सेरेनिटी हाउसलाई भलिबलको उपाधि

पोखरा ।
सेरेनिटी हाउस लागुऔषध तथा मद्यपान उपचार केन्द्रले अन्तर लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा कम्युनिटी सपोर्ट ग्रुपलाई सोझो ३ सेटमा हराएर सेरेनिटी हाउसले उपाधि जितेको सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
जितसँगै सेरेनेटी हाउसले २० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उपविजेता कम्युनिटी सपोर्ट ग्रुपले १० हजार नगद, पदक र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा हाम्रो परिवार नेपाल तेस्रो भएर ५ हजार नगद, पदक र प्रमाणपत्र हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा हाम्रो परिवार नेपालले गेटवे फाउन्डेसनलाई २–१ सेटले हराएको हो ।
कास्कीमा रहेका लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा उपचार गरिरहेका युवालाई खेलमार्फत उत्पेरणा जगाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले खेलकुद प्रतियोगिताले सुधार केन्द्रमा उपचार गरेका लागुऔषध प्रयोगकर्ताको मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने बताए । उनले भलिबल प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । उनले लागुऔषध दुव्र्यसनको समयमा उपचार तथा परामर्श गर्न सके पुरानो लयमा फर्काउन सकिने उल्लेख गरे ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतम, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका महासचिव घनश्याम तिम्सिनाले प्रतियोगिताका बारेमा बोलेका थिए ।
पोखरा महानगररपालिका ९ शान्तिवन स्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको प्रांगणमा प्रतियोगिता गरिएको छ । कास्कीमा रहेका लागुऔषध तथा पुनस्र्थापना केन्द्रहरुको समन्वयमा भएको प्रतियोगितामा १० समूहको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया