पोखरेली रंगमञ्चमा ‘रिफन्ड’ मञ्चन सुरु

समाधान संवाददाता २०८० फागुन १६ गते १३:२८

पोखरा ।
पोखराको गन्धर्व नाटकघरमा कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश नाटक ‘रिफन्ड’ मञ्चन सुरु गरिएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् ।

Advertisement


यसको निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गरेका हुन् । पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने नाटक बुकिङ सोमार्फत फागुन ३० गतेसम्म हेर्न पाइने निर्देशक परिवर्तनले जानकारी दिए । नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा २ शोमार्फत मञ्चन भएको छ ।


पहिलो सो पोखरा आदर्श माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरूले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे । दोस्रो शोमार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पे्ररित गर्ने उद्देश्यले यो शोमार्फत मञ्चन गरिएको थियो ।


मञ्चनपछि नाटकलाई थप परिपक्व र आकर्षक बनाउन गरिएको अन्तरक्रियामा सहभागीले सम्रग विषयवस्तु नाटक समूहले गरेको मेहनतको प्रशंसा गरेका थिए । नाटकले दिएको सन्देश, प्रस्तुति, विषयवस्तु, प्रयोग गरिएका सामग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आकर्षित बनाउनका लागि गर्न सकिने विषयको सुझाव दिएका थिए ।


कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै दर्शकले सुझाव दिएका थिए । विद्यार्थीका लागि उपयुक्त नाटक बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाव मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले जनाए । प्राप्त केही सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । नयाँ पुस्तामाझ नाटकलाई पु¥याउन पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटकप्रतिको आकर्षण बढाउन सफल भएको उनको भनाइ छ ।

Advertisement


यसअघि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएका छन् । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारे बहस गर्दै सुधार गर्न सघाउने उनको भनाइ छ ।


नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय छ । नाटकको प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनि संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा प्रकाश पराजुली छन् ।


बुकिङ सोमार्फत् बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुला शोमार्फत् भने फागुन २६ देखि ३० सम्म साँझ ५ बजे नाटक हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीका लागि २ सय र अन्यका लागि ३ सय र ५ सय शुल्क लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया