सम्पादकीय—धुवाँ फाल्ने गाडीको जाँचपास गराउनेलाई पनि कारबाही गर

समाधान संवाददाता २०८१ वैशाख २१ गते ११:०३

भन्न सकिन्छ—पोखराको सडकमा गुड्ने सार्वजनिक सवारी साधनमध्ये ८० प्रतिशतको जाँचपास फेल छ । किन भन्न सकिन्छ भने बुधबार न्युरोडमा जति गाडी जाँचिए, ८० प्रतिशत फेल भए । त्यो एउटा नमुना परीक्षण थियो । त्यस्तो र्‍यान्डम स्याम्पलिङलाई आधार मान्दा यातायात क्षेत्रको एउटा बेथिति र नियमाक निकायको लापरवाही उजागर भयो । निजी वा सार्वजनिक गाडीको इन्जिन कत्तिको खराब छ र त्यो चलाइरहनु हुन्छ कि हुन्न भनेर यातायात कार्यालय जाँच गर्छ ।

Advertisement

जाँच पास नभए त्यस्ता गाडी नवीकरण नगरिनुपर्छ । तर कागजमा सधैं जाँच पास गराइरहने व्यवहारमा भने फेल भइरहने छ । यातायात कार्यालयबाट नवीकरण नभएका गाडी जाँच्ने काम व्यवहारत ट्राफिक प्रहरीले गर्छ । नवीकरण गरिएपछि उसले केही गर्न सक्दैन । कारबाही उसको बसको बात हुँदैन । यातायात कार्यालयले नै थोत्रा र पत्रु भइसकेका र इन्जिनले गतिलो काम नगर्ने गाडी नवीकरण नगर्ने वा इन्जिन गतिलो बनाउन लगाउने गर्नुपर्ने हो ।


सामान्य आँखाले हेर्दा पनि धुवाँको मुस्लो पुत्ताउने गाडी कसरी जाँच पास भए होला झै लागिहाल्छ । तर जाँचपास छ । भनेसि यातायात कार्यालयले त्यत्तिकै पास पक्कै गरेको छैन । यातायात व्यवसायी र यातायातका कर्मचारीको मिलिभगतमै यो भइरहेको बुझ्न कठिन हुँदैन । गाडीको जाँच गर्ने मेसिन छैन भन्ने बहाना पनि यातायात कार्यालयका कर्मचारीले गरेको पाइन्छ ।

२ वटामात्रै मेसिनले जाँचेर भ्याइन्न भने अर्काे निहुँ पनि बेलाबखत सुनिन्छ । तर सर्वसाधारणको नांगा आँखाले हेर्दा पनि पासै नहुने गाडी त्यहाँका कर्मचारीले कुन आँखाले हेर्छन् र ठिकठाक देख्छन् । पक्कै त्यहाँ शुभलाभको कारोबार भएको हुनुपर्छ । यस्तो शंकाको सुविधा त उनीहरुकै व्यवहारले दिएको छ । तसर्थ शुभलाभ र लेनदेनको आधारमै पत्रु गाडी जाँचपास भएको आरोप कसैले लगाउँछ भने बिनाआधारको भन्न सकिन्न ।


पोखरामा धुवाँको मुस्लो पुत्ताउँदै गुड्ने गाडीले सर्वसाधारणलाई हैरानी नै दिएका छन् । वातावरण प्रदूषण गरेका छन् । पर्यटनको राजधानी भनेर हालै भएको घोषणाको धज्जी उडाएका छन् । सर्वसाधारण र अगुवा नागरिकसमेतले निकैपटक झक्झक्याएको विषय हो कि धुवाँको मुस्लो फाल्ने गाडीमाथि कारबाही होस् । तर यातायात कार्यालयले टेरपुच्छर लगाएन । ट्राफिक प्रहरी अधिकारविहीनमात्रै होइन गाडी जाँच्ने मेसिनविहीन पनि भयो ।

Advertisement

जसै बुधबार प्रशासन, महानगर, ट्राफिक प्रहरी र स्वयं यातायात कार्यालयले संयुक्त पहल गरी गाडीहरु जाँचियो त छर्लंग भयो कि अधिकतर गाडी दूषित हावाका प्रमुख कारण छन् । जाँच पास हुन योग्य छैनन् । बेलामा मर्मत नगर्ने लगायत व्यवसायीको लापरवाहीले त्यस्तो भइरहेको छ । झन् यातायातले आँखा चिम्लिँदा उनीहरुलाई खुदो भइगयो । बुधबार भएको जाँच दिनहुँ हुन जरुरी छ । जसरी ट्राफिक प्रहरीले चालक अनुमतिपत्र र अरु कागजात हेर्छ । त्यसै गरी उसले गाडीको धुवाँ र इन्जिनको अवस्था लगायत वस्तुस्थिति जाँच्नुपर्छ ।

व्यावहारिक रुपमा उसलाई यो जिम्मेवारी प्रशासनले दिन सक्छ । बरु जाँचका लागि आवश्यक मेसिन खरिद गरेर दिने काम पोखरा महानगरपालिकाले गर्नु मनासिब हुन्छ । तर कुनै पनि हालतमा धुवाँको मुस्लो छाड्ने गाडी पोखराका कुनै पनि सडकमा चल्न दिनु हुँदैन । जाँचपासमा भइरहेको कैफियत र यातायात कार्यालय तथा व्यवसायीबिचको सेटिङ रोक्ने काममा प्रशासनले कुनै कसर बाँकी राख्नु हुँदैन । होइन भने जनताको सोझो नजरले यातायात व्यवसायीसँग प्रशासकहरुको पनि शुभलाभकै सम्बन्ध त होइन भनेर शंका गर्नु स्वाभाविक हुन्छ । प्रशासनले धुवाँ फाल्ने गाडीलाई मात्रै होइन त्यस्ता गाडीको जाँच पास गराउनेमाथि पनि कारबाही गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया