गण्डकी प्रदेशमा फुटबल संघले परिषदमा पायो मान्यता

समाधान संवाददाता २०८० चैत २ गते १६:३९

पोखरा ।
गण्डकी प्रदेशमा फुटबल संघले प्रदेश खेलकुद परिषदमा आधिकारिक मान्यता पाएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता भए पछि संघले मान्यता पाएको हो । गत जेठमा गोरखामा सम्पन्न भेलाले दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमिति गठन गरिएको भए पनि ९ महिना ढिलो परिषदमा दर्ता भएको हो ।

Advertisement


प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता गरिएको कार्यसमिति १३ सदस्यीय छ भने रिक्त एक कार्यसमिति सदस्यमा परिषदले मनोनयन गर्नेछ । संघको उपाध्यक्षद्वयमा ताराबहादुर गुरुङ र जयराज भण्डारी, महासचिवमा विनोद गुरुङ, कोषाध्यक्षमा डिलकुमारी घिमिरे, सहमहासचिवमा सुमन गुरुङ र सदस्यहरुमा सन्दिप पन्थी, नृपेन्द्र श्रेष्ठ, कुसुमराज बराल, भिजन श्रेष्ठ, थमबहादुर गुरुङ, अमृत भण्डारी र विष्णुप्रसाद न्यौपाने छन् ।


ढिलो गरी प्रदेश फुटबल संघ परिषदमा दर्ता भएपछि सदस्य सचिव शर्माले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राष्ट्रिय खेलकुद ऐनले व्यवस्था अनुसार कुनै पनि केन्द्रीय खेलकुद संघले आधिकारिकता पाउन ४ वटा प्रदेशमा अनिवार्य दर्ता हुनपर्ने प्रावधान छ । ७ प्रदेशमध्ये गण्डकी प्रदेश फुटबल संघ गण्डकीमा दर्ता हुने पहिलो फुटबल संघ समेत् हो ।’

Advertisement


कुनै पनि खेल संघले राष्ट्रिय मान्यता पाउन अनिवार्य प्रदेश खेलकुदमा दर्ता हुनुपर्ने ऐनमा स्पष्ट ब्यख्या समेत ऐनले गरेकोले फुटबलको संस्थागत विकास, दिगोपनका लागि गण्डकी फुटबल संघले पहिलो पाइला चालेको सदस्य सचिव शर्माले बताए । ‘हामी खुसी छौं । परिषदमा फुटबल संघ दर्ता भएको छ । यसले प्रदेशको फुटबलको विकासमा परिषदसँग हातेमालो गर्दै अघि बढ्नेछ,’ उनले भने ।


फागुन २१ गते बसेको परिषदको कार्यकारी समितिको बैठक तथा ११ वटै जिल्लाका अध्यक्ष र जिल्लाका कार्यालय प्रमुखहरुको समीक्षा गोष्ठीबाट जिल्ला खेलकुद विकास समिति अन्तर्गत जिल्ला खेल संघ र र परिषद अन्तर्गत प्रदेशमा गठन भएका खेल संघहरुलाई चैतभित्र अनिवार्य दर्ता, नवीकरण र साधारणसभा गर्ने आह्वान गरेको छ ।

Advertisement


बैठकले दर्ता र नवीकरण नगरेमा खेल संघहरुको लेटर प्याड र छाप प्रयोग गर्न नदिने भएको छ । कुनै खेल संघले दर्ता, नवीकरण र साधारणसभा बिना लेटरप्याड र छाप प्रयोग गरेमा कानुनी कारबाही गर्ने सदस्य सचिव शर्माले जनाए ।


‘परिषदले खेलकुदमा संस्थागत दिगोपना र शुसासनलाई अभियानको रुपमा स्थापित गर्न खेल संघहरुलाई दर्ता, नवीकरण र साधारणसभा गर्ने कार्यलाई अघि बढाएको छौं,’ उनले भने, ‘एन्फा गण्डकी पनि सोही अभियान अन्तर्गत दर्ता भएको हो । प्रदेश खेलकुद परिषदले प्रदेशस्तरीय खेल संघहरु, जिल्ला खेल संघहरु, स्थानीय क्लब र संघसंस्थाहरुलाई नवीकरण र दर्ता गर्नेसँगै एकीकृत रुपमा वार्षिक कार्ययोजना क्यालेन्डर बनाएर अघि बढ्न समेत आह्वान गरेको छौं ।’


यो अभियानले प्रदेशमा एकीकृत रुपमा खेलकुद विकासको मुलधारमा ल्याउन सहयोग पुग्ने संगै प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, खेलसंघहरुमा सुशासन, पारदर्शिता सार्वजनिक जवाफदेहिता संस्थागत विकासमा टेवा पुग्नुका साथ–साथै खेलकुद संघ संस्थातर्फ आममानसमा विश्वास पैदा भई खेल संस्कृति र खेल संस्कार, खेलकुदले विकासले गति लिने सदस्य सचिव शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया