पाेखरामा खुँदोको माग धान्नै मुस्किल

राष्ट्रिय समाचार समिति (रासस) २०८० फागुन १८ गते ११:४३

गण्डकी ।
प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा ३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो ।

Advertisement


तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने प्रचलन नै थियो । पछिल्लो समयमा यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि यहाँको खुदोले अहिले पनि उत्तिकै चासो र चर्चा कमाएको छ ।


पोखरामा मात्रै नभएर यहाँको खुदोको माग राजधानी काठमाडौँसम्म पनि हुने गरेको छ । कास्की, तनहुँ आसपासका क्षेत्रमा जन्मथलो भई विभिन्न सेवा पेशा र व्यवसायका कारण राजधानी र अन्य शहरमा बस्दै आएका व्यक्तिले वर्षेनी यहीँबाट खरिद गरी खुदो लैजाने गरेको स्थानीय बताउँछन् ।


माग बढिरहे पनि कृषिप्रतिको अनिच्छा लगायतका कारण मागअनुसार पुर्‍याउन नसकिएको स्थानीय बताउँछन् । ढोडबेँसी क्षेत्रमा उखु खेती सुरु गरिएको यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको बुढापाकाको भनाइ छ ।


खुदो यस क्षेत्रको विशिष्ट पहिचान भएको र स्थानीय व्यावसायिक उखुखेतीमा आकर्षित बनेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए । सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ ।

Advertisement


नेपाली संस्कृति अनुसार पुसे पन्ध्रमा लट्टे खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ । उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको छ ।


कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेका बेला यहाँका स्थानीय उखुको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै संगठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरा पालन लगायतमा लगानी गरिँदै आएको छ ।


विगतमा ७० लाखदेखि एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । यस क्षेत्रमा २०५७ देखि भने नयाँ प्रविधिको प्रयोग गरी यन्त्रका माध्यमबाट उखु पेल्ने गरिएको छ । यस वर्ष माघ महिनामा नै यस क्षेत्रमा उत्पादित खुदो सकिएको स्थानीय तारानाथ रिजालले जानकारी दिए ।


खुदो खोज्नेको सङ्ख्या बढे पनि माग अनुसार आपूर्ति गर्न नसकिएको उनको भनाइ छ । पछिल्लो समय मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने गरेको देखिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा विगत दुई वर्षयता यहाँको खुदोलाई ब्रान्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको छ ।


एक वडा एक पकेट कार्यक्रम अन्तर्गत यहाँ उखु खेतीको विस्तारका लागि अघिल्लो वर्ष पोखरा महानगरपालिकाले १२ लाख उपलब्ध गराएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । यहाँ उत्पादित खुदोको यस वर्ष पनि प्रयोगशालामा परीक्षण गरिएकोमा गुणस्तरीय पाइएको उनले सुनाए ।


गत वर्ष हावा हुरीका कारण यहाँको उखु खेतीमा असर पारेको छ । ‘मालेपाटन ढोडबँेसीको खुदोको माग वर्षेनी बढ्दै गरेका अवस्थामा त्यसअनुरुप आपूर्ति गर्न धौधौ हुने गरेको छ‘, कडरिया भन्छन्, ‘स्थानीयको जागरुकता बढेमा महानगरपालिकाले गर्न सक्ने सहयोगका लागि हामी निरन्तर लागिरहेकै छौँ ।’

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको छ । उखुमा लाग्ने ढुसीजन्य रोग, हावाहुरीको समस्या आदि चुनौतीका रूपमा देखिएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया