
पोखरा ।
विद्यालयल प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्ति भन्नेबित्तिकै हेडसरको मुखाकृति आउँछ हाम्रो दिमागमा । विद्यालय प्रमुख भनेको हेडसर नै हो भन्ने आम मनोविज्ञान छ । प्रायजसो विद्यालयको नेतृत्व हेडसरले गरिरहेको देखिने हुँदा यस्तो धारणा बन्नु अस्वाभाविक पनि होइन तर, पोखरामा त्यस्ता सामुदायिक विद्यालय छन जहाँ विद्यालय प्रमुखको जिम्मेवारी कुशलतापूवर्क हेडम्यामहरुले सम्हालिरहेका छन् ।
२ वर्षदेखि माया थापाले नयाँबजारको नवप्रभात माध्यमिक विद्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् । २०५४ देखि शिक्षण पेसामा लागेकी स्याङजाकी थापा २०६४ मा सेवा प्रवेश गरेकी हुन् । केही समय उनले सहप्रध्यानाध्यापक भएर पनि काम गरिन् ।
उनी भन्छिन्, ‘विद्यार्थीलाई जसरी पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु नै सबैको सोचाइ भएकाले सहकर्मीबाट साथ र सहयोग दिनुभएको छ । म टिमवर्कमा विश्वास गर्छु यसबाट नै विद्यालयलाई राम्रो बनाउन सकिन्छ ।’ मेरो श्रीमान् पनि भरतपोखरीस्थित कालिका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हुनुहुन्छ । एउटै क्षेत्र एउटै काम भएकाले उहाँको सामीप्यता र सहयोगले नेतृत्व गर्न सहज भएको छ ।’
शिक्षक, व्यवस्थापन समिति र अभिभावक भएर त्रिकोणात्मक अन्तरक्रिया गर्न सकेमा शिक्षामा सुधार आउने उनको तर्क छ । शिक्षकहरुलाई नीति नियम भित्र बाध्नु भन्दा आफ्नो कर्तव्य र जिम्मेवारी स्मरण गराउन सकेमा बढि प्रभावकारी रहने प्रध्यानाध्यापक थापाको बुझाइ छ ।
पोखराका अन्य विद्यालयको तुलनामा नवप्रभात मावि संवेदनशील मानिन्छ । विद्यालयमा पढ्ने अधिकांश बालबालिका मजदुर परिवारबाट छन् । उनीहरुमा पढाइको भन्दा पनि छाक कसरी टार्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।
‘विद्यार्थीलाई टिकाउनै गाह्रो छ, विद्यालयमा जम्मा २५० जना विद्यार्थी छन् । अभिभावकलाई पनि सरकारले जागीरको व्यवस्था गर्न सकेमा विद्यार्थीलाई हुने थियो । थापाले भनिन्, स्थानीय तहले पनि सामुदायिक विद्यालयलको प्रवद्र्धनमा सहयोग गर्नुपर्छ ।’
पोखरा २२ मा रहेको महेश्वरी माध्यमिक विद्यालयको प्रध्यानाध्यापक पदमा कुलदेवी बराल छिन् । सानैदेखि शिक्षक बन्ने सपना देखेकि बराल लगभग ३० वर्षदेखि यही विद्यालयमै पढाइरहेकी छिन् भने साढे ६ वर्षदेखि प्रअको जिम्मेवारीमा छिन् ।
समुदायको आग्रहमै उनले यो विद्यालयमा पढाउन थालेकी हुन् । विद्यालयको अवस्था सुधार गर्न विद्यालयको समस्या, विद्यार्थी र अभिभावकको मनसाय बुझेर अघि बढेको बरालले बताइन् । शैक्षिक नीति बालमैत्री हुनुपर्ने उनको धारणा छ । बच्चालाई उसको रुची अनुसारको काम गर्न दिएर गर र सिक विधिबाट अध्यापन गराउँदा राम्रो नतिजा ल्याउन सकिने प्रध्यानाध्यापक बरालले उल्लेख गरिन् ।
उनी भन्छिन्, ‘मलाई पढाउने शिक्षकसँगै मैले १९ वर्ष सहकार्य गरे । मैले ७ वर्ष जति सहप्रअ भएर काम गरे त्यसबेला मलाई पढाएको सर म भन्दा सानो पोस्टमा हुँदा असजिलो महसुुस भएको थियो । तर म आज यहाँ सम्म आइपुग्न शिवकुमार पौडेल सरको पनि सहयोग छ ।’ मास्टरसम्मको अध्ययन गरेकी उनी सामाजिक शिक्षा पढाउँछिन् । विद्यार्थीलाई स्वस्थ र निशुल्क खाजाको व्यवस्था पनि गरिएको उनले जानकारी दिइन् ।
१४ सय विद्यार्थी अध्ययनरत त्रिभुवन शान्ति माविको प्रअको जिम्मेवारी ०७९ देखि सोमतकुमारी लामिछानेको काँधमा छ । २०४९ सालदेखि यहि काम गरेको भएर प्रअको रुपमा अभिभावकको विश्वास जित्न सहज भएको उनले सुनाइन् ।
सफल हुन लैंगिकताले फरक नपार्ने उनको ठम्याइ छ । ‘महिला पुरुषभन्दा कम हुँदैनन् महिला पुरुष बराबर हुन् । आँट लगनशीलता धैर्यले सफल भइन्छ । मौका पाएमा महिलाले पनि गर्न सक्छन्,’ उनले भनिन् । परिवारको रोजाइमा शिक्षाशास्त्र पढे पनि अहिले शिक्षक बन्न पाएकोमा गर्व लाग्ने प्रध्यानाध्यापक लामिछानेले सुनाइन् ।
सहकर्मीको सहयोग, अभिभावकको प्रतिक्रिया र विद्यार्थीको हँसिलो मुहारले काममा थप उर्जा मिल्ने लामिछाने बताउँछिन् । ‘अभिभावक, शिक्षक, व्यवस्थापन समितिको संयुक्त सहकार्यमा मात्र उत्कृष्ट नतिजा आउन सम्भव छ,’ लामिछानेले भनिन्, ‘सामुदायिक विद्यालय निजी भन्दा कम छैनन्, एसइई र प्लस टुमा राम्रो नतिजा ल्याएका छौं ।’
विद्यालय र प्रअ (मावितर्फ)
विद्यालयको नाम प्रअको नाम
नवप्रभात मावि पोखरा ९, माया थापा
आर्वा विजय मावि पोखरा १३, पद्मादेवी बराल
शहीद स्मृति मावि पोखरा १४, कल्पना चिलुवाल
महेश्वरी मावि पोखरा २२, कुलदेवी बराल
सिर्जना बहिरा मावि पोखरा २६, अनिता सिग्देल
त्रिभुवन शान्ति मावि पोखरा ३०, सोमतकुमारी लामिछाने
विद्यालय र प्रअ (आवितर्फ)
विद्यालयको नाम प्रअको नाम
रत्न आवि पोखरा १, सीता थापा
धर्मस्थली आवि पोखरा ५, बदनकुमारी शर्मा
अन्नपूर्ण आवि पोखरा ६, विना आचार्य
सहारा आवि पोखरा ९, लोचना अधिकारी
सिद्धार्थ आवि पोखरा १३, अम्बिका बराल
सिमला आवि पोखरा १३, हरिमाया बराल
विजय आवि पोखरा १३, शान्ति विक
भयरेश्वरी आवि पोखरा १४, मीनाकुमारी कार्की
चण्डिका आवि पोखरा १६, सृजना शर्मा
दिव्यज्योति आवि पोखरा १६, लक्ष्मी खनाल
निर्मल आवि पोखरा १६, नन्दकुमारी गुरुङ
नारायणी आवि पोखरा १६, ज्ञानुमाया खवास
सीता आवि पोखरा १६, देवीकुमारी आचार्य
प्रभात आवि पोखरा १८, पार्वती कोइराला
सिर्जना आवि पोखरा १८, अनिता सुवेदी पौडेल
अकला आवि पोखरा १९, सीताकुमारी काफ्ले
शिवेश्वर आवि पोखरा १९, पार्वती बाँस्तोला
देवी आवि पोखरा २०, पार्वती लामिछाने
हिमालय आवि पोखरा २५ , टेकमाया आचार्य
अमरज्योति आवि पोखरा २६, सत्यदेवी बराल
कल्याण आवि पोखरा २७, सरस्वती भण्डारी
सिद्ध आवि पोखरा २८, नेत्रकुमारी पराजुली
नव दुर्गा आवि पोखरा २९, नीरा श्रीस थापा
नवज्योति सतनदुर्गा पोखरा ३०, रमा पौडेल
शहीद स्मारक आवि पोखरा ३०, चन्द्रकला केसी
जलाधार आवि पोखरा ३१, मीना शर्मा तिवारी
सीता आवि पोखरा पोखरा ३२, मनु खनाल
ब्रम्हज्योति आवि पोखरा ३३, अप्सरा आचार्य
चिरशान्ति आवि पोखरा ३३, शुभद्रा शाह
नवज्योति आवि पोखरा ३३, शारदा गैरे
ज्ञानज्योति आवि पोखरा ३३, मीना विक

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया