छात्र छात्रा टी २० क्रिकेट सुरु

समाधान संवाददाता २०८१ जेठ ३ गते १८:४३

पोखरा ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा बिहीबारदेखि कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको छात्रतर्फ भएको उद्घाटन खेलमा बाराही माविले जनप्रिय माविलाई पराजित गरेको छ ।

Advertisement


किडासा फाउन्डेसनको सहयोगमा सुरु प्रतियोगिताको गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियललाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा उनले किडासाले विद्यालय स्तरीय क्रिकेट आयोजना गरेर नवप्रतिभाशाली खेलाडी उत्पादनमा योगदान गरेको जनाए ।


किडासाका कार्यक्रम एनालिस्ट कृपासु निरौलाले विद्यार्थीभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरुभित्र ऊर्जा प्रदान गराउनका लागि किडासाले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगितालाई निरन्तरता प्रदान गर्नका लागि जिल्ला तथा प्रदेश क्रिकेट संघ तथा सरोकारवालाले सहयोग गर्नुपर्ने औंल्याए ।


आयोजक समिति अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश क्रिकेट संघका सदस्य देवेन्सन प्रजु, राखेप गण्डकीका सदस्य ऋषिराम गौतम, किडासाका कार्यक्रम संयोजक सचिन शाक्य लगायतले बोलेका थिए ।

आगामी १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल पोखराको मालेपाटन खेल मैदान, अम्मरसिंह खेल मैदान, लेखनाथ र पोखरा रंगशालामा सञ्चालन हुनेछन् । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ १६÷१६ विद्यालयको सहभागिता छ ।

Advertisement

तपाईको प्रतिक्रिया