शान्तिघाटमा आधुनिक शवदाह गृह

समाधान संवाददाता २०७६ असार २० गते १२:३९

समाधान संवाददाता
पोखरा

पोखराको शान्तिघाटमा वातावरणीय दृष्टिकोणले अनूकुल आधुनिक शवदाह गृह सञ्चालनमा आएको छ । एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरामै पहिलोपटक दाउराको प्रयोग हुने आधुनिक शवदाहस्थल स्थापना गरेको हो ।

शवदाह सञ्चालनमा ल्याउन पोखरा महानगरपालिकालाई बिहीबार हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतलाई एभरेस्ट बैंकका निर्देशक तथा सिएसआर समिति अध्यक्ष डा. बालगोपाल वैद्य, सदस्य डा. गणेश गुरुङ र डेपुटी जनरल म्यानेजर राजीव जैनले मेसिन हस्तान्तरण गरे ।

Advertisement

एभरेस्ट बैंकले सामाजिक क्षेत्रमा योगदान दिने हेतुले पोखरामा आधुनिक शवदाह गृह स्थापना गरेको बैंकका बजार प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

मेसिनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर जडान गरिएको छ । जसले शव नष्ट गर्दा उत्पन्न हुने तातोलाई कायम राखी कम समयमै शव जलाउन मद्दत गर्छ । परम्परागत रुपमा दाहसंस्कार गर्दा लाग्ने ३ सय केजी बढी दाउराको समेत मात्रा कम लाग्छ । यसमा १ सय किलो दाउराले एउटा शव जलाउन सकिने बैंकका बजार प्रमुख उप्रेतीले जानकारी दिए ।

Advertisement

‘एउटा शव पूर्ण रुपमा जल्न हुन १ देखि डेढ घन्टा समय लाग्छ,’ उनले भने, ‘यस किसिमको मेसिन प्रयोग भएको क्षेत्र भारतका विभिन्न ठाउँहरुमा निरीक्षण पश्चात्त यहाँ स्थापना गर्ने निधो गरिएको थियो ।’

यस प्रणालीमा चिसो स्क्रबर (ग्याँस)को माध्यमबाट धुँवा बाहिर निस्कन्छ । शवबाट सिर्जित वातावरणीय प्रतिकूल हुने किसिमको प्रदूषण वायूमण्डलमा पुग्नु अगावै मेसिनमा नियन्त्रण हुने उनले बताए ।

नेपाली परम्पराअनुसार शव जलाउँदा अन्तिममा अस्तु संकलन गरी नदीमा बगाउने भएकाले मेसिनमा अस्तु संकलन गर्ने छुट्टै व्यवस्था छ । मेसिनको उपयोगले वातावरणीय जोखिम न्यूनीकरणमा सहयोग पुग्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । बैंकले रचनात्मक रुपमा सामाजिक उत्तरदायित्व बहन गरेकोमा अन्य निजी क्षेत्रलाई राम्रो पाठ भएको सुनाए । सामाजिक, सांस्कृतिक मूल्य मान्यता कायम राख्दै समग्रात्मक समाजको रुपान्तरणमा सबैको योगदान हुनुपर्ने उनको भनाइ थियो ।

मेसिन हस्तान्तरणसँगै सञ्चालनको जिम्मेवारी पोखरा महानगरपालिकाले पाएको छ । महानगरका मेयर जिसीले मेसिन सञ्चालनका लागि छुट्टै जनशक्ति व्यवस्था गर्ने बताए । २ जनालाई हाल आवश्यक तालिम उपलब्ध गराइएको मेयर जिसीले जानकारी दिए ।

मेसिनको प्रयोग र यसका विशेषताबारे व्यापकरुपमा प्रचार गर्न असार महिना भित्र शवदाह गृहमा सेवा लिन चाहनेलाई निशुल्क उपलब्ध गराइने भएको छ । ‘महानगरबासीलाई कम्तिमा पनि शान्तिघाटमा यस्तो मेसिन छ भन्ने सन्देश पनि जान्छ,’ मेयर जिसीले भने, ‘यसको विशेषताको बारेमा पनि ज्ञान हुन्छ । कम समय, दाउराको बचतसँगै झन्झटरहित सेवाबाट लाभान्वित गराउन असार महिनाभरी निशुल्क उपलब्ध गराउँछौं । लाग्ने खर्च महानगरले व्यहोर्छ ।’

शवदाह गृह सञ्चालनका लागि महानगरले छुट्टै कार्यविधि बनाई व्यवस्थापन गर्ने मेयर जिसीले बताए । साउनदेखि न्यूनतम शुल्क लाग्ने छ । सञ्चालन पद्दति र खर्च व्यवस्थापन लगायत कार्यविधिले निर्धारण गरेअनुसारको हुने उनले जानकारी दिए ।

महानगरसँगको समन्वयमा एभरेष्ट बैंकले ६० लाख रुपैयाँको लागतमा उक्त शवदाह गृह स्थापना गरेको हो । कार्यक्रम अन्तर्गत नेपालका विभिन्न जिल्लामा यस्तै आधुनिक शवदाह गृह स्थापना गर्ने लक्ष्य लिइएको बैंकका बजार प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

शान्तिघाटको संरक्षणका लागि ०६१ सालदेखि नै शान्तिघाट विकास समितिले विभिन्न संरचनात्मक निर्माणको काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया