सेती किनारमा खुला व्यायामशाला

समाधान संवाददाता २०८० चैत ७ गते १२:१४

दमौली ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुंगा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो ।

Advertisement


शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए । व्यायामशाला नगरवासीले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।


वडाध्यक्ष थापाले भने, ‘नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।’ व्यायामशालामा बालबालिका, युवा र वृद्ध सबैखालका मानिसलाई उपयुक्त हुनेगरी संरचना बनाइएको छ ।
‘मर्निङ वाक’ र अवलोकनका लागि पुगेका सर्वसाधारणले व्यायामशालामा विभिन्न खेल तथा व्यायामका कार्यमा सहभागी हुन सक्ने शवदाह गृहका अध्यक्ष बाबुराम कार्कीले सुनाए । उनी भन्छन्, ‘गर्नाले मानिसलाई स्फूर्ति राख्न सहयोग पु¥याउँछ । यसको उपयोगका लागि सबैलाई आह्वान गरेका छौँ ।’

Advertisement


जिम हाउसमा पैसा तिर्नपर्ने भन्दै खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय यहाँ आउनेको संख्या बढ्न थालेको कार्कीले जनाए । विस्तारै यस ठाउँप्रति सबैको आकर्षण बढ्ने उनको विश्वास छ । उनी भन्छन्, ‘आमनागरिकलाई स्वास्थ्यप्रति सचेतना दिलाउन तथा व्यायामशालालाई सहयोगी बनाउन अन्य आकर्षित योजना पनि बनाएर अगाडि बढ्ने छौँ ।’
व्यायामशालाको छेउमा शुक्लापार्क रहेकाले यस ठाउँ आन्तरिक पर्यटकका दृष्टिले पनि उपयुक्त हुने कार्कीको भनाइ छ । सेती नदी किनारमै ढुंगाबाट शिवको मूर्ति बनाइएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको उनले जनाए ।


व्यायामशालामा विभिन्न किसिमका व्यायाम गर्न सकिने १२ उपकरण जडान गरिएको शवदाह गृहका सचिव हरिराज अधिकारीले जानकारी दिए । १० लाख लागतमा व्यायामशाला निर्माण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाले ८ लाख सहयोग गरेको र गृहका तर्फ २ लाख लगानी भएको छ ।

Advertisement


शवदाह गृह उपभोक्ता समितिले पछिल्लो पाँच वर्षमा यस ठाउँको स्वरुप परिवर्तन गरेको छ । यस ठाउँलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल बनाउन गुरुयोजना बनाइएको छ । गुरुयोजनामा फनपार्क निर्माणको लक्ष्यसमेत समेटिएको सचिव अधिकारीले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकाले पनि खुला व्यायामशाला निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले वडा नं १ स्थित गुम्बा बगैँचामा खुला व्यायामशाला निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकावासीलाई स्वस्थ राख्न सहयोग पुर्‍याउने उद्देश्यले खुल्ला व्यायामशालाको अवधारणा ल्याइएको उल्लेख गरे । १० लाखको लागतमा व्यायामशाला निर्माण गरिएको हो ।


‘व्यायाम गर्नका लागि जिम जान धेरैलाई समस्या हुने भएकाले खुलारुपमा व्यायाम गर्ने सामग्री राखेका छौँ’, अध्यक्ष चुमानले भने, ‘यस व्यवस्थाले स्नानीयलाई स्वस्थ राख्न केही मद्दत गर्ने विश्वास लिएका छौँ ।’ यस ठाउँबाट एक पटकमा १२ जनाले व्यायाम गर्न सक्नेछन् । अरु बेला पनि बिहानको समयमा हिँडडुल गर्ने यस ठाउँमा सात किसिमका व्यायामका उपकरण राखिएको अध्यक्ष चुमानले बताए ।

तपाईको प्रतिक्रिया