पर्यटन बोर्डमा पर्यटन राजधानी ‘बाइकट’

समाधान संवाददाता २०८० चैत १६ गते ११:११

पोखरा ।
सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा मनोनयन गरेको छ । तर पोखराका कोही पनि परेका छैनन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट तीन सदस्य मनोनयन गरिएको हो ।

Advertisement


ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जानकारी गराएको छ । यीमध्ये भण्डारीको घरठेगानाचाहिँ कास्की हो । तर उनको कास्कीमा पर्यटन व्यवसाय नरहेको बरु काठमाडौं रहेको पोखरेली व्यवसायी बताउँछन् ।


पोखराका पर्यटन व्यवसायीले बोर्डमा पोखरालाई कर्मथलो बनाएका व्यवसायीमध्येबाट नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग मागसमेत गरेका थिए । चैत ४ गते प्रधानमन्त्री दाहालले नै पोखरालाई पर्यटन राजधानी घोषणा गरेका थिए । सोही मौकामा पर्यटनकर्मीहरुले ज्ञापनपत्र बुझाउँदै पर्यटन बोर्ड सदस्यमा पोखराबाट पनि प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका थिए ।

Advertisement


पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ पर्यटन राजधानीलाई बाइकट गरिएको गुनासो गरे । ‘यसबाट पर्यटन राजधानीलाई बेवास्ता गरिएको पुष्टि हुन्छ,’ उनले भने, ‘बोर्डले बजेटमा पनि पोखरालाई अन्याय गर्दै आएको छ, बोर्ड सदस्यमा पनि सरकारले नै पोखरालाई प्रतिनिधित्व नगराउनु दुखद हो ।’

Advertisement

तपाईको प्रतिक्रिया