ज्येष्ठ नागरिकलाई वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवा

पोखरा ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका १२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ३ सय १२ ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा बुद्धिबहादुर थापा, डा कृष्ण थापा, डा हरिकृष्ण भण्डारी, डा चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे ।
बिरामीको सुगर, प्रेसर, मृगौला र मुटु परीक्षण गरिएको छ । निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुसी देखिन्थे ।
गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो । घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । वडाबासीले स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे । ‘जति पनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ, उहाँहरुले सामुदायिक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य बिमा गर्दिन्छौं’, उनले भने ।
ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पुर्याएको वडाध्यक्ष बास्तोलाले बताए ।
बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ । दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन् ।
यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो । अमेरिकन नर्सिङ एसोसिएसनसँगको सहकार्यमास्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आएको छ ।
शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए । उनले सुगर, प्रेसर, कोलेस्ट्रोरेल, युरिक एसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए । ‘यी रोग कोही पहिला निस्कने कोही पछि निस्कने । जहिले पनि दुख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हार्टअट्याक, मष्तिसकघात, किड्नी खराबको अवस्था ल्याउँछ ।’
अमर पोलिक्लिनक अमरसिंह चोक र युआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । युआरएलले निशुल्क रगत परीक्षण गरेको थियो । शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ । ‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन् । समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने ।
बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने पन्तले उल्लेख गरे । स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग मिलेर स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गर्दै आएको उनले जनाए ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया