका, नपाएका को बाँकी छ र ? सबैसबै क्षेत्रका नागरिकहरु देश छाडिरहेका छन् । यहाँसम्म कि एकातिर राष्ट्रसेवक भनिने उच्चस्तरको ‘ब्युरोक्रेट्स’हरु नेपालको पेन्सन कुम्लाएर विदेशको पिआर र ग्रिन कार्डका पछि दौडिरहेका छन् । अर्कातिर राष्ट्र सञ्चालहरु सासंद् र सरकारमा रहेकालेसमेत कुनै दिन देश छोड्ने त होइनन् ? शंका उठिरहेको छ । कति त उतैबाट काजमा खटिएका पो छन् कि ! आफ्नो घरको मालिक बन्नु भन्दा अर्काको घरको चाकार बन्नु राम्रो ठान्ने प्रवृत्ति हो यो । आफ्नो कुनियोमा आगो लगाएर खलो माग्न हिँड्नेलाई के भन्ने ? कस्तुरी, मृगको आफ्नो अंगको सुगन्ध थाहा नपाएर जंगलमा भौतारिएको जस्तो होइन र ? यो चाला ।


देश खत्तम भयो, केही छैन भन्ने भाष्य व्यापक रुपमा फैलिएको छ । हो, देशमा कलकारखाना व्यवस्थित र विस्तृत रुपमा सञ्चालन हुन नसकेको साँचो हो । प्रयाप्त मात्रमा रोजगारीका अवसर सिर्जित हुन नसकेको पनि सत्य हो । उद्योगधन्दा स्थापनाका सन्दर्भमा विगतका सरकारहरुका कमीकमजोरी र अदुरदर्शिता निश्चय पनि भए । राष्ट्रिय अर्थतन्त्रको विकास गर्न र राष्ट्रिय पूँजी निर्माण गर्न राष्ट्रिय पूँजीपतिहरुलाई प्रोत्साहन गर्नुको साटो दलाल पूँजीपतिहरुलाई अवसर प्रदान गर्नु निश्चय पनि दुर्भाग्य हो । परिणामस्वरुप आज देश दरिद्रतम देशहरुको पङ्क्तिमा खडा हुँदै छ । यस्तो स्थितिलाई राम्रो मान्न कदापि सकिँदैन ।

त्यसमा पनि भ्रष्टाचार, कमिसनखोरी र माफियाकरणको मौलाउँदो अवस्थाले देशलाई कंगालीकरण तिरै डोर्‍याउन खोजिँदैछ । यस्ता विकृति–विसंगतिलाई निर्मुल नपार्दासम्म देश उँभो लाग्दैन यो पनि अर्को सत्य हो । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरणका लागि केही कदम उठाएकाले आशाको कदम देखिए पनि परिणाम स्पष्ट देखिएको छैन । यी इत्यादि कमजोरीका बावजुत यिनै नेता, कार्यकर्ता तथा जनताको साथ समर्थनमा राजनीतिक परिवर्तन त आएको छ नी । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले पाएका छौँ त । आवधिक निर्वाचनका माध्यमबाट नेतृत्व फेरबदल गर्ने अधिकार त हामी नागरिकमा सुरक्षित छँदैछ ।

वैदेशिक रोजगारीमा गएर दुईचार पैसा कमाएर जहान परिवार पाल्नेहरुको हकमा खासै केही भन्नु छैन । उनीहरुले पनि यही देशको माटोमा हातगोडा चलाए राम्रो हुन्थ्यो भन्नेमात्र हो

Advertisement


अब बहसको विषय कहाँ केन्द्रित छ भने यो देश निर्माणमा नागरिकको त्यसमा पनि बौद्धिकहरुको दायित्व छैन र ? सबै खराबीका थुप्रो केही व्यक्तिका टाउकोमा थोपरेर बौद्धिक जगत पनि पानीमाथिको ओभानो कसरी बन्न सक्छ । माथि उल्लेखित देशको उच्च जनशक्ति जो दिनानुदिन बाहिरिँदै गएको छ त्यो जनशक्ति यही समाजको उपज होइन र ? यही देशले उनीहरुलाई डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत उच्च जनशक्ति बनाएको हो । उनीहरुलाई त्यो स्थानमा पुर्‍याउन प्राथमिक विद्यालयदेखि विश्व विद्यालयसम्म र उद्योगी, व्यापारीलगायत सिंगाे समाजको योगदान छ । उनीहरुलाई देश तथा समाजको पूँजीको रुपमा मानिएको हो र उनीहरुबाट देश निर्माणमा योगदान हुन्छ भन्ने ठूलो भरोषा एवं अपेक्षा राखिएको हो । एउटा सचेत नागरिकले समाजको योगदान र अपेक्षालाई लत्याउन मिल्छ ? निश्चित रुपमा मिल्दैन । तर, बिडम्वना आज देशमा त्यही भइरहेको छ । यो अत्यन्त ठूलो दुर्भाग्य हो ।


दुःखद् कुरा यो छ कि आज नैतिकता, इमान्दारिता र राष्ट्रियता अर्थात् देशभक्तिः कमजोरहरुको नारा बनाइएको छ । सक्षमहरुका लागि संसार खुला छ । केबल असक्षमहरु मात्र देशको खाँबो समाएर बस्ने हो जस्ता निकृष्ट भाव व्यक्त हुन थालेका छन् । वैदेशिक रोजगारीमा गएर दुईचार पैसा कमाएर जहान परिवार पाल्नेहरुको हकमा खासै केही भन्नु छैन । उनीहरुले पनि यही देशको माटोमा हातगोडा चलाए राम्रो हुन्थ्यो भन्ने मात्र हो ।

तर डिग्रीधारीहरु र धनाढ्य वर्ग किन विदेशिएका छन् ? उत्तर सरल छ । उनीहरु अरुले फुकिदिएको आगो ताप्त पुगेका छन् । उनीहरुका लागि आफ्नै देशमा दाउरा जोरजाम पारेर आगो फुक्न जाँगर छैन । उनीहरु आफूमात्र विदेशतिर भासिएका छैनन् अपितु उनीहरुले आफ्ना सन्तानलाई समेत विदेशी बनाइरहेका छन् । विदेश गएर ज्ञान, सीप सिकेर देश निर्माणमा लगानी गर्नु उचित र आवश्यक थियो । तर आफ्नो देशलाई घुर्की लगाएर विदेश भासिनु अपराध होइन र ? खोइ देशप्रतिको माया ? खोइ समाजले आफूप्रति लगानी गरेकोबारे चेतना ? यसलाई कृतघ्नताको पराकाष्ठा नभने के भन्ने ?


अर्कातिर हामी अभिभावक पनि उस्तै छौँ । आफ्ना छोराछोरी विदेश पठाउँदा गर्व गर्छौँ । आफ्नो देशको नागरिकता त्यागेर विदेशको नागरिकता पाएको खबर सुन्दा छिमेकी जम्मा गरेर भोज लगाउँछौँ । के यो देश उँभो लगाउने बुद्धि हो त ? हामी मेरो छोरा क्यानडा छ, छोरी अमेरिका छ, अर्को छोरा अस्ट्रेलिया छ र अर्को जापान छ भन्दा छाती फुलाएर श्रेष्ठताको महसुस गर्छौँ । उतैका प्रशंसा गर्दै चर्काचर्की बहस गर्छौँ । छोराछोरी विदेश गएकामा आफ्नो सान र सौकत बढेको ठान्छौँ ।

यही हो त देशभक्तिपूर्ण भावना ? देशभक्तिका कुरा गर्ने र देश विकासको कुरा उठाउनेहरु खुबी नभएको ठहरिन्छन् । भोलि बुढेसकालमा तातो पानी दिने मान्छे नहुँदा वा बिरामी पर्दा बिरामी पर्दा अस्पताल पुर्‍याउने मान्छे घरपरिवारमा नहुन सक्ने स्थितिमा पनि आज हामी यसैलाई गौरव ठान्दछौँ । छोराछोरी विदेश नपठाउने मान्छे समाजमा निरीह छ । ठूलै अपराध गरे जसरी हिनताग्रस्त छ । आज समाजमा पाँच घरमध्ये तीन घर विदेशिएको छ । यही क्रम जारी रहँदा भोलि देशमा के–कस्तो स्थिति बन्ने हो ? प्रश्न गम्भीर छ ।


उसो त १२ पास गरेदेखि नै विद्यार्थी विदेश जाने सोच बनाउँछ भने यो सोचलाई देशमै रहने सोचमा रुपान्तरण गर्न कस्तो शिक्षा चाहिने हो भन्ने बारेमा राज्य गम्भीर बनेको पाइँदैन । विद्यार्थीले सीपयुक्त शिक्षा पाएको छैन अनि उ यताउता भौँतारिएको छ । श्रमप्रति श्रद्धा जगाउने शिक्षा आवश्यक छ । विद्यार्थीले पढ्दै, कमाउँदै गर्न पाउनुपर्‍यो । यतातर्फ सरकारको ध्यान जान सकेको छैन । अब धेरै ढिला भइसकेको छ । देश रित्तिएकोमा गम्भीर बनौँ । गम्भीरतापूर्वक सोच्ने विषय यो छ कि देशलाई, आफ्नो मातृभूमिलाई हेलाहोँचो र उपेक्षा गरेर न आफू ठूलो भइन्छ न देश बन्छ ।

नेपालमा के छैन ? यहाँ हिमाल, पहाड, तराई, नदीनाला, तालतलैया, वनजंगल, खनिज सम्पदा सबै छ । एक प्रकारले प्रकृतिको उपहारसरह छ नेपाल । केबल देशको नेतृत्व पङ्क्तिमा भिजन छैन, दुरदृष्टि छैन, योजना छैन । अनि प्रबुद्ध जनशक्तिमा देशप्रति माया छैन । यो देश सबैसबै मिलेर बनाउनुपर्छ भन्ने सोच छैन । एकता छैन । चीन, जापान, युरोप अनि अमेरिका रातारात समृद्धि भएका होइनन् र त्यहाँका नागरिकले १६ घण्टा श्रम नगरेका भए देश बन्ने पनि थिएनन् । यतातर्फ एकपटक फर्केर हेर्ने कि ? देशलाई उपेक्षा होइन माया गर्न सिकौँ ।

तपाईको प्रतिक्रिया