भावना बनिन् कौसी क्विन पोखरा

समाधान संवाददाता २०८० माघ २८ गते १२:१६

पोखरा ।
भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् ।

Advertisement

विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आवद्ध छिन् । उनले उपाधिसँगै १५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन् । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् ।

यस्तै पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएकी छिन् । उनीहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र र कप पुरस्कार स्वरूप प्रदान गरिएको छ । प्रतियोगितामा कौसी खेतीमा संलग्न १९ जना कौसी कृषकहरूले भाग लिएका थिए ।

Advertisement

यस्तै शनिबार नै भएको वडा स्तरीय कौसी बाली प्रतियोगितामा पोखरा ८ प्रथम भएको छ । वडा स्तरीय कृषि सञ्जालका बिचमा भएको उक्त प्रतियोगितामा कृषि सञ्जाल पोखरा ८ प्रथम भएको हो । उसले १० हजार पुरस्कार प्राप्त गरेको छ ।

कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका हुन्।

Advertisement

प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने बताए । पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौसी खेती गरिएको उनले बताए । यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको र अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

कृषकहरूको अर्थोपचार र कृषि उपजको बजार सुनिश्चितता सहित उनीहरूका समस्याहरू समाधानका सम्बन्धमा पोखरा महानगरपालिका गम्भीरताका साथ लागिरहेको उनले बताए । बाँदर नियन्त्रण राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बनेको उल्लेख गर्दै उनले बाँदरका कारण समस्या झेलिरहेका कृषकहरूलाई विशेष व्यवस्था सरकारको तर्फबाट हुने विश्वास दिलाए ।

कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै उहाँले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौसी र करेसाहरूमा समेत तरकारी लगाउन आह्वान गरे । महानगरले कृषकहरूलाई मल, बिउ र घाँस लगायतमा अनुदान र साझेदारी कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए ।

महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताइन् । क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृशहरूको भूमिका उल्लेखनीय रहने उनले बताइन् ।

महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले कौसी खेतीले स्वच्छ उत्पादन र स्वस्थ उपभोगमा जोड दिने बताए । वडा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा ९ का दीपेन्द्र मर्सानीले कौसी खेतीले महिला दिदीबहिनीहरूलाई तरकारीमा आत्मनिर्भरता र फोहोर व्यवस्थापनमा प्रोत्साहन मिलेको बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौसी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि यस प्रकारको कार्यक्रम गरिएको बताए । पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बिउ र तालिम लगायतका कार्यक्रमहरूमा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिएको उनले बताए ।

प्रतियोगिताको मुल्याङकन समितिमा कौसी खेती विज्ञ नारायण अधिकारी, कृषि विज्ञ लेखनाथ आचार्य, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ रहेका थिए। यस्तै कृषि सञ्जाल तर्फ बागवानी स्रोत केन्द्र मालेपाटनका प्रमुख गोविन्द कोइराला, कृषि विकास अधिकृत दामोदर अधिकारी र महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल रहेका थिए ।

कार्यक्रममा सयपत्री फुलको ७ हजार मालाको प्रतिगोता रु २० का दरले १ लाख ४० हजार उपलब्ध गराइएको छ । महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले कृषकहरूलाई सो समर्थन मूल्य प्रदान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया