प्रधानमन्त्रीले गरे पत्रकार दीपेन्द्र र मरणोपरान्त त्रिभुवनलाई पुरस्कृत

समाधान संवाददाता २०८० चैत ४ गते १०:४९

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराका पत्रकार दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई पुरस्कार प्रदान गरेका छन् । स्वर्गीय त्रिभुवन पौडेलकी आमा र उनकी जीवनसाथी प्रतिभालाई प्रधानमन्त्री दाहालले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

दयाशंकर स्मृति पुरस्कार नेपाल पत्रकार महासंघले पत्रकार श्रेष्ठ र पौडेललाई प्रदान गर्ने निर्णय गरेको थियो । आइतबार पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले श्रेष्ठ र पौडेल परिवारलाई १/१ लाख रुपैयाँ राशि नगद र सम्मानपत्र प्रदान गरे ।

Advertisement

पुरस्कार प्रदानपछि बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने सुनाए ।

Advertisement

“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

तपाईको प्रतिक्रिया