सिँगारियो संसद, तर छैन बिजनेस

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेश सभाले बर्खे अधिवेशनका लागि सांसदहरुलाई पर्खिरहेको छ । तर, पनि सरकारले नजिकै बैठक डाक्ने कुनै छनक देखाएको छैन । तथापि बर्खे अधिवेशन कुरेर बसेका सांसदको स्वागतमा प्रदेशसभा सचिवालयले भवनलाई सजावट तथा व्यवस्थित पार्ने काम गरिरहेको छ । प्रदेश सभामा भवनमा अहिले धमाधम भित्री/बाहिरी व्यवस्थापनको काम भइरहेको छ । अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ नयाँ माइकहरू राखिएका छन् ।
सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरूका लागि नयाँ टेबल र कुर्ची (सोफा) पनि पनि राखिएको छ । सचिवालयका झनकराज अधिकारीले प्रदेश सभा बैठकलाई थप व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले बजेट अभावका कारणले सभामुखको पोडियमलाई भने नयाँ लुक्स दिन नसेकेको सुनाए । ‘बजेट अभावले अहिले सभामुखज्यूको कक्षलाई चेन्ज गर्न सकिएको छैन । सरकारसँग बजेट माग गरेर फेर्ने हाम्रो प्रयास भने जारी छ,’ उनले भने । गण्डकी प्रदेशसभा बाहिर चिटिक्क देखिए पनि भित्री आवरण कमजोर छ ।
०७४ सालदेखि प्रदेश संरचना खडा भएलगतै तत्कालीन नगर प्रशिक्षण केन्द्रको भवनलाई प्रयोगमा ल्याउँदै प्रदेश सरकारले प्रदेश सभा स्थापना गरेको थियो । यसका लागि सरकारले प्रत्येक वर्ष सिँगार्न बजेट खर्च गर्दै आएको छ । प्रदेश सभा भवन स्थापना गर्दै राखिएको ती टेबल कुर्चीले नै अहिले विस्थापन गरेर नयाँ हालिएको हो । यसका लागि प्रदेश सरकारले नै चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको थियो ।
टेबल र कुर्ची फेर्न शीर्षकमा सरकारले १५ लाख रुपैयाँ र माइकल साउन्ड सिस्टम फर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ । सोही रकमलाई सचिवालयले खर्च गरे प्रदेश सभाका नयाँ लुक्स दिएको अधिकारीले बताए । ‘कुर्ची र टेबल फेर्न बजेट १५ लाख हो । त्यो शीर्षकमा छुटिएको रकमबाट नयाँ सोफा ६३ वटा र टेबल २९ वटा नयाँ थपिएको छ,’ अधिकारीले भने । प्रति सोफाका करिब १३ हजार रुपैयाँ पर्न गएको अधिकारीले बताए ।
उनका अनुसार २९ वटा टेलबको प्रति गोटा साढे ७ हजार बजेट खर्च भएको छ । ‘बिलिङ गर्ने समय भएको छ । कुल कति खर्च हुन्छ, हिसाब नै गर्नुपर्छ । तर, हाम्रो स्टिमेट साढे १४ लाखमा सक्ने हो,’ अधिकारीले भने ।
सभालाई मर्यादित बनाउन ‘नयाँ माइक’
प्रदेश सभा बैठकलाई मर्यादित बनाउन नयाँ माइक जडान गरिएको छ । एउटा टेबलको माइक दुईजना सांसदले सेयरिङ गर्ने गरी नयाँ माइक जडान गरिएको हो । जुन माइकले सभामुखलाई रुलिङ गर्न सजिलो हुने प्रदेश सभाका प्रवक्ता प्रेम सुवेदीले बताए । उनका अनुसार विगतका माइकमा सभामुखले दिएको माइकभन्दा बढी बोल्दा रोख्नुस् भन्नुपर्ने थियो तर, अहिले सभामुखले दिएको टाइम सकिएपछि सचिवालयले आफैं माइक काट्नेछ ।
ती माइक र २ साउन्ड (मिक्चर) गरेर करिब ९ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए । माइकका पनि बिलिङ अन्तिम चरणमा पुगेको उनले सुनाए । माइक भने ३० वटाभन्दा कम भएको उनको भनाइ छ ।
सरकारले माइक सिस्टमका लागि पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन अझै अपर्याप्त भएको सचिवालयका अधिकारी बताउँछन् । उनले अहिले आधारभूत र अत्यावश्यक काम मात्र भइरहेको बताए । प्रदेश सभामा हिँड्ने स्ल्याब पनि निर्माण अन्तिम चरणमा पुगेको बताए । भवन मर्मत शीर्षकमा भने छुट्टै रकम छुटिएको उनको भनाइ थियो ।
अधिवेशन आह्वानको पखाईमा सांसद
गण्डकी प्रदेश सभाको हालसम्म दुई नियमित र दुई विशेष गरी ४ अधिवेशन सम्पन्न भएका छन् । हिउँदे अधिवेशन गत असोज ११ गते अन्त्य भएको थियो । अर्को बजेट अधिवेशन डाक्ने भन्ने सरकारको कुनै तयारी देखिँदैन ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले ३/४ दिनपछि बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशनको निक्र्यौल गर्ने बताइन् । उनले अघिल्लो बैठक केन्द्रको भन्दा ढिला स्थगित भएपनि अब सरकारले छिट्टै अधिवेशन आह्वन गर्ने बताइन् । ‘अब हामी पनि बोलाउँछौं,’ उनले भनिन् ।
यद्यपि सरकारले बैठक ढाक्ने कुनै तयारी भने देखिँदैन । प्रदेश सचिवालयमा हालसम्म कुनै पनि विधेयक दर्ता नभएको प्रदेश सभाका प्रवक्ता प्रेम सुवेदीले बताए । सांसदहरु भने सरकारले बिजनेश दिन नसक्दा बैठक डाक्न ढिला भएको बताउँछन् । भन्छन्, ‘जनताका मागहरुलाई छिट्टो भन्दा छिट्टो सम्बोधन गर्नुपर्ने छ । सरकारले बैठक कहिले समय सीमा पुग्छ भनेर मिति कुरेर बसिरहेको छ,’ एक सांसदले भने ।
दोस्रो कार्यकालको यो समयमा प्रदेशमा सात विधेयक र एक नियमावली पारित भएका छ । संसदीय समितिबाट पनि बिउबिजन सम्बन्धी विधेयक पारित भएको सभापति फणीन्द्र देवकोटाले बताए । सभाको पहिलो अधिवेशनले चार र चौथो अधिवेशनले तीन विधेयकसँगै प्रदेश सभा सञ्चालनका लागि तयार गरिएको प्रदेश सभा नियमावली, २०८० समेत पारित गरिसेको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया