कास्की २ सहित ४७ स्थानमा उपनिर्वाचन तयारी

समाधान संवाददाता
पोखरा
निर्वाचन आयोगले रिक्त कास्की क्षेत्र नम्बर २ सहित ४७ स्थानमा उपनिर्वाचनका लागि गृहकार्य सुरू गरेको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये हाल ४७ स्थान रिक्त छन् ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३८ गरी ४७ पद हाल रिक्त छ । प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते निधन भएपछि कास्की क्षेत्र नम्बर २ खाली छ । यसैगरी बागलुङ २ (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको मंसिर २६ गते उपचारको क्रममा निधन भएको थियो ।
रिक्त रहेका स्थानमा मतदाता नामावलीमा नाम लेखाउन योग्यता पुगेका तर नाम नभएकाहरुलाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको प्रवक्ता शंकरप्रसाद खरेलले बताए । ‘निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम रहनु अनिवार्य हुने भएकोले नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्र सहित आफ्नाे स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमध्ये आफुलाई पायक पर्ने कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन जानकारी गराइन्छ,’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आवमा उपनिर्वाचनका कामहरू सम्पन्न गरिनेछ भनी उल्लेख छ । प्रचलित कानुन बमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया