जुग्लेमा १ वर्षभित्र बनिसक्नुपर्ने पुल ८ महिनामै पूरा

समाधान संवाददाता २०७६ असार २९ गते १३:१२

समाधान संवाददाता, स्याङ्जा

निर्माण व्यवसायीले वर्षाैसम्म निर्माण पूरा नगरेका अलपत्र सडक र पुल जताततै देखिन्छन् । ४० वर्षअघि नै बनेको नौडाँडा—कार्कीनेटा सडकमा पर्ने जुग्लेखोलामाथि भने गण्डकी प्रदेश सरकारले ८ महिनामै पुल निर्माण पूरा गरेको छ ।

गजेन्द्र निर्माण सेवाले १ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरेर काम अगाडि बढाए पनि ३ महिना अगावै पुल निर्माण गरेको हो । २२ दशमलव ६ मिटर लामो पुल निर्माण भएको छ । ६ मिटर चौडा तथा ६०÷६० सेमी फुटपाथ रहेको मोटरेबल पुल २ करोड २० लाख ७० हजार ६६२ रुपैयाँ ७७ पैसा लागतमा निर्माण भएको हो ।

Advertisement

पुलले स्याङ्जाको आँधीखोला र पर्वतको कार्कीनेटा हुँदै घन्टे लुंखु तथा पर्वतको फलेबासदेखि बागलुङको गल्कोटसम्मका स्थानीयलाई लाभ दिनेछ । निर्माण पूरा भएको पुल शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोहोर कात्तिक १९ गते उक्त पुल शिलान्यास गरेका थिए ।

सम्झौता अवधि बाँकी छँदै पुल निर्माण सकेको गजेन्द्र निर्माण सेवा प्रालिका प्रतिनिधि अरुण सेढाईंलाई मुख्यमन्त्री गुरुङले सम्मानसमेत गरे । त्यस अवसरमा मुख्यमन्त्री गुरुङले काम अलपत्र पारेर छाडेका ठेकेदारहरुलाई खोजीखोजी ल्याएर काम गराएको सुनाए । उनले भने, ‘प्रदेश सरकार जनताको नजिक छ, यसले जनताका पीरमर्का सुन्छ ।’

Advertisement

गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, गाउँपालिका अध्यक्ष सुधीर पौडेलको जोडबलमा पुल र सडक कालोपत्रे योजना परेको मुख्यमन्त्री गुरुङले बताए । भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले पोहोर पुल शिलान्यास गर्दै आफूले १ वर्षअघि नै पुल बनिसक्ने घोषणा गरेको र त्यो आज साकार हुँदा खुसी लागेको सुनाए । उनले नौडाँडा—कार्कीनेटा सडकको १० किलोमिटर पिच पनि बेलैमा सकिने विश्वास दिलाए । जिल्लाको ४० वर्ष पुरानो नौडाँडा—कार्कीनेटा सडक कालोपत्रे गर्ने काम पनि शनिबारै मुख्यमन्त्रीले शिलान्यास गरेका छन् । सडकको १० किलोमिटर खण्ड ७ मिटर चौडा कालोपत्रे हुने भएको हो । मन्त्री बस्नेतले प्रदेश सरकारले नै बाँकी १७ किलोमिटरको पनि टेन्डर आह्वान गर्ने आश्वासन दिए ।

गण्डकी प्रदेश सरकारले कार्कीनेटासम्मको २७ किलोमिटरमध्ये सेपतसम्मको सडक कालोपत्रे अगाडि बढाएको हो । सरकारले २६ करोड ४४ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गर्न लागेको हो ।

एमएस इन्जिनियर एन्ड बिल्डर्स प्रालि लाजिम्पाटसँग सम्झौता गरेर काम अगाडि बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर मरहट्टाले जानकारी दिए । सडकको काम ग्याबिन, मेसिनरी वाल र कालोपत्रे रहेको बताउँदै मरहट्टाले २ वर्ष अर्थात ११ साउन २०७८ मा काम नसके म्याद नथपिने बताए । बास्कोट खोलामा समेत पुल १ वर्षमा सक्ने गरी एमएस विवेक एन्ड कुँवेर बिल्डर्स वालिङले काम अगाडि बढाएको छ ।

१० दशमलव ६५ मिटर लम्बाइ भएको पुल ७ मिटर चौडा हुने इन्जिनियर नवीनचन्द्र अधिकारीले जानकारी दिए । १ करोड १८ लाख ६० हजार रुपैयाँ आरसिसी सेलेप पुल निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले सडक र पुल निर्माणपछि पोखराबाट आयात गर्नुभन्दा गाउँको उत्पादन बजार लैजान स्थानीयलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया