सिर्जनशीलमा बहुभाषिक काव्य गोष्ठी

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेश स्तरीय बहुभाषिक गोष्ठी शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रअरी २०२४) को सन्दर्भ पारेर प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न मातृभाषामा आधारित कार्यक्रम गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशभित्रका स्याङ्जा, तनहुँ, पर्वत , म्याग्दी, लमजुङ, नवलपुर, गोरखा, बागलुङ, र कास्की जिल्लाबाट मगर खाम, मगर ढुट, गुरुङ, छन्त्याल, हिन्दी, नेवारी, उर्दु, भोजपुरी, तामाङ, नेपाली, खस आर्य, संस्कृत भाषा तथा स्पेनिस र अंग्रेजी, भाषामा पनि सिर्जना सुनाइएको थियो ।
कार्यक्रममा पवित्रा तमु, तेजबहादुर तमु, हितमान छन्त्याल, टिकाराम वाग्ले, वीरेन्द्र थापा, फूलकुमारी थापा, दीपक समीप, अफजल अलि मिया, परशुराम बरुण, सिर्जना थापा, चन्द्रावती वाग्लेले आआफ्नो मातृभाषामा आधारित भई गीत, कविता, मुक्तक, गजल र हाइकु सुनाए ।
प्राडा. जगन्नाथ रेग्मी, कल्याण पन्त, सुरज पौडेल, डा. भूमिराज बस्ताकोटी, डा. ईश्वरमणि अधिकारी, डा. नवराज न्यौपाने, शिव त्रिपाठी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पुष्प पंज्ञानी, पार्थराज सुवेदी, स्पेनी भाषी आन्द्रे पेरेजलगायत २५ भन्दा बढी सर्जकहरूले सिर्जना सुनाएका थिए ।
गोष्ठीमा सहप्रा. डा. यमनाथ तिमिल्सिनाले गण्डकी प्रदेशका भाषाहरूको भौगोलिक तथा सामाजिक स्थिति विषयक अनुसन्धानपत्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेशमा नेपाली भाषा बोल्नेहरूको संख्या अग्र स्थानमा रहेको बताए । नेपाली भाषापछि मगर ढुट र गुरुङ भाषा बोल्नेहरूको संख्या बढी रहेकाले यी दुई भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सकिने आधार अघि सारे ।
अध्ययनमा उनले २०७८ सालको जनगणनाअनुसार गण्डकी प्रदेशमा भाषाको संख्या ८९ र यस प्रदेशको जनसंख्या २४६६४२७ जना रहेको स्पष्ट पारे । उनले मातृभाषाको विकासका लागि सम्बन्धित भाषामा कोश, व्याकरण र साहित्यको निर्माण गर्नुका साथै घर परिवारका सदस्यलाई बोल्न अनिवार्य गर्न आवश्यक रहेकोमा जोड दिए ।
भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले भाषा आयोगले नेपालका भाषाको पारिवारिक वर्गीकरण गरी तिनको नीतिगत र संरचनागत विकास गर्न लागेको बताए । उनले आगामी दिनमा यस प्रकारका कार्यक्रममा सहकार्य गरी भाषाको संरक्षण र विकास गर्न आवश्यक रहेको स्पष्ट पारे । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का बिखर्ची, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेललगायत विभिन्न क्षेत्रका ८० भन्दा बढी भाषाप्रेमी र साहित्यकारको उपस्थिति थियो ।
कार्यक्रममा डा. टीकाराम आचार्य आरुणिद्वारा लिखित समालोचना संग्रह पुनर्सिर्जना (२०८०) विमोचन भएको थियो भने भर्खरै विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव मदनप्रसाद बरालले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार सिर्जनात्मक, समालोचानात्मक र अनुसन्धानमूलक कार्य गर्दै आएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया