
दमौली ।
निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।
म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् ।
‘दुईपांग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ’, म्याग्दे–४ मनहरिका गौरवराज रानाले भने । पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ ।
रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उनको भनाइ छ । उनले भने, ‘म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ । साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ ।’
मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् ।
सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्यनेपालको दुईपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ ।
दमौलीबाट भोर्लेटारचोक हुँदै रुपा गाउँपालिका भएर पोखराको शिशुवा निस्कने वैकल्पिक मार्ग प्रयोग
यो सडक पूरै कालोपत्र गरिएको छ । धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताए । उनले भने, ‘अहिलेको अवस्थामा पृथ्वीराजमार्ग हुँदै पोखरा जानसक्ने अवस्था छैन । वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु । बाटो सफा छ, कालोपत्र छ । धुवाँधुलो केही छैन ।’
पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ ।
मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताए । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको थियो ।
पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । रासस

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया