एभरेष्ट बैंकको सहयोगमा शौचालय

समाधान संवाददाता २०७६ असार २१ गते १६:३१

समाधान संवाददाता

फलेवास नगरपालिका १० कुर्घास्थित शारदा माध्यमिक विद्यालयमा ३ कोठे शौचालय निर्माण भएको छ । एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वतको विकट क्षेत्रमा पर्ने उक्त विद्यालयमा शौचालय निर्माण गरेको हो । विद्यालयमा वाटर डिस्टर मेसिन पनि उपलब्ध गराइएको छ । कुल ६ लाख लागतमा वाटर डिस्टर मेसिन र शौचालय निर्माण भएको प्रअ जीतबहादुर थापाले बताए ।

३ सय २२ जना विद्यार्थी र शिक्षकले २ कोठाको शौचालय प्रयोग गर्दा समस्या हुने गरेको प्रअ थापाले बताए । विगतमा शौचालयको अभावमा विद्यार्थीले पालो कुर्नुपर्ने, कहिले नजिकको वनमा छिमेकीका शौचालयमा जानुपर्ने बाध्यता भएको उनको भनाइ थियो ।

Advertisement

एभरेस्ट बैंकले सामाजिक क्षेत्रमा योगदान दिने हेतुले शारदा माविमा आधुनिक शौचालय निर्माण गरेको बैंकका बजार प्रमुख पुष्पराज उप्रेतीले बताए । उनले शौचालयसँगै स्नानकक्ष समेत व्यवस्थापन गरेको बताए ।

एभरेस्ट बैंकका निर्देशक तथा सिएसआर समिति अध्यक्ष डा. बालगोपाल वैद्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिएको बताए । छात्रालाई महिनावारी भएको बेला विद्यालय समयमा शौचालयको सहज सुविधा नहँुदा समस्या भएको महसुस गर्दै बैंकले शौचालय निर्माणमा सहयोग गरेको बताए ।

Advertisement

फलेवास १०का अध्यक्ष शालिग्राम शर्माले बैंकले वडाकै पुरानो विद्यालयमा शौचालय निर्माण गर्दा वडावासी हर्षित भएको सुनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा शौचालय तथा पानी शुद्धीकरण मेसिन हस्तान्तरण गरिएको एभरेस्ट बैंक कुस्मा शाखा शिव तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया