सम्पादकीयः लज्जाजनक जनप्रतिनिधि

समाधान संवाददाता २०८० माघ १८ गते ११:१८

बाँदर लखेट्ने नाममा रुखै काट्ने अभियान । सुन्दै हाँसो उठ्दो । सुन्ने जतिले भनिपनि हाले—बाँदर आयो भनेर रुख काट्नेले टाउकोमा जुम्रा पर्‍यो भने के गर्लान् ? हुन पनि बाँदरको आतंक बढ्यो भन्दैमा रुख काट्ने भनेको अत्यन्तै मूर्खतापूर्ण कर्म हो । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘म काट्छु मेरो रुख’ अभियानको सूचना आह्वान गरेर त्यस्तै मूर्खता प्रदर्शन गरे । हाला कि सोमबार जारी सूचना व्यापाक आलोचनापछि मंगलबारै उनले रद्द गरे । यसले उनी कतिसम्म उटपट्याङ जुक्ति लगाउँदा रहेछन् भन्नेचाहिँ प्रष्ट भयो । पोखराका वडाका जनप्रतिनिधिका यस्ता हर्कत उनीमै सीमित छैनन् ।

Advertisement


पोखरा १८का वडाध्यक्षले विकास निर्माणबारे प्रश्न गर्ने नागरिकलाई पत्र काटेर अर्काे उट्पट्याङ गरेका धेरै भएकै थिएन । त्यसो त जनप्रतिनिधिहरु त्यस्ता उट्पट्याङमा मात्रै सीमित रहेनन् । अपराधैसम्म गर्न उद्दत रहे । पोखरा २४ का वडाध्यक्ष भरत अधिकारी जातीय दुव्र्यवहारको फौजदारी अपराधमा कसूरदार ठहर भइसकेका छन् । २१ नम्बर वडाका अध्यक्ष दीपक सुवेदी सहकारी ठगी प्रकरणमा फरारै छन् । सेवाग्राहीसँग घूस खाँदा पोखरा ९ की सदस्य भावना श्रेष्ठले कुनै कारबाही भोग्नुपरेको छैन । फेवाताल किनारमा फोटो खिच्नेहरुसँग ठगी गरेको आरोपमा पोखरा ६ का सदस्य दीपेन्द्र पहारी जेलै पनि परे ।


यी र यस्ता कामले जनप्रतिनिधिहरुलाई आफ्नो कर्तव्य र अधिकार के हो भन्नेमात्रै थाहा नभएको नभई उनीहरु कतिसम्म लज्जाजनक हर्कत गर्न पछि पर्दैनन् भन्ने दृष्टान्त दिएको छ । जनताको सेवा गर्छु भनेर राजनीतिमा लाग्ने हो । तर उनीहरु निर्वाचित हुनासाथ आफूलाई जनताको सेवक होइन शासक हुँ भन्ने ठानिरहेका रहेछन् । र सेवा गर्ने होइन पाएको बेला आफ्नै लागि मेवा जुटाउने हो भन्ने मक्सद पनि उनीहरुमध्ये कतिपयमा रहेछ भन्ने देखिएको छ ।

जनप्रतिनिधि भएपछि सबैलाई समानताको ज्ञान र व्यवहार बाँड्नुपर्नेमा उही दासयुगको मालिकजस्तो व्यवहार हुनु भनेको लोकतन्त्रकै लागि पनि लज्जाको विषय हो । न्याय नपाएका जनतालाई न्यायका लागि लड्ने कर्तव्य पालना गर्नुपर्नेमा आफै ठगी धन्दामा लाग्ने र उल्टै अन्यायमा परेकासँग घूस खाने जनप्रतिनिधिका कृत्यले लाज पनि लजाएको हुनुपर्छ । त्यसमाथि यस्ता अपराध र लज्जाजनक कार्य गर्दा गर्दै पनि उनीहरु उही जिम्मेवारीमा भइरहनु र नैतिकताका आधारमा राजीनामा नगर्नुबाट उनीहरुको अधमपना उदांगो भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया