पाइप जलेपछि वालिङमा खानेपानीको समस्या

वालिङ ।
वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानी तथा सिँचाइका लागि ल्याइएको पाइप जलेपछि गाउँमा पानीको हाहाकार भएको हो ।
छरछरे पाँडेथोक सिँचाइ तथा खानेपानी योजना अन्तर्गतको करिब १ हजार ७ सय मिटर पाइपमध्ये १ सयदेखि १ सय ५० मिटरबाहेक सबै जलेर नष्ट भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले जानकारी दिए । ‘सोमबार रातिदेखि बस्ती नजिकैको जंगलमा लागेको आगोले गाउँमा ल्याइएको पाइप नष्ट गर्यो’, उनी भन्छन्, ‘पाइप नष्ट भएपछि अहिले गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।’
सोमबार रातिदेखि लागेको आगो अहिले पनि निरन्तररुपमा जलिरहेको छ । आगलागीबाट पाइप जलेर नष्ट भएपछि पाँडेथोक र पाखुरेका ३६ घरमा खानेपानी अवरुद्ध भएको हो । जंगलमा जमिनमाथि पाइप बिछ्याइएको छ ।
चट्टान र ठाडो भीर भएका कारण वनमा पाइप जमिनमुनि गाड्न नसकिएकाले समस्या भएको उनले सुनाए । भने, ‘बस्तीदेखि करिब एक हजार सात सय मिटर टाढा रहेको मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरुपमा नष्ट भयो । मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर प्रत्येक घरघरमा वितरण गरिएको छ ।’
गाउँमा खानेपानीको समस्या भएपछि स्थानीय गाउँभन्दा तल रहेको गोभाने पँधेराबाट गाग्रीमा बोकेर पानी खान बाध्य भएका छन् । गाउँबाट झण्डै आधा घण्टाको दूरीमा रहेको गोभाने पँधेराबाट पालो पर्खेर १ गाग्री पानी ल्याउँदा बिहानै जाने गरेको गरेका छन् ।
मानिसले गाग्रीमा बोकेर गुजारा चलाए पनि पशुचौपाया तथा तरकारी खेतीमा समस्या भएको छ । व्यावसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती हुँदै पाँडेथोक तथा पाखुरेमा पानी आउन बन्द भएपछि तरकारीका बोट बिरुवा सुक्न थालेका छन् । अहिले बारीमा रहेका काँक्रा, घिरौँला, टमाटर, बोडा बोडी, करेला, सिमीलगायतका तरकारीका झाल सुक्न थालेकाले किसानहरूमा चिन्ता थपिएको स्थानीय अगुवा व्यावसायिक कृषक यज्ञप्रसाद लामिछानेले बताए ।
विसं २०६३ सालमा मुल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका स्थानीयले सिँचाइ र खानका लागि पानीको प्रयोग गर्दै आएका थिए । लामो दूरीमा रहेको पाइप जलेपछि अहिले गाउँमा खानेपानी र सिँचाइको समस्या भएको वडा नं ५ का वडा अध्यक्ष छविलाल आलेले जनाए । सबै पाइप फेरेर अर्को नयाँ पाइप बिछ्याउन वडामा पर्याप्त बजेट नभएकाले नगरपालिका कार्यालयसँग अनुरोध गरिएको उनको भनाइ छ ।
गत वर्ष पनि पाँडेथोक र पाखुरेका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाइप जलेर नष्ट भएको थियो ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया