उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

समाधान संवाददाता २०८१ वैशाख २१ गते ११:१२

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस अवार्ड २०८० को जारी छ । वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट ३ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । तीमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा छन् ।

Advertisement


ज्योत्सनिका मरासिनी (क्रिकेट)
१३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जामा जन्मिएकी मरासिनीले २०७७ मा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यु गरेकी थिइन् ।


घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यु–१९ विश्व कप गुमाएकी थिइन् । यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन् । २०८० मा भएको सिनियर टोलीको एसिसी महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन् ।

Advertisement


उनले नेपाल क्रिकेट संघ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन् । यस वर्ष नेपालगञ्जमा भएको सुशील कोइराला मेमोरियल यु–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन् । चितवनमा भएको मैयादेवी यु–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो । प्रतियोगितामा उनी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन् । प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर बनिन् ।


दिलासा राना (ब्याटमिन्टन)
१० वर्षमा बुवाले खेलेको खेल पछ्याएकी दिलासा रानाले सानै उमेरमा अन्तर्राष्ट्रिय खेलमात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन् । लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । उनी यो वर्ष नेपालमा भएको साउथ एसियन रिजन जुनियर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन् । त्यसमा उनले १ रजत र २ पदक जितेकी हुन् ।

Advertisement


उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । त्यसयता उनी जुनियर स्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकट जमाउन सफल भएकी छन् । उनले पुष्पलाल राष्ट्रिय यु–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन् ।


रानाले फागुनमा काठमाडौँमा भएको १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टनमा जुनियरतर्फ उपाधि जितेकी थिइन् । चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पदक हात पारिन् । उनी डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन् । गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन् ।


बादल कार्की (एथलेटिक्स)
एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की । बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन् । उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट काश्य पदक जितेका थिए ।


पोखरा हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दूरी पूरा गरे । कार्की भर्खरै सकिएको १४ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए । १ हजार ५ सय र ८ सय मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन् । उनी तेस्रो पटकमा राष्ट्रपति रनिङ सिल्डमा पदक जित्न सफल भएका हुन् ।


कार्कीले जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए । उनले प्रदेश स्तरमा २ स्वर्ण, १ रजत र १ काश्य जितेका थिए । जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टपल चेजमा दौडेका बादल छैटौँ भएका थिए ।

तपाईको प्रतिक्रिया