
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनीको सामुदायिक होमस्टेमा दुई दिने रैथाने बाली विविधिकरण अभ्यास तालिम तथा प्रदर्शनी भएको छ । सोमबारदेखि मंगलबारसम्म चल्ने तालिममा मुस्ताङमा उत्पादित रैथाने बाली उवा र फापरको विविधिकरण तालिम तथा प्रर्दशनीमा यहाँका १३ महिला प्रत्यक्ष उद्यमी सहभागी छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि रैथाने बाली प्रवद्र्धनात्मक कार्यक्रम भएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि शाखा विभाग अन्तर्गत बाली विकास तथा जैविक विविधीकरण संरक्षण केन्द्र सशर्त अनुदान प्राप्त भएको थियो । यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन र यहाँका महिलालाई थप उद्यमी बनाएर आर्यआर्जनको ढोका खोल्न घरपझोङमा समितिसमेत गठन गरिएको थियो ।
घरपझोङमा रैथाने बाली प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत रैथाने बालीको प्रचारप्रसार र सचेतना, रैथाने बालीको महत्व, परिकार विविधिकरण तथा बजारीकरणमा सहयोग, विद्यालय फिल्ड जोन बैंक स्थापना, रैथाने बाली संरक्षणका लागि उत्कृष्ट कृषक सम्मान र पुरस्कार र ब्लकमा आवद्ध कृषकलाई मागमा आधारित रोगकीरा नियन्त्रण लगायतका कार्यक्रम सञ्चालनमा छन् ।
यस्तै रैथाने बाली परिकार विविधिकरण तथा प्रर्दशनी, कोसेली घर सञ्चालन सहयोग, होमस्टेमार्फत रैथाने बाली एवं परिकार प्रवद्र्धन र ब्रान्डिङमा सहयोग पु¥याउने गरी कार्यक्रम समेटिएको छ । लगातार २ वर्षदेखि जारी रैथाने बाली प्रवद्र्धनात्मक कार्यक्रममा पर्याप्त बजेट उपलब्ध हुन नसके पनि यहाँका रैथाने बालीको संरक्षण, सम्वद्धन र प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले प्रभावकारी भूमिका निर्वाह गरेको कृषि शाखा अधिकृत रोशन थकाली बताउँछन् ।
खीर र निम्किन, हलुवा, पिज्जा, कुकिज, केक, पाउरोटी, बिस्कुट जस्ता परिकार बनाउन सके थप पर्यटन प्रवद्र्धन र आम्दानीसमेत हुने
‘थोरै बजेटले धेरै काम गर्नुपर्ने भएकाले केही सम्झौता गर्नुपरेको छ। हामीले यहाँका होमस्टे र आमा समूहमा आवद्ध महिलालाई रैथाने बाली विविधीकरण तालिम सिकाउने र उक्त परिकारलाई प्रवद्र्धन गर्न कुनै कसर राखेका छैनौं,’ उनले भने, ‘यसले यहाँका रैथाने बालीलाई स्थापित गराउन र यहाँका स्थानीय उत्पादनलाई स्थानीय स्तरमै खपत गराएर उद्यमशी बनाउन सघाउँछ ।’
कार्यक्रममा ठिनी गाउँको थकाली सामुदायिक होमस्टेबाट ८ जना, घरपझोङ—३ स्याङ गाउँका स्याङ फोला सामुदायिक होमस्टेबाट ३ जना र घरपझोङ —५ ढुम्बा आमा समुहबाट २ जना महिला गरी १३ महिला सहभागी छन् । प्रशिक्षक जुमा थकालीले सहभागीलाई उवा र फापर बालीबाट बन्ने विभिन्न परिवारबारे प्रकाश पारिन् ।
उवाको खीर र फापरका परिकारहरु निम्किन, हलुवा, पिज्जा, कुकिज, बटर केक, स्पोन्स केक, पाउरोटी र बिस्कुट बनाउने व्यवहारिक अभ्यास तालिम दिइएको प्रशिक्षक जुमा थकालीले जानकारी दिइन् ।
घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर परिकार विविधिकरणमा जोड दिन सके पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताईन् । सहभागी अनिशा थकालीले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोग गर्न सकेमात्र महिला आर्थिक समृद्धितर्फ लाग्न सक्ने जनाइन् । मुस्ताङको भूगोलमा रैथाने बाली उवा, फापर, जौ आदिको खेती हुन्छ । बर्सेनि एक बाली मात्र उत्पादन हुने यहाँका रैथाने बाली आम्दानीका मुख्य स्रोत हुन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया