पोखरामा मनाइयो सोनाम ल्होछार

समाधान संवाददाता २०८० फागुन ९ गते १०:२९

पोखरा ।
तामाङ बौद्ध सेवा समिति संगम टोल, पोखराले मञ्जुश्री संवत् २८६० तथा डुक/मु पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

Advertisement


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुङामा दीप प्रज्वलन गरी कार्यक्रम सुरुआत गरे । मेयर आचार्यलाई समिति अध्यक्ष विष्णु योञ्जनले तामाङ (तागी) टोपी ओढाएर स्वागत गरिन् ।


मेयर आचार्यले तामाङ जातिले नेपालका आदिवासी जनजातिमध्ये छुट्टै इतिहास र अस्तित्व बोकेको बताए । आधुनिकतासँगै तामाङ जातिको मौलिक भाषा कमजोर हुँदै गएकोमा उनको चिन्ता छ । ‘कुनै पनि जातिको भाषा मासिनु भनेको उसको संस्कार संस्कृति अनि अस्तित्व समाप्त हुनु हो । जहाँ हजारौं वर्ष लागेर भाषा बनेको हुन्छ । भौतिक संरचनाको विकासमात्र विकास होइन,’ उनले भने, ‘कुनै समुदायको मौलिक भाषा, संस्कार र संस्कृतिको संरक्षण संवर्दन र समृद्ध बनाउन सक्नु भनेको अतुलनीय विकास हो।’

Advertisement


हरेक आदिवासी जनजाति समुदायले विशेषगरी मौलिक भाषा संरक्षण संवर्दनका लागि काम गर्नुपर्ने उनको भनाइ छ । यसमा सम्बन्धित संघ, संस्था र तिनका अगुवाले भूमिका खेल्नुपर्ने र महानगरको तर्फबाट साथ, सहयोग रहने उनले वाचा गरे ।


कार्यक्रममा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष भक्तबहादुर डुम्जन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ, कास्कीका पूर्व अध्यक्ष रामप्रसाद सम्देन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्की उपाध्यक्ष मीनमाया तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रीय पूर्व कावा अध्यक्ष कुमबहादुर योञ्जनले बोलेका थिए ।

Advertisement


कार्यक्रममा संस्थाका १० लामा गुरु, ४ बोम्बो समूह, उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० कलाकार साथै संस्थालाई आर्थिक, भौतिक र नैतिक रुपमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष विष्णु योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शेरजङ वाइवा, सचिव पवित्रा थोकरले पनि बोलेका थिए । सम्मान, सामूहिक भोज एवं विविध साँस्कृतिक कार्यक्रमसमेत सो अवसरमा भएको थियो ।

तपाईको प्रतिक्रिया