उत्कृष्ट वन समूह पुरस्कृत

समाधान संवाददाता २०७६ साउन १ गते १२:२१

समाधान संवाददाता
दमौली

डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक एवं कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष ०७५÷७६ मा वनको संरक्षण, संवद्र्धन, व्यवस्थापन र दिगो विकासमा उल्लेखनीय कार्य गरेबापत सामुदायिक वन विकासतर्फ ३ र कबुलियती वन समूहतर्फ ३ वटा वन समूहलाई कार्यालयले मंगलबार पुरस्कृत गरेको हो ।

सामुदायिक वन विकास कार्यक्रमतर्फ म्याग्दे गाउँपालिका २ स्थित उमाचोक सामुदायिक वन प्रथम, व्यास नगरपालिका ११ स्थित धारापानी घुमाउनेडाँडा सामुदायिक वन द्वितीय र शुक्लागण्डकी नगरपालिका १२ स्थित जलवीरे कदमपानी सामुदायिक वन तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय भएका वन समूहलाई क्रमश ८ हजार, ६ हजार र ४ हजार नगद प्रदान प्रदान गरिएको छ ।

Advertisement

कबुलियती वन विकास कार्यक्रमतर्फ आँबुखैरेनी गाउँपालिका ४ स्थित गैंडाटार कबुलियती समूह प्रथम, शुक्लागण्डकी नगरपालिका ८ स्थित लामे कबुलियती समूह द्वितीय र व्यास नगरपालिका ११ स्थित बागेचौर (ग) कबुलियती समूह तृतीय भएका छन् । उत्कृष्ट ती समूहलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालयमा आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख केदार बराल र नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष ओमकार आचार्यले उत्कृष्ट वन समूहका पदाधिकारीलाई पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा रहेको मूल्यांकन समितिको बैठकले उक्त समूहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सब डिभिजन कार्यालयले ती समूहलाई उत्कृष्ट कार्यको आधारमा छनोट गरी पुरस्कृत गर्न मूल्यांकन समितिमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया