शान्ति निकुञ्जलाई वडाध्यक्ष कप फुटबल उपाधि

पोखरा ।
शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरविद्यालय स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उपाधि जितेको छ । ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटबल खेल मैदानमा आइतबार भएको फाइनल खेलमा टाइब्रेकरमा ५—४ ले शान्ति निकुञ्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधिसहित नगद ३० हजार हात पार्न सफल भएको हो ।
२५/२५ मिनेटको निर्धारित समयमा दुबैतर्फ एक/एक गोल भएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बालोदयका सुविन सारु मगरले प्रहार गरेको बल शान्ति निकुन्जका गोलरक्षक आशिक गुरुङले उत्कृष्ट बचाउ गर्दा शान्ति निकुन्जले जित हासिल गर्न सफल भएको हो । निर्धारित समयमा बालोदयका आविष्कार सुनार र शान्ति निकुञ्जका ईन्द्रबहादुर विकेले गोल गरेका हुन् । खेलमा शान्ति निकुञ्जका गोलरक्षक आशिक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
शान्ति निकुन्जका प्रशन्न थापा, विश्वास गुरुङ, ईन्द्रबहादुर विक, रुपक गाहा र आयुष गुरुङले पेनाल्टी सुटमा गोल गरे । बालोदयका अंकित केसी, श्रीजल मल्ल, संगम गुरुङ र अग्रिम पौडेलले पेनाल्टी सुटमा गोल गरेका गरे ।
तेस्रो स्थानका लागि भएको खेलमा छोरेपाटन माविले सडेन डेथमा फिस्टेल एकेडेमीमाथि जित हासिल गरेको छ । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल ७—६ को टाइब्रेकरको सडेन डेथबाट निर्णय भएको हो । यसैबिच, पोखरा १७ का जनप्रतिनिधि तथा कर्मचारी र आयोजक ड्यामसाइड क्लबको भेट्रान्स टिमबिचको मैत्रीपूर्ण फुटबल बराबारीमा टुंगिएको छ । दुवैतर्फबाट १–१ गोल भएको छ ।
प्रतियोगितामा उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुने टिम फिस्टेल एकेडेमीले ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको महासचिव राकेश श्रेष्ठले बताए । प्रतियोगितामा शान्ति निकुञ्जका प्रशन्न थापा उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा समान ४ गोल गरेका छोरेपाटनका भीमबहादुर जर्गा र शिशु कल्याण स्कुलका सोहन आले पुरस्कृत भए । प्रतियोगितामा शिशु निकेतन बोर्डिङ स्कुल अनुशासित टोली घोषित भयो । सबै विधाका विजेतालाई ट्रफी प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई पोखरा महानगरपालिका वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगी, गण्डकी प्रदेश प्रहरी गणका प्रहरी निरीक्षक सोमदास ढकाल, प्रहरी नायब निरीक्षक रुद्रप्रसाद अधिकारी, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, सहारा क्लब अध्यक्ष केशवराज बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, वडा सदस्यहरु बिक्रम गुरुङ र तारा सेवा परियार, वडा सचिव मञ्जु ढुंगाना, क्लवका अध्यक्ष प्रताप गुरुङ, सल्लाहकार कल्पना श्रेष्ठ, पूर्व अध्यक्ष पदम ढकाल, क्लबका जापान संयोजक रमेश गुरूङ, ड्याम साइड टोल विकास संस्थाका अध्यक्ष शोभा श्रेष्ठ फुलचुक क्लबका अध्यक्ष सुरज खवास, फूलचोक टोल विकास संस्थाका अध्यक्ष गुरुदक्त रेग्मी, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका अध्यक्ष आत्म तुलाचन लगायतले पुरस्कार वितरण गरे ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा १९ स्कुलको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया