पुम्दीकोटः नयाँ गन्तव्य

अहिले सर्वत्र अयोध्याको राम मन्दिरको चर्चा छ । जहाँ दिनहूँ २ लाख हाराहारीमा धार्मिक पर्यटक जाने गरेका छन् । यस्तो वातावरण बनाउन त्यहाँको प्रदेश सरकार, केन्द्र सरकार लागि परेका छन् । मन्दिर पनि धार्मिक पर्यटनको गन्तव्य बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण बन्न सक्यो । यही प्रसंगको कुरा चल्दा अहिले गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी बनाउने प्रसंग चलिरहँदा पोखराको पुम्दीभुम्दी स्थित भूमेश्वर महादेव मन्दिर प्रांगणमा हालै थपिएका सुमेरु पर्वतले पनि त्यत्तिकै चर्चा पाएको छ ।
करिब ४ करोड लागतमा बनेको सुमेरु पर्वतले पर्यटकलाई लोभ्याएको छ । यो भूमेश्वर शिव प्रतिमाका परिकल्पनाकार को थिए ? किन बनाए ? सबैका लागि कौतुहलको विषय बनेको प्रसंगमा संस्थापक अध्यक्ष चन्द्रकान्त बराल पनि चर्चित बनेका छन् । पर्यटकीय नगरी पोखरामा अहिले पर्यटकीय केन्द्र धमाधम थपिँदै छन् । पोखरा ११ काहुँडाँडामा निमार्णाधीन यशोधरा पार्क होस् या धर्मशिला बुद्धविहार, रामघाटमा बन्दै गरेको बौद्ध अर्घाै सदनको नयाँ गुम्बा । सराङकोटमा बन्दै गरेको केवलकार ।
पुर्खाले कुनै बेला बनाएका श्रीपशुपतिनाथको मन्दिर, स्वयंम्भुनाथ, भक्तपुरको पाँचतले मन्दिर, ललितपुरको कृष्ण मन्दिर, बुढानीलकण्ठ मन्दिर अहिले हाम्रो सभ्यता मात्र नभई पर्यटक लागि आर्कषणको केन्द्र पनि बनेका छन् । लाखौं संख्यामा पर्यटक नेपाल भित्रिने गर्दछन् । मलाई लाग्छ – अहिले हामीले यस क्षेत्रमा गरेको लगानी भविष्यका लागि सुन्दरतम् प्रतिफल हुन सक्छ । पोखरा पर्यटकीय स्थल भएकाले पनि झनै यस्ता लोभलाग्दा सम्पदा अनमोल सम्पदाका रुपमा महिमामयी भई दीर्घ कालसम्म रहिरहने छन् ।
पुम्दीकोटको समग्र विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना बुनिएको छ
यस्तो महान कार्यको नेतृत्व गर्ने चन्द्रकान्त बरालको जन्म वि.स. २०१२ पुस १५ गते शुक्रबार पोखराको पुम्दीभुम्दीमा भएको थियो । उनले आफ्नै गाँउको स्कुलमा अक्षराम्भ गरेका थिए भने छोरेपाटन माविबाट एसएलसी दिए । बाबु डिल्लीराम र आमा कलावतीका पुत्र चन्द्रकान्त सानै उमेरदेखि मेहनती र केही गर्नुपर्छ भन्ने स्वभावका थिए । उनले ०३६ सालबाट सानो स्केलबाट सुरु गरेको व्यवसायले अहिले विराट रूप धारण गरेको छ ।
उनी गरिमा विकास बैंकका अध्यक्षसमेत बने । बरालका हाल फेवा मिट प्रोडक्ट प्रालि लगायत थुप्रै व्यवसाय छन् । उनले पोखरा लायन्स क्लब फिस्टेल सिटीमा डाइरेक्टर, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष्य बनेर सामाजिक कार्यमा हात बढाए । उनी एलपी देवकोटा मावि व्यवस्थापन समितिका सदस्य पनि थिए । विभिन्न बाटो निर्माण समितिका अध्यक्ष भएर सामाजिक कार्यमा समेत रुचि राख्ने गरेका बरालको जीवनमा उतारचढाव पनि नआएको होईन । उनले सुरुका दिनमा व्यवसायमा लाग्दा निकै अप्ठायारा र असहज दिन पनि भोग्दै जानु पर्यो । व्यवसायमा निरन्तर घाटा लाग्दा पनि बकहिल्यै हिम्मत हारेनन् । उनी खरो रुपमा उत्रिए र सफलता हात पारे ।
पुम्दीकोट सुन्दर स्थल हो, जहाँ विश्वशान्ति स्तूप पनि छ । पुम्दीकोट समुद्री सतहबाट १ हजार ५ सय मिटर उचाइको यो ठाउँबाट पोखरा बजार, फेवाताल, उत्तरमा माछापुच्छे, अन्नपूर्ण, हिमश्रृंखला देखिन्छन् । परापूर्वकालदेखि नै यहाँको भूमिलाई भूमेश्वर देवता भनी पुज्ने चलन थियो । बरालले आफ्नै गाउँ ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनी योजना बनाए । अनि संकल्प गरे, विशाल महादेवको मूर्ति बनाएर धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने ।
सुरुवातमा १ सय ८ फिट अग्लो मूर्ति बनाउने योजना थियो तर विविध कारणवश मिलेन । अहिले ५१ फिट अग्लो विशाल महादेवको मूर्ती निर्माण भएको छ । मूर्ति निर्माणमा लाग्ने ठूलो रकम आफैंले धान्न नसक्ने भएपछि स्थानीयको समन्वयमा महायज्ञ गरी आर्थिक संकलन गरिएको थियो । २०७३ फागुन ३ गते बाट १४ गते सम्म भएको महायज्ञमा ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो ।
महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड उठ्न बाँकी छ । महायज्ञमा बराल स्वयंले एक करोडभन्दा बढी दान दिएका थिए । यो बृहत् योजनामा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा बेल्फेयर सोसाइटीका मुरलीधर रुंगटाका छोरा प्रदीपकुमार रुंगटाले १ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरे । मूर्तिदान गर्ने काठमाडौं निवासी कमल जैन हुन् । उनको मात्रै ३ करोड रुपैयाँ बढी सहयोग छ । पुम्दीकोटको समग्र विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना बुनिएको छ । त्यहाँ भ्युटावर पनि सम्पन्न भएको छ ।
गुरुयोजना अन्तर्गत १ सय ८ स्वर्गद्वारी सिंढी, रुंगाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, विश्व शान्ति स्तूप र भुमेश्वर महादेव मूर्तीस्थल जोडने मार्ग, पार्किङ स्थल लगायतका संरचना निर्माण समेटिएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवर्धन उपभोक्ता समिति अध्यक्ष बरालले जानकारी दिए । धार्मिक, पर्यटन तथा सांस्कृतिक प्रर्वद्धनको लागि यो योजना बुनिएको हो । विभिन्न संघ, संस्था, व्यक्तिहरुको सहयोग प्राप्त भएको छ । यसबाट पोखरामा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नुका साथै यहाँ घुम्न आउने पर्यटकको बसाइँ लम्बिने विश्वास लिइएको छ ।
गुरुयोजना अनुरुप हालसम्म ८० प्रतिशतभन्दा बढी कार्य सकिएको छ । पाँच वर्षे सो योजना कोभिडका कारण समयपछि धकेलिएको छ । लागत पनि बढ्ने अनुमान छ । गुरुयोजना अन्तर्गत सम्पूर्ण संरचना निर्माण पूरा हुन बाँकी नै छ ।२२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० वर्षका लागि नेपाल सरकारसँग लिजमा लिएको हो । पछिल्लोपटक महायज्ञ गरी उठाइएको पैसाले सुमेरु पर्वत निर्माण भएको छ । यो स्थलले पुम्दीभुम्दीलाई झनै लोभलाग्दो बनाएको छ । अयोध्याको राम मन्दिरमा झैं यो भूमेश्वर पनि भविष्यमा ठूलो पर्यटकीय केन्द्र बन्न जाने देखिन्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत यसको प्रवर्धनमा सघाउनु जरुरी छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया