अहिले लेनिनवादको सान्दर्भिकता

रामराज रेग्मी २०८० चैत २५ गते १२:१२

सन् २०२४ लेनिन शतवार्षिकी वर्ष हो । विश्वभरका माक्र्सवादका सच्चा अनुयायीले यो वर्षभरि विभिन्न कार्यक्रमका साथ ‘लेनिन शताब्दी स्मृति’ मनाइरहेछन् । माक्र्सले आफ्नो समयमा पुँजीवादी समाज व्यवस्थाबारे गहिरो अध्ययन गरी जुन देशमा पुँजीवाद विकासको चरम अवस्थामा पुग्छ, त्यहाँ त्यसले चर्को आर्थिक संकटको सामना गर्दछ र त्यस संकटबाट उत्पन्न पुँजी र श्रमबीचको अन्तर्विरोधका कारण सर्वहारा वर्गले क्रान्तिद्वारा त्यस व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्थाको ढोका खोल्छ भनेका थिए ।

Advertisement


तर माक्र्सको निधनपछि पुँजीवाद माक्र्स –एङ्गेल्सले भनेको दिशातर्फ सोझिएन । लगानीका संयुक्त गठबन्धन निर्माण गर्दै त्यो प्रतिस्पर्धात्मक अवस्थाबाट एकाधिकारको अवस्थामा पदार्पण गर्‍यो । सिन्डिकेट, ट्रस्ट, कन्सर्न र कर्पोरेसन जस्ता ठूला पुँजीपतिहरूका गठबन्धन बनाई साना एवं मझौला पुँजीपतिलाई टाठ पल्टाउँदै त्यो केन्द्रीकरणतर्फ लम्कियो । उन्नाइसौँ शताब्दीको आखिरतिर उक्त एकाधिकार पुँजीवाद साम्राज्यवादमा परिणत भयो । अब राष्ट्रिभित्रको दोहनका साथै साम्राज्यवादले उपनिवेश अथवा परिधिमा रहेका देशमा पुँजी निर्यात गर्न थाल्यो ।


त्यस प्रकारको बदलिँदो परिस्थितिलाई लिएर एकथरी मौकावादीले माक्र्सवादको औचित्य समाप्त भयो भनी होहल्ला मच्चाउन थाले । त्यो वास्तवमा निकै पेचिलो संकटको घडी थियो । त्यतिखेर लेनिन, रोजा लक्जेम्बर्ग, हिल्फरडिङ र बुखारिन जस्ता माक्र्सवादी विद्वान्हरू माक्र्सवादको समय सुहाउँदो व्याख्या गरी मौकावादीहरूका भनाइलाई निस्तेज बनाउन अघि सरे । तिनीहरू सबैका व्याख्याले माक्र्सवादको प्रतिरक्षा गरे पनि लेनिनको व्याख्या बढी उपयुक्त र समयसान्दर्भिक हुन गयो ।


माक्र्सवादका आधारभूत प्रस्थापनामा टेकेर उनले समय र परिस्थिति अनुसार थप व्याख्या गरी समृद्ध र जीवन्त बनाए । उनले कसरी प्रतिस्पर्धात्मक अवस्थामा रहेको पुँजीवाद एकाधिकारी संस्थामा परिणत भयो भनी सटिक व्याख्या, विश्लेषण प्रस्तुत गरे । माक्र्सकै भनाइलाई परिपूर्ण गर्दै लेनिनले पुँजीवादको सार बदलिएको छैन र यो मरणशील अवस्थामै रहेको छ भन्दै साम्राज्यवादलाई ‘पुँजीवादको चरम अवस्था’का रूपमा व्याख्या गरे ।


पुँजीवादले साम्राज्यवादी रूप ग्रहण गरेर बलवान् हुनाका कारण एउटा देशको सर्वहारा क्रान्तिले मात्र त्यसलाई पल्टाउन सक्दैन र संसारभर एकैचोटि क्रान्ति गर्नका लागि विभिन्न देशका सर्वहारा पार्टी संयमसाथ प्रतिक्षारत रहनु पर्दछ भन्ने ट्राटस्कीको लाइनमाथि प्रहार गर्दै लेनिनले के कुरा अघि सारे भने साम्राज्यवादले असमान विकास गरेकाले सबै ठाउँमा त्यसको प्रभाव समान छैन र जहाँ त्यसको प्रभाव कमजोर छ, त्यहाँ त्यसमाथि प्रहार गरी त्यसको तागतलाई निस्तेज बनाउन सकिन्छ । यो लेनिनको एउटा देशमा मात्र पनि क्रान्ति सम्भव छ भन्ने अवधारणा हो । लेनिनको यो निस्कर्षलाई सोभियत संघको क्रान्तिले प्रमाणित पनि गरिदियो ।

Advertisement


सोभियत संघमा लेनिनवादकै जगमा रुसमा पहिलो व्यवस्थित सर्वहारा वर्गको राजसत्ताको स्थापना भयो । लेनिनकै समयमा विश्वमा कम्युनिस्ट पार्टी अस्तित्वमा आयो । लेनिनले नै क्रान्तिलाई सफलतामा डोहो¥याउन कार्यनीति र रणनीतिअघि सारे । रुसमा बोल्सेभिक क्रान्तिको विजयपछि त्यसको छाल संसारका कुना कुनामा फैलियो । विशेषगरी सोभियत संघमा स्टालिनको नेतृत्वमा भएको समाजवादी प्रगतिले विश्वका जनतालाई आकर्षित ग¥यो । समाजवादले नै अद्भूत विकास गर्ने रहेछ भन्ने कुरा विभिन्न देशका जनताको मनमा प¥यो ।


सोभियत क्रान्ति र क्रान्तिपछि भएको विकासको आलोकमा पूर्वी युरोपका धेरै देशमा समाजवाद स्थापना भयो । चीन, कोरिया, भियतनाम, मंगोलिया आदि देशमा एकपछि कम्युनिष्ट पार्टीहरू सत्तासीन हुन पुगे । विश्वको दुई तिहाइ भूभाग समाजवादको प्रभावमा आयो । त्यतिमात्र होइन, उपनिवेशहरूमा स्वतन्त्रता संग्रामको थालनी भयो र साम्राज्यवाद धेरै देशबाट लघारियो ।
पुँजी निर्यात गर्ने बजार नपाएपछि त्यसको अर्थतन्त्र धरापमा प¥यो । अक्टोवर क्रान्तिपूर्व मजदूर आन्दोलनले टाउको उठाउँदा निर्ममतापूर्वक दबाउने बुर्जुवा सत्ताधारीहरू भयभित हुन थाले र धमाधम मजदूर किसानका माग पूरा गर्न लागे ।
माक्र्सवादको जगमा एउटा कोशेढुंगा थपियो र अब माक्र्सवादलाई माक्र्सवादमात्र नभएर माक्र्सवाद–लेनिनवाद भयो । रुसी क्रान्तिको सन्दर्भमा लेनिनले सिद्धान्त र विचारको प्रतिपादन गरेको भएता पनि लेनिनवाद सोभियत संघको कम्युनिष्ट पार्टीको मात्र नभएर माक्र्सवादी जगत्को विचारधारा बन्यो ।

विश्वमा साम्राज्यवादी शक्तिमाझ भीषण टकराव र युद्धको सम्भावना बढेर गएको छ र यस अर्थमा साम्राज्यवादको पतन धेरै टाढाको विषय देखिन्न


दुःखको कुरा, त्यस अनुकूल परिस्थितिलाई सोभियत संघको कम्युनिष्ट पार्टीले लामो समयसम्म टिकाउन सकेन । बीसौँ शताब्दीको अन्त्यतिरस्टालीनको निधनपछि खु्रश्चोभ जस्ता पुँजीवादी पुनरुत्थान चाहने मौकावादीको हातमा राजसत्ता गयो । तिनीहरूले शान्तिपूर्ण संक्रमण र शान्तिपूर्ण सह–अस्तित्वका आडमा संसदीय व्यवस्थाबाट पनि समाजवाद हासिल गर्न सकिन्छ भनी माक्र्सवाद–लेनिनवादमा संशोधनको अभ्यास सुरु गरे । सोभियत सङ्घको कम्युनिस्ट पार्टी त्यसपछि आवरणमा समाजवादी देखिए पनि क्रमश बुर्जुवामा रूपान्तरित भयो । त्यस कथित कम्युनिष्ट मोडलको अभ्यास लेनिनवादको अभ्यास थिएन । एक दिन त्यसको पतन अनिवार्य थियो, गोर्भाचोभको समयमा आएर त्यसको अवसान भयो ।


त्यो अवसान लेनिनवादको पराजयसँग सम्बन्धित थिएन । तर पुँजीवादका हिमायतीले त्यसलाई लेनिनवादको औचित्य समाप्त भएको घटनाका रूपमा व्याख्या गरे । तिनीहरूले लेनिनका सालिक ढाल्नेसम्मका दुष्कर्म गरे । माक्र्सवादी शिविरका बाटो बदल्नका लागि मौका ढुकेर बसेकोहरूका लागि यो एक मसला बन्यो । तिनीहरूले लेनिनवादका आधारभूत प्रस्थापनामाथि प्रश्न उठाए र क्रान्तिका लागि नयाँ व्याख्याको आवश्यकता छ भन्ने विचारअघि सारे । त्यस्तोे चिन्तन नेपालमा समेत भित्रियो ।


२०४६ को राजनीतिक परिवर्तनपछि संसदीय अभ्यासमा हाम फाल्ने निहूँ खोजेर बसेकाहरूले सर्वहारा अधिनायकत्वको सवालमाथि नै प्रश्न उठाए र बहुलवाद र बहुदलीय व्यवस्थाको आड लिन पुगे । त्यसकै सिको गरी अहिले यतिखेर नेपालीे वामपन्थी आन्दोलनमा एक थरी कम्युनिष्ट नामधारीहरूले लेनिनद्वारा प्रतिपादित बल प्रयोगको सिद्धान्त, संगठनात्मक अनुशासन र जनवादी केन्द्रियता जस्ता विषय अधिनायकत्वतर्फको यात्रा भएकाले तिनकै कारण समाजवाद अलोकप्रिय भएको हो भन्ने खालका प्रचारबाजी गरेका छन् ।


हाम्रो छलफल लेनिनवादको औचित्य समाप्त भएको हो कि वर्तमान परिवेशमा सान्दर्भिक नै छ भन्ने विषयमा केन्द्रित छ । यसको प्रमुख उद्देश्य लेनिनवादमाथि फैलाइएका भ्रमहरू निवारण गर्ने नै हो । सबैभन्दा पहिले लेनिनको साम्राज्यवादसम्बन्धी विश्लेषणलाई नै लिऊँ । निश्चय नै आज साम्राज्यवादले लेनिनको समयको भन्दा भिन्नै आकार र रङ ग्रहण गरेको छ । लेनिनको समयमा साम्राज्यवादीहरू उपनिवेश हत्याउने हेतुले प्रतिस्पर्धा र छिनाझपटीको अवस्थामा थिए । साम्राज्यवादीबीचको त्यही आपसी अन्तर्विरोध र सर्वहारा क्रान्तिको धक्काबाट साम्राज्यवाद पतनको दिशातर्फ उन्मुख हुन्छ भनी लेनिनले भनेका थिए ।
आज साम्राज्यवादीहरू युद्धको विभीषिकाबाट आफ्नो तागतमा ठूलो क्षति पुगेको महसुस गर्दै उपनिवेशलाई नवउपनिवेशमा परिणत गर्दै त्यहाँको श्रम, स्रोत र साधनको मिलिजुली दोहन गर्दै छन् । साम्राज्यवादले भूमण्डलीकृत रूप धारण गरेको छ । संयुक्त लगानीमा चलेका बहुराष्ट्रिय निगमहरूले वित्तीय पुँजीलाई चारैतिर फैलाइरहेका छन् ।


साम्राज्यवादको यस प्रकारको बदलिँदो स्वरूपलाई हाउगुजी बनाउँदै के भन्न थालिएको छ भने लेनिनको व्याख्याले अब बदलिँदो परिस्थितिमा काम दिँदैन । यो भनाइ यस अर्थमा खण्डित छ कि भूमण्डलीकरण पुँजीवादको विकास कदापि होइन, शोषणको विस्तारमात्र हो । भूमण्डलीय साम्राज्यवादको पनि लाभको स्रोत आखिर मजदूरकै शोषण हो र मजदूरले उत्पादन गरेको अतिरिक्त मूल्य हो । भूमण्डलीकृत साम्राज्यवादले असमान विकासलाई नै बढावा दिएको छ । बहुराष्ट्रिय निगमहरूमार्फत् मिलिजुली शोषण गरे पनि सबै ठाउँमा यो अवस्था समान छैन । जहाँ साम्राज्यवादी ग्रन्थी कमजोर हुन्छ, त्यहाँ नै प्रहार गरी सर्वहारा वर्गले विजय प्राप्त गर्न सक्छ भन्ने लेनिनको विश्लेषण समयसापेक्ष छ ।


साम्राज्यवाद लेनिन कालको प्रतिस्पर्धात्मक अवस्थामाबाट भूमण्डीकृत अवस्थामा बदलिए पनि आन्तरिक र वाह्य अन्तर्विरोधमा बढी फसेको छ । हिजो साम्राज्यवादको अन्तर्विरोध उपनिवेशका जनतासँग मात्र थियो । आफ्नो देशका मजदूरलाई त्यसले शोषणको एक हिस्सा उपलब्ध गराएर हात लिएको थियो । तर यतिखेर भूमण्डकृत अवस्थामा साम्राज्यवादले आफ्नो घरेलु बजारलाई उपेक्षा गरेर आफ्नै देशका जनतालाई बढी बरवादीतर्फ धकेल्दै छ ।


पुँजीपतिलाई आफ्नो देशमा भन्दा परिधिका नवऔपनिवेशिक राष्ट्रमा लगानी गर्दा बढी फाइदा हुन्छ । आफ्नो देशमा ट्रेड युनियनसँगको सम्झौताका आधारमा बढी ज्याला दिनुपर्दा नाफाको मात्रा कम हुन्छ । यिनै कारणले गर्दा साम्राज्यवादले बाहिरी लगानी बढाएको छ । यसो गर्दा स्वयं साम्राज्यवादी देशका जनता बेरोजगार भई त्यस्को प्रतिरोधमा उत्रन थालेका छन् । साम्राज्यवादविरुद्ध मजदूरहरूको बलियो अन्तराष्ट्रिय मोर्चा बन्ने सम्भावना प्रबल बनेर गएको छ ।


साम्राज्यवादी शक्तिहरूले बहुराष्ट्रिय निगमको माध्यमबाट जतिसुकै मिलिजुली शोषण गरे पनि तीबीचको फाटो चर्कँदै गएको छ । बाहिरफेर मिलेको देखिए पनि नाफा बटुल्ने र पुँजी संकलन गर्न उनीहरुबिच घाँटी रेट्ने प्रतिस्पर्धा छ । तिनीहरूको भूमण्डलीकरणको गति एकैनासको पनि छैन । मुनाफा आर्जनमा अहिलेसम्म अमेरिका नै अग्रपङ्तिमा छ । आफ्नो शक्ति विस्तार गर्न त्यसले सामरिक शक्तिको सहारा लिएको छ र विभिन्न देशमा फौजी अखडा राखेको छ । तर अमेरिकी प्रभुत्वलाई चुनौती दिने अर्को रुसी धुरी बलवान् हुँदै गएकाले साम्राज्यवादी शक्तिको पतन अब धेरै टाढाको विषय छैन ।


अमेरिकी साम्राज्यवादले पुँजीको लगानी उत्पादन क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा गर्न थालेकाले त्यसले दिनानुदिन घाटाको सामना गर्नुपरिरहेछ । त्यसले वित्तीय पुँजीलाई शेयर बजार, घरजग्गा कारोबार जस्ता अनुत्पादक क्षेत्रमा लगाउन थालेकाले त्यसको अर्थतन्त्र जोखिमको गोलचक्करमा फसेको छ । हिजो दम्भ प्रदर्शन गर्ने अमेरिका आज रक्षात्मक अवस्थातर्फ जाँदै छ । अमेरिकाको युरोपसँगको गठबन्धन खुकुलो हुँदै गएको छ । विश्वमा साम्राज्यवादी शक्तिमाझ भीषण टकराव र युद्धको सम्भावना बढेर गएको छ र यस अर्थमा साम्राज्यवादको पतन धेरै टाढाको विषय देखिन्न । यो मरणशील पुँजीवाद हो भन्ने लेनिनको विश्लेषण समय सान्दर्भिक नै छ ।


अब लेनिनवादको अर्को महत्वपूर्ण विषयवस्तु संठनात्मक सिद्धान्ततर्फ ध्यान केन्द्रित गरौँ । बोल्सेभिक क्रान्तिपूर्व रुसमा कस्तो खालको पार्टीको दरकार पर्दछ भन्ने कुरा रुसी सामाजिक जनवादी मजदूर पार्टीभित्र चर्को बहसको विषय बनेको थियो । मार्तोभ लगायतका नेता पार्टीलाई आर्थिक सहयोग गर्ने र मजदूर आन्दोलनप्रति सहानुभूति राख्ने जति सबैलाई पार्टी सदस्यता दिनुपर्दछ भन्ने पक्षमा थिए । तर लेनिन पार्टीलाई खुकुलो बनाउन हुँदैन, सचेत मजदूरलाई लिएरमात्र पार्टी सङ्गठन बनाउनु पर्दछ भन्ने पक्षमा थिए । यही सोचका साथ उनले संठनात्मक सिद्धान्त प्रतिपादन गरे । उनले व्यक्ति सङ्गठनको मातहतमा हुन्छ, तल्लो तह माथिल्लो तहको अधीनमा हुन्छ, अल्पमत बहुमतको अधिनमा हुन्छ र तलका सम्पूर्ण पार्टी सङ्गठन केन्द्रियताको अधीनमा हुन्छन् । लेनिनको संगठनात्मक सिद्धान्त सम्बन्धी यी नियमको प्रेरक तत्व भनेको क्रान्ति र परिवर्तनकै सवाल हो ।


यो पुँजीवादी किल्लालाई समाजवादी किल्लामा बदल्नका लागि निर्माण गरिएको सर्वहारा अनुशासन हो । उत्पीडक वर्गको सत्ताले समाजमा सदियौँदेखि गहिरो जरा गाडेको छ । त्यसले राष्ट्रिय स्तरमा आफ्नो सत्ताको सुरक्षाका लागि सशस्त्र प्रहरी र सैनिक दस्ता पालेको छ । अन्तर्राष्ट्रिय रूपमा शक्ति राष्ट्रहरूले मिलिजुली एकाधिकार कायम गर्न विभिन्न नामका सैनिक गठबन्धन बनाएका छन् । त्यसैले सर्वहारा वर्गका निम्ति शत्रुको फलामे किल्लालाई ध्वस्त बनाउने अभिभारा चानचुने देखिन्न ।


संसदीय अभ्यासबाट बुर्जवा सत्ता ढाल्न सकिन्छ र समाजवाद हासिल गर्न सकिन्छ भन्ने विचार नेपालका कम्युनिष्ट पार्टीहरूमा पलाएको छ । तर त्यसको माध्यमबाट भएका परिवर्तन बाहिरी आवरणमा मात्र भएका छन्,सारमा होइन । नेपालमा वामपन्थी खेमाका एकथरी बुजु्रग के भन्न थालेका छन् भने लेनिनवादी संगठनात्मक सिद्धान्तका कारण आज कम्युनिष्ट पार्टीहरूमा निरङ्कुशता बढ्दो छ । तिनीहरूले दिने उदाहरण नेपालका सत्तासीन कम्युनिष्ट पार्टीहरू छन्, जहाँ लामो समयसम्म एउटै व्यक्ति नेतृत्वमा रहेका छन् । तिनीहरूले लामो समयसम्म नेतृत्व ओगटेका मात्र छैनन् विधानविपरीत पनि कार्य गरिरहेछन् ।
तिनका स्वेच्छाचारी निर्णय पार्टीका निर्णय बनेका छन् ।

विडम्बना यसरी नेतृत्व मनोमानीपूर्वक चल्दा पनि कार्यकर्ता मूकदर्शक छन् । तिनीहरू क्रान्ति, समानता, समाजवाद र साम्यवादको संवेदनात्मक भयदोहनको सिकार भएका छन् । तर यो खालको प्रवृत्ति लेनिनवादी संगठनात्मक सिद्धान्तको कमजोरी कदापि होइन, त्यसको दुरूपयोग हो । लेनिनले मुठ्ठिभर नेताहरूको स्वार्थको बलिवेदीमा होम्न संगठनात्मक सिद्धान्त प्रतिपादन गरेका होइनन् । लेनिनको भनाइ अनुसार जनवादी केन्द्रियता कार्यकर्ताले एकोहोरो केन्द्रियता स्वीकार्ने होइन, केन्द्रले कार्यकर्ताको चाहना र विचारलाई कदर गर्ने जनवादी परिपाटी पनि हो ।


लेनिन सतहभन्दा पिँधलाई महत्व दिने व्यक्ति हुन् भन्ने कुरा अक्टोवर क्रान्तिको पूर्व सन्ध्यामा उनले लिएको नीति र अडानबाट स्पष्ट हुन्छ । जारको राजतन्त्र ढलेपछि संसदीय व्यवस्थाको बाटोबाट अघि बढ्नु पर्दछ र केरेन्स्कीको सरकारमाथि प्रहार केन्द्रित गर्न हुँदैन भन्ने लाइनका विरुद्ध उनले भुईँ स्तरमा बनेका सोभियतहरूको हातमा सत्ता जानु पर्दछ भनी वकालत गरेका थिए र ‘सम्पूर्ण शक्ति सोभियतलाई’ भन्ने नारा दिएका थिए । उनले सत्ता सञ्चालन भुईँ तहका मजदुरले गर्नुपर्दछ भनेका हुन् ।


माक्र्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद हो, जसले विपरीत पक्षहरू एक अर्काका स्थानमा बदलिन्छन् भन्छ । उत्पीडक उत्पीडितमा र उत्पीडित उत्पीडकमा बदलिन सक्छन् । त्यस कारण लेनिनवादी संगठनात्मक सिद्धान्त लागु गर्दा सधैँ कार्यकर्ताले नेताको आदेश मान्नुपर्छ भन्ने हुँदैन, नेताहरूले पनि कार्यकर्ताले भनेको मान्ने परिपाटी हुनुपर्दछ । निर्देशन सधैँ माथिबाट आउनुपर्दछ भन्ने हुँदैन, कुनै परिस्थितिमा तलले पनि माथिका निम्ति निर्देशन जारी गर्न सक्छ । जनवादी केन्द्रियता भनेकै यही हो । यो एकोहोरो किसिमले माथिबाट निर्देशन जारी गर्ने परिपाटी कदापि होइन । हामीले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई यहीअनुसार बुझ्नु पर्दछ र सन्तुलित रूपमा व्यवहारमा उतार्नु पर्दछ । यसमा खोट लगाउनु पार्टीलाई स्वच्छन्दताको दिशातर्फ लैजानु हो ।


माक्र्स–एङ्गेल्सले सैद्धान्तिक आधारमा दृष्टिकोण निर्माण गरेका थिए तर लेनिनले विचारलाई व्यवहारमा नै उतारेर निस्कर्ष निकाल्ने अवसर प्राप्त गरे । यस अर्थमा लेनिनका अनुभव धेरै व्यवहारपरक छन् । उनले राजनीतिका अतिरिक्त उद्योग, कृषि, दर्शन, धर्म, संस्कृति, जाति आदि विविध क्षेत्रमा सँगालिएका अनुभवलाई मूर्त रूप दिएका छन् । उनका राजनीतिक लेख ‘गाउँका गरिबहरूसँग’, ‘अब के गर्ने ?’, ‘राज्य र क्रान्ति’, ‘वामपन्थी साम्यवाद : एक वाल रोग’, ‘साम्राज्यवाद : पुँजीवादको चरम अवस्था’, ‘जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति’, ‘संयुक्त युरोपको नारा’, ‘सर्वहारा क्रान्तिको युद्ध कार्यक्रम’, ‘गद्दार काउत्स्की’ र दार्शनिक लेख ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ निकै अमूल्य सामग्री हुन् । सोभियत संघको क्रान्तिको अनुभवमा संगालिएका भए पनि तिनले संसारभरका कम्युनिस्ट क्रान्तिकारीका निम्ति मार्गनिर्देश गर्ने हैसियत राख्छन् । ती लेनिन कालमा मात्र होइन, आज पनि उत्तिकै उपयोगी छन् । त्यस कारण लेननवादलाई दह्रो गरी समातौँ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अझ उचाइमा उठाऔँ ।


रेग्मी लेनिन शतवार्षिकी पोखरा संयोजन समिति संयोजक हुन् ।

तपाईको प्रतिक्रिया