न्यायिक, प्रशासनिक प्रमुखलाई सम्मान

समाधान संवाददाता २०७६ असार २२ गते १७:०८

समाधान संवाददाता

पाल्पाली समाज पोखराले पाल्पा मुल घर भई पोखरामा कार्यरत न्यायिक, प्रशासनिक र नेपाल प्रहरीका उच्च ओहोदाका नवआगन्तुुक प्रमुखलाई शनिबार सम्मान गरेको छ ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल, उच्च सरकारी वकिलको कार्यालयका उपन्यायाधिवक्ता प्रेमप्रसाद पौडेल, इञ्जिनियर राजु नेपाललाई सम्मान गरेको हो ।

Advertisement

समारोहमा पाल्पाली बहुद्देश्यीय सहकारी संस्था लिमिटेड दर्ता भएको घोषणा समेत गरिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश बस्यालले ऐतिहासिक, धार्मिक सांस्कृतिक र पर्यटकीय हिसाबले अग्रणी पाल्पाको ख्याति संसारभरि भएको बताए । उनले पाल्पाको वीरता, पौरख, स्वाभिमान र शानलाई कहिल्यै बिर्सन नहुने उल्लेख गरे । पाल्पाको उत्तरी क्षेत्र विकासको दृष्टिले पिछडिएकाले त्यस क्षेत्रको समृद्धिका लागि पहल गर्ने उनले घोषणा गरे ।

प्रमुख सचिव बस्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति भएपछि गण्डकी प्रदेशको समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । जुन सुकै पेसा व्यवसायमा रहे तापनि पाल्पालीले इमान्दारीपूर्वक कर्तव्य र जिम्मेवारी पूरा गर्ने दाबी गर्दै प्रमुख सचिव बस्यालले पोखरामा बस्ने पाल्पालीलाई प्रशासनिक हिसाबले असहजता भए कानुनसम्मत ढंगले सहजीकरण गर्ने धारणा राखे ।

Advertisement

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव खनालले जन्मे हुर्केको ठाउँ सबैको लागि प्रिय हुने बताए । उनले सरकारी सेवाको क्रममा जहाँ पुगे पनि पाल्पालीले गरेको स्वागत, हार्दिकता र आत्मीयता उच्चतम रहेको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, सहकारीका संयोजक चिरञ्जीवी श्रेष्ठ, प्रथम उपाध्यक्ष रेशम थापा, महासचिव श्रीधर पराजुली, पूर्व अध्यक्ष जगदीश गौतम, सल्लाहकारहरु जनकपुकार मुननकर्मी र डा. हुमप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया