सम्पादकीयः गम्भिर भएर छानवीन गर्ने की एकअर्कामा दोष थोपर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने जोडिएको सहकारी प्रकरणको निश्पक्ष छानवीन गर्न संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने २३ फागन २०८०मा गृहमन्त्री बनेपछि प्रश्न उठाउन थालेको हो । कांग्रेसले उनको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।
सहकारी प्रकरणसँगै संसदमा अर्को उच्चस्तरीय छानबिन समिति बनाउने विषयले पनि प्रवेश पाएको छ । ०४७ पछिको सम्पत्ति आर्जनबारे छानबिन समिति बनाउने विषय सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले एक साथ उठाएका छन् ।
२०४७ सालयता सार्वजनिक पद धारण गरेका सांसद, मन्त्री, प्रधानमन्त्री र प्रशासनिक नेतृत्वमा रहेका तथा उनीहरूका परिवारका सदस्यको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने आवाज जायज छ । सो विषय सार्वजनिक महत्वको प्रस्तावका रूपमा सुरूमा कांग्रेसले अघि सारेको हो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत ०४७ सालयता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने विषय अघि बढाउनुपर्नेमा सहमत देखिएको छ ।
सार्वजनिक पद धारण गरेका र त्यस्ता पदबाट अवकास भएका पदाधिकारी र तिनका परिवार समेतको नाममा रहेको सम्पत्ति जाँचबुझका लागि आयोग ऐन २०२६ बमोजिम एक निष्पक्ष तथा उच्चस्तरको जाँचबुझ आयोग गठन गर्नु आवश्यक छ । समिति बनाएर छानबिन गर्ने सांसदको माग उपयुक्त छ ।
०४७ पछाडिका भ्रष्टाचारका काण्डहरूबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै नीतिगत रुपमा भएका सबै भ्रष्टाचारलाई रोक्न कानुनमै संशोधन गर्नु आवश्यक छ । मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचार रोक्ने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा पर्दैन ।
ठूला नेता र ठूला काण्डमा मुछिएका घटनाको विषयमा छानबिन गरेर दोषी पाइए छोड्ने काम सरासर गलत छ । सार्वजनिक पदको दुरूपयोगजस्ता विगतमा भएका अन्य मुद्दा र नीतिगत भ्रष्टाचारको निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारबाही गर्नु आजको आवश्यकता हो ।
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि खाली खुट्टा आएका नेताका गाडी र घर कहाँबाट आयो भन्ने सवाल छानवीनको विषय बन्न पर्छ । २०४७ सालपछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलेर विवरण सार्वजनिक गर्नु जरुरी छ । सत्ता–प्रतिपक्षकै सांसदहरूले ०४७ यताका भ्रष्टाचार फाइल खोल्न उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाउनु जायज र सान्दर्भिक छ ।
तर सत्ता–प्रतिपक्षकै सांसदहरु तत्काल यी विषयमा हल खोज्ने समिति गठन गरेर अगाडी बढ्न आवश्यक छ । गृहमन्त्री रवी लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समितिलाई ’बटमलाइन’ बनाएको कांग्रेस र सत्तारुढ रास्वपा एउटै मुद्दा आउनु सकारात्मक छ । गम्भिर भएर छानवीन गर्नुको सट्टा एक अर्कालाई दोष थोपरेर उम्कन खोज्नु सरासर गलत छ ।
तपाईको प्रतिक्रिया