मनोरञ्जन क्षेत्रका बालिका बेचबिखनको जोखिममा

पोखरा ।
मानव बेचविखनबाट प्रभावितहरुको संस्था शक्ति समूह नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकालाई मानव बेचविखनबाट जोगाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । संस्थाका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले सो क्षेत्रमा काम गर्ने महिला तथा बालिका बेचविखनका दृष्टिले उच्च जोखिममा पर्ने समूह भएकाले सबै मिलेर जोगाउनुपर्ने बताइन् ।
शक्ति समूह नेपाल र जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार आयोजना गरेको मनोरञ्जन क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित सरोकार निकाय तथा रोजगारदाताको भूमिका विषयक अन्तक्र्रियामा उनले सो क्षेत्रमा कार्यरत महिला तथा बालिका मानव बेचविखनको दृष्टिले उच्च जोखिममा रहेको अध्ययन देखाएको जानकारी दिइन् ।
‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला, बालिकालाई बेचबिखन, यौनजन्य दुव्र्यवहार लगायतका जोखिम कम गर्न सरोकारवाला सचेत बन्नुपर्छ,’ उनले भनिन्, ‘कार्यथलोलाई सुरक्षित बनाउने सके मनोरञ्जन क्षेत्रको सबैलाई सुरक्षित बनाउन सकिन्छ ।’ उनले मनोरञ्जन क्षेत्रमा श्रम ऐन अनुसार बालिकालाई काममा लगाउन नहुने जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले डान्स तथा बार रेस्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लरका सञ्चालक त्यहाँ कार्यरत महिला तथा बालिकाको अभिभावक भएको बताए । उनले मनोरञ्जन क्षेत्रका केही सञ्चालकलाई प्रहरीले चलाएको मानव बेचविखनको मुद्दा चलाएको जानकारी दिए ।
उनले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि श्रमजीवी महिलाप्रति डान्स रेस्टुरेन्ट, बार जस्ता कार्यस्थलमा हुने यौनजन्य उत्पीडन नियन्त्रणका लागि २०६५ सालमा निर्देशिका जारी गरिएको उल्लेख गरे । उनले कानुन नबनेसम्मको लागि सर्वोच्चले जारी गरेको निर्देशिका मनोरञ्जन क्षेत्रका लागि संविधान भएको बताए ।
मनोरञ्जन क्षेत्र संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै उनले सबैले कानुनमा भएको व्यवस्था अनुसार पेशा व्यवशाय गर्न आग्रह गरे । उनले सबै मापदण्ड पालना गरे पेशा, व्यवसाय मर्यादित हुने चर्चा गरे । उनले यौनजन्य अपराधमा मेलमिलाप नगर्ने तथा शून्य सहनशीलताको नीति अवलम्बन गरिने जानकारी दिए ।
प्रहरी उपरीक्षक थापाले पूर्व समयमा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ अनुसार सबै मापदण्ड पूरा गरे व्यवसाय २४ घण्टा चलाउन समस्या नभएको बताए । १ महिना परीक्षणको लागि सञ्चालन गर्न सकिने उल्लेख गरे ।
श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले नेपालको श्रम ऐनले १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाउने व्यवस्था गरेको जानकारी दिए । उनले रातको समयमा काम गर्ने महिला श्रमिकलाई यातायातको सुविधा दिनुपर्ने बताए ।
उनले विभिन्न रोजगारीको क्षेत्रबाट ११ बालबालिकालाई उद्दार गरी रोजगारदातालाई जरिवाना तिराएको जनाए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका उपाध्यक्ष टंकराज ढकाल, एकीकृत समाजवादी ट्रेड युनियनका केन्द्रीय सदस्य तुलसी दाहाल, पोखरा लोक दोहोरी व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङ, पृथ्वी होटल व्यवसायी समितिका पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, गाउँ सहर दोहोरी साँझका सञ्चालक चन्द्रबहादुर गुरुङ लगायतले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकका समस्याबारे बोलेका थिए ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया