रुपामा प्रकटको शालिक बनाइने

समाधान संवाददाता २०८१ वैशाख १९ गते १२:५६

पोखरा ।
साहित्यकार तथा गीतकार प्रकट पंगेनी शिवको सम्झनामा प्रकट पंगेनी शिव स्मृति प्रतिष्ठान स्थापन गरिएको छ । वैशाख १६ गते १६ औं दिनको पुण्यतिथिको सन्दर्भमा आफन्त, साहित्यकार र स्थानीयको भेलाले शिवको सम्झनामा शालिक निर्माण गर्न तदर्थ समिति गठन गरिएको हो ।

Advertisement


समितिको अध्यक्षमा तत्कालीन रुपाकोट गाउँ विकास समितिका अध्यक्ष टकिाराम पंगेनी छन् । ७ सदस्यीय समितिमा उपाध्यक्ष मौसम पंगेनी, सचिव प्रञ्ज्जल पंगेनी, कोषाध्यक्ष इन्जिनियर पुरुषोत्तम पंगेनी, सदस्य अप्सरा पंगेनी, गायत्री पंगेनी र राममणि पंगेनी छन् ।


समितिले शिवका रचनाको संरक्षण, जगेर्ना, अप्रकाशित रचनाको खोजी गरी प्रकाशनको व्यवस्थापन गर्न, शालिक निर्माण र परिवार व्यवस्थापन गर्ने अध्यक्ष पंगेनीले बताए । ‘समितिको काम अब उहाँका कृतिको खोजी गरी संरक्षण गर्ने हो । उहाँका अप्रकाशित रचना के कति छन्, प्रकाशन गछौैं,’ अध्यक्ष पंगेनीले भने ।

Advertisement


समितिमा ७ जना सल्लाहकार छन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, वडा नम्बर ५ का वडाध्यक्ष राजन खनाल, पोखरेली युवा संस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, घिमिरे बन्दु समाज कास्की अध्यक्ष मातृका घिमिरे, रुपा नेवा खलका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, पंगेनी समाज कास्की अध्यक्ष श्रीभद्र पंगेनी, विदेश विभाग हेर्ने गरी विश्वराज पंगेनी छन् ।


प्रतिष्ठानको संरक्षकमा पंगेनी समाज नेपालका अध्यक्ष दुर्गादत्त पंगेनी छन् । समितिका अध्यक्ष टीकाराम पंगेनीका अनुसार अब समितिले विधान निर्माण र सालिक निर्माणलाई ध्यान दिनेछ । प्रकटको वैशाख ४ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । कास्कीको तत्कालीन देउराली पञ्चायत र हालको रुपा गाउँपालिकामा ६८ वर्षअघि जन्मिएका प्रकटको वास्तविक नाम शिव पंगेनी हो ।

Advertisement


नाटक लेखन र अभिनयमा पनि लागेका प्रकटको खास पहिचानचाहिँ शृंगारिक गजलले बनाएको थियो । प्रणय वेदका ऋचाहरु पुस्तक प्रकाशनसँगै उनले देशका दर्जनौं सहरमा शृंगारिक र प्रणयका प्रेमिल गजलवाचन छाडेर गएका छन् । पंगेनीका श्रीमती, छोरा र छोरी छन् ।

तपाईको प्रतिक्रिया