भारतको गर्मी छल्न पोखरामा !

समाधान संवाददाता २०७६ असार २४ गते १३:५६

विकास रोकामगर
पोखरा

भारतको उत्तर प्रदेश, आगराका केबी कुमार करिब २ हप्ताअघि नेपाल आएका थिए । ७ जना साथीसहित नेपाल आएका उनी पोखरा, मुक्तिनाथ र काठमाडौं पुगेर फर्किए । अघिल्लो साता आगरामा भेटिएका उनले नेपाल सुन्दर देश भएको र त्यसमा पनि पोखरा अझैं सुन्दर लागेको प्रतिक्रिया दिए ।

पतनाका कमलेशले भारतको गर्मी छल्न पोखरा नजिकको सुन्दर ठाउँ भएको बताए । उनले भने, ‘यहाँ (भारत) मा यति धेरै गर्मी छ । तर पोखरा पुग्दा एकदमै शीतल महसुस भयो । विश्वास गर्नै गाह्रो लाग्ने !’ कमलेश आफ्नो परिवारसहित नेपाल घुम्न आएका थिए । नेपालको धार्मिक क्षेत्र र हरियालीसहितको शीतल वातावरणले मनै हरेको उनको भनाइ थियो ।

Advertisement

छिमेकी देश भारतबाट यतिबेला ठूलो संख्यामा पर्यटक पोखरा भित्रिने गरेका छन् । भारतमा यतिबेला चर्को गर्मी हुने भएकाले त्यसलाई छल्न उनीहरुले भरपर्दो गन्तव्य पोखरा बनाएका हुन् । विशेषगरी गुजरात, चेन्नाई, हरिद्वार, पटना, लखनउबाट भारतीय पर्यटक नेपाल आउने पर्यटन व्यवसायी बताउँछन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अनुसार सन् २०१८ मा २ लाख बढी भारतीय पर्यटक पोखरा आएका थिए । तर, यो संख्या हर्वामार्ग प्रयोग गरेर नेपाल आउने भारतीय पर्यटकको मात्रै हो । ‘हामीसँग हवाइमार्ग प्रयोग गरेर आउने पर्यटकका मात्रै तथ्यांक छ,’ पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले भने, ‘खुल्ला नाका भएकाले स्थलमार्ग भएर नाका हुँदै आउने भारतीय पर्यटकको तथ्यांक राख्न सकेका छैनौं ।’ उनले गण्डकी प्रदेशले भने हवाई, बस, खैरेनी र राम्दी नाकाबाट पोखरा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरिसकेको जानकारी दिए ।

Advertisement

गतवर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइसकेपछि भने भारतीय पर्यटक संख्या ह्वात्तै बढेको लामिछाने बताउँछन् । ‘मोदी नेपाल आउनुभन्दा अघि भारतीय पर्यटकको नेपालप्रतिको आकर्षण अलि कम थियो । तर मोदी आइसकेपछि दक्षिण र उत्तर भारतीय पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ,’ उनले भने ।

पोखरा आउने मासिक ३६ हजार पर्यटकमा सरदर २५ हजार पर्यटक भारतीय नै हुने पर्यटन बोर्ड तथ्यांक छ । ‘हवाइमार्ग प्रयोग गरेर पनि ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउँछन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक भारतीय नै छन्,’ लामिछानेले भने ।

पोखरामा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति भए पनि पश्चिमाञ्चल होटल संघ (हान)ले ८ वर्षदेखि ‘चलिए पोखरा’ अभियान चलाइरहेको छ । अभियान सन् २०१२ देखि सुरुआत गरिएको संघ अध्यक्ष विकल तुलाचन सुनाउँछन् । अभियानले पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलो भूमिका निभाइरहेको उनको दाबी छ ।

‘अभियान सुरु नगर्दा मुम्बई, कलकता र दक्षिण भारतबाट केही पर्यटक आउँथे । त्यसबेला प्राय उनीहरु हनिमुन मनाउनमात्रै आउँथे,’ तुलाचनले भने, ‘अभियानमार्फत हामीले नजिकका सीमावर्ती क्षेत्रलाई महत्व दिएर प्रचारप्रसार गरेपछि भने अन्य ठाउँबाट पनि भारतीय पर्यटक बढिरहेका छन् ।’ उनले अभियान सुरु हुनुभन्दा पहिले वार्षिक ३०÷४० हजारमात्रै भारतीय पर्यटक आउने गरेकोमा अहिले मासिक रुपमै त्यतिकै संख्यामा नेपाल आउन थालेको दाबी गरे ।

केही वर्षअघिसम्म भारतीय पर्यटक स्वागत गर्न मौसम नै पर्खिनु परेको तर हाल सडक सुधार र प्रचारप्रसार बढी हुन थालेपछि भने सधैं जसो भारतीय पर्यटक आइरहेको व्यवसायीको अनुभव छ । भारतीय पर्यटकका लागि नेपाल मार्चदेखि जुन र अगस्तदेखि डिसेम्बर महिना उत्तम मौसम मानिने गरिएको छ ।

मार्चदेखि जुनमा भारतीय पर्यटक गर्मी छल्न अत्याधिक नेपाल आउने र अगस्तदेखि डिसेम्बरमा धार्मिक तीर्थयात्रा तथा वातावरणीय सुन्दरता नियाल्न आउने पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष हरि शर्मा गैह्रेको अनुभव छ । ‘नेपालमा साहसिक खेलको मजा लिन, धार्मिक तीर्थयात्रा गर्न र पारिवारिक घुमघाम तथा हनिमुन मनाउन ३ थरि भारतीय पर्यटक बढी आउने गर्छन्,’ उनले भने ।

पोखरामा भारतीय पर्यटक आआफ्ना गच्छेअनुसार बास बस्ने हुँदा सबै प्रकारका होटललाई पनि फाइदा पुग्ने संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘भारतका विभिन्न ठाउँबाट पर्यटक आउँछन् । ती पर्यटकले साधारण गेस्ट हाउसदेखि तारे होटलसम्म बास बस्छन् । त्यसले गर्दा व्यापारिक रुपमा पनि अन्य देशको तुलनामा उनीहरुले बढी खर्च गर्ने गरेका छन्,’ उनले भने ।

भारतीय पर्यटक नेपालमा सरदर ५ दिन र पोखरामा मात्रै २ दिन बिताउने गरेको व्यवसायीको भनाइ छ । उनीहरुले सरदर दैनिक रुपमा ३० देखि ४० डलरसम्म खर्च गर्ने गरेका छन् । भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् । ‘मुक्तिनाथसम्म पुग्ने पर्यटक धार्मिक पर्यटक हुन्,’ होटल संघका महासचिव गणेश पहारीले भने, ‘उनीहरु सबै ग्रपमै आउँछन् । व्यक्तिगत रुपमा आउने एकदमै कम आउँछन् ।’

‘न बाटोमा राम्रो रेस्टुरेन्ट छ न चर्पी छ, किन आउने नेपाल ?’
केही दिन अघि नेपाल पर्यटन बार्डको सहकार्यमा पश्चिमाञ्चल होटल संघ ‘चलिए पोखरा’को आठौं संस्करण लिएर भारतका पटना, लखनउ, आगरा, रक्सौलसम्म पुग्यो । कार्यक्रममा अधिकांश भारतीयले पोखरामा शौचालयको ठूलो समस्या रहेको अनुभव सुनाए ।

‘नेपालको राजधानी काठामाडौंमै हामीले अपमानमात्रै भोग्छौं । न बाटोमा राम्रो भारतीय खाजा खाने रेस्टुरेन्ट हुन्छ न शौचालय हुन्छ,’ कार्यक्रममा सहभागी १ जनाले प्रश्न राखे, ‘भौतिक पूर्वाधारको विकास पनि छैन हामी किन नेपाल आउने ?’ उनले नेपाल आउँदा भारतीय नागरिकलाई हेयको दृष्टिले हेरिने गरेको अनुभव सुनाए ।

कार्यक्रममा उनीहरुले नेपाल भारत नाकामा पनि अत्यन्तै झन्झटिलो प्रक्रिया रहेको र त्यसलाई अनलाइन प्रक्रियामा लैजान सुझाए । ‘नाकामै ३÷४ घन्टा रोकिनुपर्छ । त्यसमा पनि हामीले पूरा गर्नुपर्ने प्रक्रिया एकदमै झन्झटिलो हुन्छ,’ कार्यक्रममा सहभागी एकले भने । नेपालमा पथ प्रर्दशक तथा ट्याक्सी चालकले ठग्ने गरेको गुनासो समेत उनीहरुले सुनाएका थिए ।

नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । त्यसै अभियानमार्फत सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष र सन् २०२० लाई छिमेकी राष्ट्र भ्रमण वर्ष घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया