देश बहुआयामिक संकटमा धकेलियोः ज्ञवाली

समाधान संवाददाता २०८० माघ २१ गते १३:३९

पोखरा ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले बहुआयामिक संकटतर्फ मुलुक धकेलिएको दाबी गरेका छन् । उनले बहुआयामिक संकटतर्फ सम्मुख अवस्थाले समाजमा छटपटी, व्यापक अन्योल र नैराश्य बढेको उल्लेख गरे । उनले सरकारको भ्रष्टाचारसम्बन्धी अभियान विपक्षीलाई तर्साउन र आफ्नालाई बचाउने रणनीतिमा रुपान्तरण भएको टिप्पणीसमेत गरे ।

Advertisement


नेता ज्ञवालीले ललिता निवास काण्डमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको नाम जोडिएपछि छानबिन टुंगिएको दाबी गरे । सुन तस्करी काण्ड, छाला जुत्ता कारखानाको जग्गाको प्रकरणका आरोपितलाई छुटाउने कार्यमा सरकार लागेको आरोप लगाउँदै उनले भूटानी शरणार्थी काण्डमा ठूलालाई जोगाउने र सानालाई फसाउने काम भएको आरोप लगाए ।


प्रेस चौतारी नेपाल कास्की शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले सरकारले जनतालाई विश्वास र भरोसा दिलाउन नसक्दा मुलुक संकटतर्फ धकेलिएको चर्चा गरे । उनले देशको भविश्य छैन भन्ने मनोविज्ञान हाबी भएको जनाए
‘सरकारको पहिलो काम जनातामा भरोसा दिलाउने हो, कोही नभए पनि राज्यले संरक्षण गर्छ भन्ने विश्वास दिलाउनु पर्छ,’ उनले भने, ‘नागरिकलाई अप्ठ्यारोमा परेका बेला राज्य भएको विश्वास दिलाउनु पहिलो कर्तव्य भएता पनि सरकार चुक्दै गएको छ ।’ नेता ज्ञवालीले युवामा अब देश बन्दैन भन्ने मनोविज्ञान विकास भएको बताए ।


देशमा बसेर भविष्य छैन भनेर निराशा बढ्दा मास माइग्रेसनको अवस्था भएको उनले उल्लेख गरे । फरक प्रसंगमा पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले देशको बाह्य सम्बन्ध बिग्रिएको तर्क गरे । शक्ति राष्ट्रहरुसँगको सन्तुलित बाह्य सम्बन्ध रहेको मुलुक भएता पनि वर्तमान सत्ता गठबन्धन सत्ता टिकाउन निश्चित शक्तितर्फ ढल्केको नेता ज्ञवालीको आरोप छ ।


उनले सत्ता टिकाउन सरकारले असन्तुलित काम गर्दा परराष्ट्र सम्बन्धमा गम्भीर विचलन आएको जिकिर गरे । नेता ज्ञवालीले सरकारको असक्षमताका कारण नेपालको अर्थतन्त्र संकटमा परेको दाबी गरे । नेपालको इतिहासमा पहिलोपटक सरकारले आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाउन सुरु गरेको भन्दै उनले आन्तरिक ऋणले बल्लबल्ल कर्मचारीलाई तलब खुवाउन सकेको सुनाए ।

Advertisement


उनले आर्थिक मन्दीका कारण धेरै व्यवसाय बन्द भएको तथा मुख्य सहरमा सटर र फ्ल्याट खाली भइरहेको उल्लेख गरे । उनले समानान्तर अर्थतन्त्र चलेका कारण आन्तरिक राजस्व कम उठेको तर्क गरे ।


ऊर्जाको क्षेत्रमा भारतको एकाधिकार बढेको आरोप लगाउँदै उपमहासचिव ज्ञवालीले तेस्रो मुलुकको लगानीलाई निषेध गरिएको जनाए । उनले नेपालले लाभ पाउने गरी प्रतिस्पर्धी हुन नदिने तथा व्यापारको नाममा नेपालको ऊर्जाको अधिकार कटौती भएको तर्क गरे ।


प्रधानमन्त्री र पर्यटनमन्त्रीले सामाजिक सद्भाव भड्काउन लागिरहेको आरोप लगाउँदै उनले सरकारको असक्षताका कारण सबैको कुराको लाभ पश्चगामी शक्तिले लिएको ठोकुवा गरे । वर्तमान संकटको अवस्थाबाट देशलाई मुक्त गराउन सरकारको विकल्प खोज्ने बेला आईसकेको उनले सुनाए । उनले देशको सबैभन्दा ठूलो पार्टी कांग्रेस देशका यावत विषयमा मौन देखिएको, सहमति र फड्के किनारामा साक्षी बनेको टिप्पणी गरे ।


वर्तमान सरकार बदल्न अपरिहार्य भए पनि संसदको अंकगणित कमी भएको चर्चा गर्दै उनले सरकार फेर्नका लागि संसदमा रहेका विभिन्न राजनीति दललाई अपिल गरेको जानकारी दिए । उनले सबै खालका बेथितिको भण्डाफोर गर्न एमाले जनतामा जान लागेको बताए । उनले सातै प्रदेशमा जनदबाबमुलक कार्यक्रम गर्ने उल्लेख गरे । संक्रमणकालीन न्याय सशस्त्र द्वन्द्वका पीडितलाई चाहिएको चर्चा गर्दै उनले पीडितले न्याय नपाए संक्रमणकालीन अन्याय हुने टिप्पणी गरे ।


कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका कार्यवहाक अध्यक्ष मोतीसागर अधिकारी, सचिव रञ्जन अधिकारी क्षत्रीले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया