
जोमसोम ।
वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त स्याउ खेतीको सम्भावना र यस सम्बन्धी विभिन्न प्रकारका तालिम अभ्यास लिन १५ जिल्लाका कृषि प्राविधिकहरु मुस्ताङमा आइपुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ (मनाङ) को आयोजनामा स्याउ उत्पादन हुने जिल्लाका कार्यरत कृषि प्राविधिकहरुलाई स्याउ खेती सिकाउन एकैसाथ मुस्ताङ ल्याइएको हो ।
परियोजना कार्यान्वयन ईकाइ लमजुङ (मनाङ)ले चालु आर्थिक वर्ष स्याउ खेती गरिएका १५ वटा जिल्लाका परियोजना ईकाइ (स्याउ जोनलाई) समेट्दै स्याउ सम्बन्धी तालिम दिन ५ लाख १० हजार विनियोजन गरेको थियो । परियोजना कार्यान्वयन ईकाइ लमजुङ (मनाङ) को स्याउ सम्बन्धी तालिम लिन १५ जिल्लाका १६ जना कृषि प्राविधिक मुस्ताङ आइपुगेका हुन् ।
अनुकुल भूगोल र हावापानीमा उत्पादन फलफूल सम्बन्धित स्थानबाटै तालिम दिन सके प्रभावकारी हुने भएकाले मुस्ताङमा स्याउ तथा ओखरको उन्नत प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिन मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिइएको हो । केन्द्रले सोमबारदेखि तीनदिनसम्म स्याउ खेती सम्बन्धी तालिम दिएको हो । तालिममा सोलुखुम्बु, हुम्ला,जुम्ला, दार्चुला, डोल्पा, जाजरकोट, रुकुम पूर्व, कालिकोट, कास्की, बाग्लुङ, मुस्ताङ, मनाङ, मुगु र बाजुरा जिल्लाका स्याउ जोनमा कार्यरत कृषि प्राविधिक सहभागी छन् ।
स्याउ तथा ओखर जोनमा कार्यरत विभिन्न जिल्लाका कृषि प्राविधिकलाई एकैसाथ शीतोष्ण फलफूलको आवश्यक तालिम तथा स्थलगत अवलोकन भ्रमण गराउन मुस्ताङ ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ लमजुङ (मनाङ) का कार्यालय प्रमुख अजय अधिकारीले जानकारी दिए ।
स्याउ तथा ओखर खेती सञ्चालन गरेका जोन सञ्चालन भएका कृषि प्राविधिकहरुलाई मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले अभ्यास तालिम दिएको हो । उनीहरुलाई केन्द्र प्रमुख पद्मनाथ आत्रेयले प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । तालिममा सहभागी कृषि प्राविधिकहरुलाई स्याउ तथा ओखर बगैंचा व्यवस्थापन, स्याउ काँटछाँट, विषादीको प्रयोग, सिँचाइ र स्याउ तथा ओखर बगैंचामा आवश्यक मजलज गर्ने तरिकाका विषयमा अभ्याससहितको तालिम दिइएको छ ।
समान भूगोल र समान हावापानी उत्पादन हुने शीतोष्ण फलफूल खेती गर्ने तरिका सिकाउन सम्बन्धित जिल्लाका कृषि प्राविधिकहरुलाई मुस्ताङ ल्याइएको परियोजना कार्यान्वयन ईकाइ मनाङकी कृषि अधिकृत सन्ध्या जोशीले उल्लेख गरिन् ।
स्याउ तथा ओखरको उन्नत प्रविधि सिकाइका लागि मुस्ताङ आएका कृषि प्राविधिकलाई मार्फा र जोमसोम आसपासका स्याउ बगैंचाहरुको स्थलगत अवलोकन गराइएको छ । पछिल्लो समय मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र देशकै मुख्य सिकाइ केन्द्र हब बन्दै गइरहेको छ । केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने स्याउ लगायत विभिन्न फलफूल तथा तरकारी खेतीबारे जिल्लाभित्र र जिल्ला बाहिरका किसानलाई निरन्तर तालिम दिँदै आइरहेको छ । यसअघि केन्द्रले ६ जिल्लाका अगुवा कृषकहरुलाई स्याउ बगैंचा व्यवस्थापन तथा स्याउ काँटछाँट सम्बन्धी तालिम दिएको थियो ।
हुम्ला जिल्ला स्याउ खेतीको प्रचुर सम्भावना भएर पनि उपयुक्त वैज्ञानिक तथा प्रविधिको प्रयोगको कमी रहेकाले मुस्ताङमा सिकेका कुरालाई त्यहाँ पु¥याउन तालिमले राम्रो शिक्षा प्रदान गरेको हुम्लाका स्याउ जोन प्रमुख रामदरिस रायले बताए ।
मुस्ताङमा आएका कृषि प्राविधिकहरुले कृषि यान्त्रिक उपरकण तथा औजारको प्रयोग गर्नेसमेत जानकारी लिएका छन् । स्याउ खेती गरिएका हिमाली तथा उच्चपहाडी जिल्लाका कृषि प्राविधिकहरुको अनुभव आदान प्रदान तथा आ—आफ्ना जिल्लामा स्याउ तथा ओखर खेती गर्ने तरिका र प्रविधिका बारेमा समेत जानकारी लिएका थिए ।
मुस्ताङमा स्याउ, खुर्पानी, आरु, आरुबखडा आदिको खेती हुन्छ । स्याउको राजधानी मुस्ताङमा यहाँका स्याउ किसान आत्मनिर्भर बन्दै जान थालेका छन् । मुस्ताङमा १४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये ५८५ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बगैचामा स्याउ उत्पादन हुने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया