विकल्पको खोजीमा सामूहिक टिमुर खेती

समाधान संवाददाता २०७६ असार २४ गते १३:५०

सुशील सुवेदी
वालिङ

हातमा कृषि औजार, काँधमा मल र अनुहारमा उत्साह देखिन्थ्यो गाउँबासीको । गल्याङ नगरपालिका १० लाखुडाँडाका गाउँबासीको एउटै लक्ष्य छ , कसरी उत्पादनसँग जोडिने । केही महिना अघिसम्म बाँदर, मृग र दुम्सी लगायत जनावरले खेती नष्ट पारिदिएपछि चिन्तित किसानले बाली जोगाउन नसकेपछि खेतीयोग्य जमीन बाँझै छाडेका थिए । अधिकांश त गाउँ नै छाडेर तराई झरे ।

परम्परागत र जनावरले दुख दिने खेतीपाती छाडेर फरक शैलीको कृषिकर्ममा लागेपछि गाउँबासीको मुहारमा मुस्कान थपिएको छ । दैनिकजसो यहाँका गाउँलेहरु समूहमा कृषि उद्यमसँग जोडिन थालेका छन् । यहाँका स्थानीय अनावश्यक बाँझो जमीनलाई सदुपयोग गर्न थालेका छन् । गल्याङ १० लाई फलफूलको वडा बनाउने लक्ष्य अनुसार ५० घरधुरीलाई सामूहिक टिमुर खेतीमा लगाइएको छ ।

Advertisement

वडाले पहिलो चरणमा कागती, दोस्रो चरणमा कुरिलो र तेस्रो चरणमा टिमुर खेती गराउँदै बाँझो तथा अनुत्पादक जमीनको सदुपयोग गरेको छ भने रोजगारीसमेत सिर्जना गरेको छ । सरकारले बाँझो जमीन नराख्ने नीति गाउँपालिकाले अघि बढाएपछि गल्याङ १० लाखुडाँडाका किसान बाँझो र अनुत्पादक जमीनलाई उत्पादनमुखी बनाउने अभियानमा जुटेका हुन् ।

करिब २ हेक्टर अनुत्पादक जमीन सदुपयोग गर्दै २५ सय टिमुरका बिरुवा लाखुडाँडामा रोपिएको हो । ५० घरधुरी देवीभञ्याङ टिमुर व्यावसायिक कृषि समूहमा आबद्ध छन् ।

Advertisement

‘बाँदर, मृग, दुम्सी लगायत जनावरले खेतीमा क्षति पुर्‍याएपछि बाँझो छोडिएका जमीनमा टिमुर लगाउँदा भने क्षति नहुनेमा ढुक्क छौँ,’ लीला सारु भन्छिन् , ‘पहिला खेती जोगाउन भनेर कुर्नुपथ्र्यो, अब आम्दानी कहिले हुन्छ भन्ने प्रतीक्षामा छौं ।’

टिमुर खेतीका लागि स्थानीय नर्सरीमा बिरुवा उत्पादन, वितरण तथा आधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

बढ्दो माग र आयुर्वेदिक हिसाबले पनि महत्व बोकेको यो फलले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो मूूल्य पाउने टिमुर खेती समूहका लक्ष्मण शाहीको विश्वास छ । ‘पहिलो वर्ष ७०० टिमुरको बिरुवा परीक्षणका लागि लगाइएको थियो, टिमुरको सम्भावना भेट्यौँ र सबै समूहमा आबद्ध भएर अघि बढ्यौँ,’ शाहीले भने ।

वडा अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले वडालाई अर्गानिक कृषि वडाको रुपमा विकास गर्न कृषिका क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

युवा पलायन रोक्न सामूहिक टिमुर खेती, सामूहिक कागती खेती, कुरिलो खेतीलाई समेत वडाले प्राथामिकता दिएको पंगेनीको भनाइ छ । पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई होमस्टे निर्माण, अर्गानिक तरकारी गाउँमै उत्पादन तथा कुरिलो, टिमुर खेती अवलोकन गर्ने पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले बताए ।

अन्य वडाभन्दा भौगोलिक विकटता रहेको वडा नं. १० मा स्थानीयलाई कृषिबाटै समृद्ध बनाउने योजना रहेको वडाध्यक्ष पंगेनीको भनाइ थियो । ‘भूगोलले जे मागेको छ, त्यही काम पहिचान गर्न सके विकास हुन्छ, हामीले पकवादीमा सामूहिक कागती खेती गरेका छौँ, यहाँ टिमुर र ३० हजार कुरिलोका बिरुवा लगाएका छौं,’ पंगेनीले भने, ‘टिमुर र कुरिलो उत्पादन गर्दै कृषि पर्यटनको हब बनाउने संकल्पको साथ अघि बढेका छौँ ।’

तपाईको प्रतिक्रिया