केही गर्दैन भनेको बच्चा नै तेज

राम आचार्य २०८० चैत २९ गते १३:१४

मैले पढाउने बच्चा थियो सधै खेल्नमात्र खोज्ने र उसलाई सबैले यसको काम छैन, यसले केही गर्दैन भन्थे । एक दिनको कुरा हो मैले गृहकार्य हेर्दै जाँदा उसको पालो आयो, गृहकार्य गरेको थिएन, उसलाई मैले व्यक्तिगत कुरा गरेँ । मैले उसलाई पटकपटक भेटेर उसको समस्या, इच्छा बुझेर सम्झाउन थालेँ । उसको गायन कला र स्वर राम्रो थियो । उसको रुचि पनि गायन क्षेत्रमा थियो तर घर परिवारबाट केही सहयोग थिएन । उसको एउटा बहिनी पढाइमा जेहेन्दार थिइन् । घर परिवारले उसको बहिनीलाई मात्र माया गर्थे । त्यो केटाले बल्लतल्ल कक्षाहरु पास गर्दै गयो । त्यो बाबुलाई मैले एसइई पास भएपछि फोन गरेर ‘बधाई बाबु’ भनेँ । उसले भन्यो, ‘सर, तपाईंको तरिकाले पास भएको हो त्यसैले तपाईं पनि पास हुनुभयो, तपाईंलाई पनि बधाई छ ।’

Advertisement


थोरै अंक ल्याए पनि उसलाई पास हुनै गाह्रो थियो । परीक्षाभन्दा पहिला उसलाई सबै प्रश्न हल गर्ने जस्ता तरिकाहरु सिकाएको र आज उसले सम्मानसाथ बोलेको सुन्दा गर्व लाग्यो । मेरो एउटा दाइलाई गायक चाहिएको थाहा पाएपछि मेरो विद्यार्थीको कुरा गरेर मैले त्यो बाबुलाई दाइ भएको ठाउँमा लिएर गएँ । त्यहाँ गएपछि मलाई अरु काममा पनि जानुपर्ने भयो । त्यसैले ‘राम्रो गर पछि आउँछु’ भनेर भन्दा उसले ‘मसँग खाजा खाने पैसा छैन’ भन्यो । मैले उसको हातमा केही पैसा राखेर निष्किएँ । त्यसो गर्दा गर्दा आज ऊ चर्चित गायक बनेको छ । बाबा आमा लगायतको सबैको प्यारो बनेको छ । मैले उसको इच्छा अनुसार गीत गाउन सिकाएँ । सानो हुँदा दैनिक रुपमा केके प्रयास गर्ने भनेर सिकाएको थिएँ र आज ऊ सफल हुन पायो ।


बच्चाले ६ वर्षबाट सामान्य मातृभाषा बुझ्ने हुन्छ । त्यो बेला दिमागका कोषहरु धेरै विकास हुन्छन् । विज्ञान अनुसार मानिसको विकास शीरदेखि पाउतिर जान्छ । त्यसैले बच्चा बेलामा हामीले धेरै कुरा सिकाउने र सोही अनुरुप वातावरण मिलाइदिनुपर्छ । तर, बिडम्वना हाम्रो देशमा बच्चाको दिमाग हुँदैन भनेर बोल्नसमेत दिइँदैन । विज्ञान अनुसार हामीले दुवै हात प्रयोग गर्दा हामीसँग भएको दुवै दिमागले काम गरी सक्रिय हुन्छ ।

बच्चा पढाइमा प्रथम नभए पनि भविष्यमा सफल हुन सक्छन् भन्ने कुरा हेक्का राख्नुपर्छ

ती दुईबिच समन्वय र सहकार्यको वृद्धि हुन्छ । त्यसैले बच्चाको सर्वाङ्गीण विकासको निम्ति दुवै हात चलाउने वाद्यवादनका साधन, अबाकसजस्ता साधनहरु चलाउन सिकाउनुपर्छ । साथै उनीहरुलाई स्वस्थ तथा सन्तुलित खाना, शुद्ध पिउने पानी, स्वस्थ हावा प्रदान गर्नुपर्छ । उनीहरुलाई जंकफुड खानाहरु निषेध गर्नुपर्छ । मोटोपना धेरै भए साँझको खाना कम गर्नुपर्छ । प्रशस्त पानी पिउन सिकाउनुपर्छ । धूमपान, मद्यपानजस्ता कुराहरुको बारेमा सानैबाट सचेत गराई रहनुपर्छ ।

Advertisement


भनिन्छ ‘आजका बालबालिका भोलिका कर्णधार हुन्’ हाम्रो देशको भविष्य उज्ज्वल बनाउन अहिलेका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्छ । त्यसैले अबाकस गणित विषय पढाइ हुने विद्यालयमा मात्रै भर्ना गरौं, किन कि त्यो पढेपछि विद्यार्थीलाई छिटो हिसाब किताब गर्न सक्ने, दिमागको विकास हुने, अरु विषयलाई पनि टेवा पुग्नेजस्तो धेरै फाइदा छन् । विश्वमा धेरै देशमा यसको पढाइ हुन्छ । यस विषयमा हामीले त्यो अबाकस साधन चलाउन सिकाउँछौं ।

अबाकसको महत्व बुझेर नै म यस विषयको शिक्षणमा लागेको हुँ । पहिला मैले अरु विषय पढाउँथेँ । अरु विषयमा कमजोर भएका विद्यार्थीहरुलाई पनि अभ्यास भएपछि कुनै पनि साधनबिना दिमागको मात्रै प्रयोग गरी आफै छिटो हिसाब गर्न सक्ने बनाएको मेरो अनुभव छ । हामीले कक्षाकोठामा ध्यान खिच्नमात्र सक्यौं भने यस विषयमा जेहेन्दार बनाउन सकिन्छ । बच्चाहरुलाई मोबाइल, बाइक लगायत सामानको दूरुपयोग गर्नबाट रोक्नुपर्छ ।


शान्त र अँध्यारो कोठामा प्रशस्त निदाउन, बिहान खाली पेटमा पानी पिउने र कसरत गर्ने जस्ता वातावरणको सिर्जना गर्नुपर्छ । मोबाइल लगायत सामानहरु सीमित समयका लागि मात्र नियन्त्रण गरेर चलाउन दिन सकिन्छ । बच्चालाई पढाइमा चाप दिएर होइन खुला तरिकाले पढ्ने वातावरण सिर्जना गर्नुपर्छ । ताकि उसलाई खेल्नभन्दा पढ्न रमाइलो लागोस् । धूमपानरहित, स्वच्छ र सुरक्षित वातावरणमा समस्या समाधान सीप, चित्रकला, बच्चाको रुचि अनुसार अरु सीपहरु प्रदान गरेर सफल बनाउन सकिन्छ । उनीहरुमा फराकिलो र सकारात्मक सोचको विकास गर्नुपर्छ । सानो नानीदेखि लागेको बानी छुटाउन गाह्रो हुन्छ । त्यसैले सानो बच्चा हुँदा राम्रो बानी सिकाउनुपर्छ ।


हामीले बच्चा पढाइमा प्रथम नभए पनि भविष्यमा सफल हुन सक्छन् भन्ने कुरा हेक्का राख्नुपर्छ । बच्चाको भविष्यको लागि अभिभावकको भूमिका मुख्य हुन्छ । बिदाको बेलामा कुनै सिपहरु सिकाउने, कस्तो विद्यालयमा पढाउने, घरमा कस्तो वातावरण दिने आदि ।

आचार्य गोल्डेन नेचर बोडिङ स्कुल, पोखरामा अध्यापनरत छन् ।

तपाईको प्रतिक्रिया