कोरलापारि चिनियाँ भूमिमा नेपाली पसल

मुस्ताङका १ हजार ५२० जनालाई सीमापार पास

सुन्दरकुमार थकाली २०८१ जेठ ४ गते १०:३१

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा तिब्बती व्यापारीहरूसँगै उपल्लो मुस्ताङका बासिन्दाले समेत व्यापार गर्न थालेका छन् । चीन पक्षले उपल्लो मुस्ताङीलाई त्यहाँ गएर व्यापार गर्न मार्ग प्रशस्त गरेसँगै कोरला नाकाको तिब्बती भूमि लिजीमा नेपाली पसल थापेर व्यापार गर्न सुरु गरेका हुन् ।

Advertisement


कोरोना कहरको जोखिम देखाउँदै चीनले लगातार ४ वर्षसम्म बन्द गरेको कोरला नाका गत कात्तिक २७ गते औपचारिक रुपमा खुला गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलगत्तै खुला गरिएको कोरलानाकामा उपल्लो मुस्ताङीले मात्रै सीमापार अनुमतिपत्र पाएका छन् । नाका खुलेसँगै उपल्लो मुस्ताङका नागरिकले चीनको लिजी पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्न सुरु गरिएको थियो ।


चीनले बाह्रै महिना उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरेसँगै त्यहाँका नागरिकले चीनको तिब्बती भूमि लिजीबाट आफूलाई चाहिने जति सामान ल्याउन थालेका छन् । कतिपयले भने व्यावसायिक प्रयोजनका रुपमा ठूलो परिणाम चिनियाँ सामान ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेका छन् ।


कोरला नाका खुलेको ७ महिनापछि वैशाखदेखि नेपाल पक्षबाट पनि कोरला नाकाको तिब्बती भूमि लिजीमा व्यावसायिक स्टल राखेर व्यापार गर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । ‘नाका खुलेपछि चीनबाट मात्रै एकतर्फी व्यापार हुन्थ्यो, हाम्रोतिरबाट केही निर्यात भएको थिएन,’ प्रजिअ पन्तले भने, ‘अहिले हामी कहाँबाट पनि त्यहाँ पुगेर व्यापार गर्ने वातावरण बनेको छ, हामीतिर पूर्वाधारको समस्याले त्यहाँ पुगेर व्यापार गर्नुपरेको हो ।’

१ दर्जन नेपाली व्यापारीले स्थानीय उत्पादनका साथै चाउचाउ, चामल, मदिरा, पिठो, बिस्कुट र गलैंचा बिक्री गरिरहेका छन्

Advertisement


प्रजिअ पन्तले कोरला नाकाको लिजीमा मुस्ताङीले व्यापार गर्न सुरु गरेकाले नाकामा २ पक्षीय व्यापारको मार्ग प्रशस्त भएको बताए । उनले सीमापार पाएका १ दर्जन नेपाली व्यापारीले स्थानीय उत्पादनका साथै चाउचाउ, चामल, मदिरा, पिठो, बिस्कुट र गलैंचा आदि लगेर बिक्री गर्ने गरेको सुनाए । उता चीनको तिब्बती भूमि लिजीबाट मुस्ताङले खाद्यान्न, लत्ता कपडा, कस्मेटिक सामान, कृषि उपकरण, किराना सामान र लत्ताकपडा आदि आयात गर्ने गरेको प्रजिअ पन्तले बताए ।


उत्तरी चीनको कोरला नाका औपचारिक रुपमा खुला भएसँगै हालसम्म जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका १ हजार ५२० जनालाई सीमापार पास वितरण गरिसकेको छ । कोरला नाका खुला भएपछि उपल्लो मुस्ताङको छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयको आर्थिक राजस्व संकलन गतिविधि समेत चलायमान हुन थालेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार कार्यालयले नाका खोलेपछि यता वैशाख महिनासम्म ४ लाख १८ हजार १८३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया