खेलकुदको बहुआयमिक पक्ष आत्मसात गरौंः श्रेष्ठ

पोखरा ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयामिक पक्षलाई सबैले आत्मसात गर्नुपर्ने बताएका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा बिहीबार विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीमा श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्बिनी नेपाली खेलकुदको जग समेत भएकोले उक्त दिवस लुम्बिनीमा मनाउन लागेको जनाए ।
‘बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको खेलकुदको इतिहासलाई समेत जोड्दै लुम्बिनीबाट शान्तिको सन्देशलाई हामी विश्वसामु पु¥याउन ओलम्पिक कमिटी अघि बढेको छ,’ उनले भने । खेलाडीका लागि अन्तिम सपना ओलम्पिक खेल रहेको र त्यसका लागि खेलाडी योग्य भएरमात्र नहुने बताउँदै अध्यक्ष श्रेष्ठले खेलाडीले ओलम्पिकमा पदक ल्याउन समाजको समेत उत्तिकै हात हुने सुनाए ।
‘खेलाडीले समाजमा जुन रुपमा पाउनुपर्ने अधिकार हो, त्यो नपाउँदा ओलम्पिक सम्मको यात्रा गर्न सम्भव छैन’, उनले थपे, ‘खेलकुद मैदानमात्र भएर हुँदैन । हामी खेलमात्र खेल्ने मानसिकताबाट माथि उठ्न जरुरी छ भने एक खेलाडी अघि बढ्न समाजपनि जोडिएको हुन्छ । विकसित समाज भएको ठाउँका खेलाडी अब्बल हुन्छन् ।’
ओलम्पिकका मूल्य, मान्यतालाई स्वीकार नगरेसम्म खेलकुद विकासअघि नबढ्ने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकार र ओलम्पिक बिचको तादम्यता नमिल्दा कुनै बेला नेपाली खेलकुदले गतिरोध समेत व्यर्होनु परेको जनाए । अझै पनि खेलकुद अनुत्पादक क्षेत्र हो भन्ने विषयबाट अझै नेपाली समाजबाहिर निस्कन नसकेको जनाउँदै अध्यक्ष श्रेष्ठले समाजले खेलकुदका बहुआयामिक पक्षहरुको आत्मसात गर्दै यसका सबल पक्षहरु उजगार गर्न सके खेलकुदले फड्को मार्न सक्ने तर्क गरे ।
उनले भने, ‘ओलम्पिक जागरण र अभियान हो । यसले समाजमा सभ्यता र सचेतनातर्फ अघि बढाउन सहयोग पुग्छ । त्यसैले यो अभियानमा अघि बढ्न म यो अवसरमा आह्वान गर्छु ।’ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले खेलकुदमा लगानीमा प्राथमिकता दिएको बताए । पोखरा पर्यटकीय राजधानी भएकाले खेल पर्यटन यसको हाँगाको रुपमा रहेको उनको भनाइ छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले खेलाडीका लागि ओलम्पिक नै सबैभन्दा ठूलो उपाधि रहेकाले खेल क्षेत्रको नेतृत्वमा राजनीतिकरण नगरी खेलाडीनै हुनुपर्नेमा जोड दिए । उनले खेलकुदमा हुने राजनीतिले खेलाडीमाथि ठूलो अन्याय भइरहेको समेत उल्लेख गरे ।
नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेज गुरुङले प्राचीन ओलम्पिक र वर्तमान नेपाली खेलकुदको अवस्था, अन्तर्राष्ट्रिय खेलकुद दिवसको महत्वका बारेमा जानकारी गराउँदै विश्वमा शान्ति ल्याउन खेलकुद दिवसको भूमिका महत्वपूर्ण रहेको बताए ।
मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलकुदमा लगानी कम भएको गुनासो गरे । उनले ओलम्पिकसम्मको यात्रा धेरै कठिन रहेकाले यसमा राज्यको लगानी सँगै खेलकर्मीमा निस्वार्थ भावनाको आवश्यकता रहेको बताए ।
तपाईको प्रतिक्रिया